Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

बरु विदेशियो, उतै पढ्यो, कमायो ...

सोमबार, ३१ जेठ २०७३

- विष्णु विवेक / काठमाडौं - नेपालका धेरै कलेजमा सूचना प्रविधिको पढाई हुन्छ, तर नुवाकोटका नवीन अधिकारी वीआईटी  पढ्न जर्मनी जाने तयारीमा छन् । किन त ? 'पढ्दा खर्च हुन्छ, पढिसकेर काम पाईदैंन ! दुःख गरेर पढ्यो, पैसा पनि सकिन्छ पढाई पुरा भएपछि काम गरेर कामउँला नी त भन्दा कामै पाउन मुस्किल' उनी भन्छन्, 'बरु विदेशियो उतै पढ्यो कमायो ।'

भृकुटीमण्डप जारी शैक्षिक मेलामा भेटिएका अधिकारीको यो भनाई प्रतिनिधि भनाई हो, नेपालबाट पढ्नका लागि विदेशिने विद्यार्थी मध्ये अधिकाँशको ध्यान कमाउनमै केन्द्रित हुन्छ । १२ देखि १५ लाखसम्म खर्च गर्दा जर्मनीको मध्यमस्तरको कलेजमा बिआइटी पढ्न सकिने थाह पाएपछि अधिकारी अब चाडैं प्रक्रिया शुरु गर्ने निष्कर्ष निकाल्दै फर्किए ।

मेलामा भेटिएका विद्यार्थी मध्ये धेरैको रोजाई आइटी र म्यानेजमेन्ट जै छ । पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग र आवश्यकतालाई पछ्याउँदै यो कोर्स पढ्ने विद्यार्थी विकसित देशमा गएर यसको ‘एडभान्स कोर्स’ लिने सोच बनाएका छन् । यस्तै आइटी पछि मेलामा म्यानेजमेन्टका विद्यार्थी धेरै आएका छन् । बढ्दो आर्थिक हिसाब किताब र बैंिकङ कारोबारमा पोख्त बन्न तथा कुनै पनि उत्पादनको बजारीकरण ‘मार्केटिङ’ गर्न बिबिए र एमबिए कोर्स पढ्न विद्यार्थी लोभिएका आयोजकको निष्कर्ष छ ।

मेलामा भेटिएका अधिकांस विद्यार्थी राजनीतिक अस्थिरताले गर्दा नेपालमा पढ्न सक्ने वातावरण नै नभएको निष्कर्ष सुनाउँछन् । नियमित पढ्न सक्ने वातावरण नभएको पीडा एकातिर र पढिसकेपछि त्यही अनुसारको रोजगारी नपाइने समस्या अर्कातिर । यी समस्याले ऋणै खोजेर भएपनि विदेश जानुको विकल्प नभएको नेपाली विद्यार्थीको भोगाइ हो ।

‘जहाँ पनि राजनीतिक जहाँ पनि राजनीति, पढ्न गयो विद्यालय बन्द, कहिले यातायात बन्द, पढेपछि रोजागारी पाइने आधारै छैन' ताप्लेजुङका सन्दीप तामाङ भन्छन्, 'केही गर्न खोज्यो, यो भएन त्यो भएन भन्छन् । बरु विदेश गयो आनन्द ।'

चितवनका भुपेश अर्यालको भनाई पनि लगभग उस्तै छ । ‘पहिलो कुरा त पढ्दा कुनै अवरोध हुनुहुन्न । तर हाम्रो देशमा सबै आफ्नो गोजी भर्ने खालका मात्रै छन् । नेता त्यस्तै, कलेज त्यस्तै, शिक्षक त्यस्तै अनि हामी विद्यार्थी पनि त्यस्तै भयौँ' उनी भन्छन्, 'मुख्य कुरा राम्रो पढ्ने र पढेपछि जागिर पाउने भए विदेश को जाने थियो र ?’

विद्यार्थीलाई नेपालमा पढ्न भन्दा पनि पढेर के गर्ने भन्ने अन्योल छ । किनकी रोजगारी पाउन भनसुन गर्नुपर्ने, त्यसमा पनि पारिश्रमिक कम, आन्तरिक प्रतिष्पर्धा र कामको मुल्यांकन भन्दा चाकडी गर्नुपर्ने प्रवृत्तिले विद्यार्थीको गन्तब्य बन्दै छ विदेश !

‘युएसए जाँदा बिआइटीको इन्टरनेश्नल कोर्स लिन पाइन्छ । हुन त यहाँ पनि पढाई हुन्छ । तर यहाँको पढाई सैद्धान्तिक मात्रै छ' अर्याल भन्छन्, 'युएसएमा प्राक्टिकल बढी गर्न पाइन्छ । अनि कोर्स पनि रिभाइज्ड र मोडर्न हुन्छ ।’

मेलामा भेटिएका धेरैजसो विद्यार्थीको गन्तब्य अमेरिका, अष्ट्रेलिया र युरोपका देश देखियो । विदेशमा अमेरिकी पहिलो रोजाई हुनु एकातिर भने अर्कातिर भिसा प्रक्रियादेखि चाहेको सबै कोर्स र विषय पढ्न पाइने विद्यार्थीको बुझाई छ ।

रोयल एजुकेश्नल फाउण्डेसनका प्रमुख कृष्णहरी पाण्डे पनि मेलामा आएका धेरै विद्यार्थीको पहिलो रोजाई अमेरिका भएको बताउँछन् । पछिल्लो समय सहज भएको अमेरिकाको भिसा प्रक्रिया र विषय तथा कोर्समा भएको विविधताले अमेरिका विद्यार्थीको रोजाईमा परेको उनले बताए ।

‘अमेरिकाले भिसा प्रक्रिया पनि सजिलो बनाएको छ । अनि सबैको सपनाको शहर अमेरिका जान पनि विद्यार्थी बढी इच्छुक भएका हुन्' उनले भने, 'अर्को भनेको जुनसुकै विषय र कोर्स पनि पढ्न पाइन्छ । काम पनि गर्न पाइन्छ । यसैले पनि अमेरिकाका बारेमा धेरैले सोधखोज गर्छन् ।’ पाण्डेका अनुसार अमेरिका पछि अष्ट्रेलिया नेपालीहरुको दोश्रो गन्तव्य मुलुक बनेको छ । अष्ट्रेलियामा पनि पढाईसंगसंगै काम गर्न पाइने भएपछि विद्यार्थी जाने प्रक्रियाका विषयमा मेलामा सोधीखोजी धेरै छ ।

राजनीतिक अस्थिरत, विकासको सुस्त गतिले बढाएको बेरोजगारी नेपाली विद्यार्थी विदेशिनुको मुख्य कारण हो । त्यसो त विद्यार्थीले विदेश गयो भने अन्तराष्ट्रिय स्तरको कोर्स पढ्न पाइने बताउँछन्, तर पछिल्लो समय आफ्ना सन्तान विदेश पठाउने एक प्रकारको फेसननै भएको छ । यहीं भएका सम्भावनालाई ध्यान दिन छाडेर पढ्ने बहानामा कमाउनका लागि छोराछोरी विदेश पठाउने बावुआमाको संख्या पनि कम छैन ।

प्रकाशित मिति २०७३ जेठ ३१ गते

प्रतिक्रिया