भक्तपुर - एसएलसीमा डी प्लस देखि माथिका ग्रेड ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । डी प्लस ग्रेड भन्दा माथिका ग्रेड ल्याउने तथा १ दशमलव ६ ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपीए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने गरी उच्च माध्यामिक शिक्षा परिषद्ले मापदण्ड निर्धारण गरेको हो । डी प्लस भनेको ३० देखि ४० प्रतिशत अंक बराबर हो । यो ग्रेडका विद्यार्थीले शिक्षा, ब्यवस्थापन तथा मानविकी संकायमा भर्ना पाउँछन् ।
विज्ञान विषय पढ्न चाहने विद्यार्थीले भने अंग्रेजी, विज्ञान र गणितमा सी प्लस ल्याउनै पर्ने हुन्छ । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुन आवश्यक रहेको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले एडुखबरलाई बताए । 'औपचारिक निर्णय त भएको छैन, तर हामी डी प्लस भन्दा माथिको ग्रेड ल्याउने विद्यार्थीलाई मात्रै कक्षा ११ मा पढ्न पाउने ब्यवस्थाको तयारीमा छौं' उनले भने ।
सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत अंक बराबर हो । जस अनुसार अंगे्रजी गणित र विज्ञान गरी तीन विषयमा सी प्लस ल्याउनै पर्ने हुन्छ । अन्य विषयमा डी प्लस भए पनि हुने छ । प्राविधिक विषय तर्फ भने १० वटै विषयमा सी प्लस ल्याउनुपर्ने छ ।
परिषद्ले उच्च माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना गर्नका लागि आवश्यक आधार पनि निर्धारण गरेको छ । जस अनुसार विद्यार्थीले एसएलसीमा प्राप्त गरेको जीपीएलाई ७० प्रतिशत तथा कलेजहरुले लिने प्रवेश परीक्षालाई ३० प्रतिशत मानेर भर्ना हुने शर्माले बताए ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) ले गत फागुनमै एसएलसीमा सी ग्रेड सम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरिसकेको छ ।
यस बर्षबाट ग्रेडिङबाट एसएलसी नतिजा सार्वजनिक हुने भएपनि नतिजा सार्वजनिक हुने बेला सम्म कस्ता विद्यार्थी पढाउने भन्ने बारेमा निर्णय नगरेको भन्दै परिषद्को आलोचना हुँदै आएको छ । परिषद्ले आफूले कस्ता विद्यार्थी भर्ना लिने भन्ने मापदण्ड तय गर्न दुर्गा अर्यालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
उक्त कार्यदलको सिफारिसलाई परिषद् बैठकले औपचारिकता दिन भने बाँकी छ । परिषद्का अध्यक्ष समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बस्ने बैठकले उक्त मापदण्ड स्विकृत गर्ने सम्भावना रहेको परिषद्का एक कर्मचारीले बताए ।
सीटीइभीटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयमा सी श्रेणी ल्याउनु पर्ने निर्णय गरेको छ ।
पढ्नुहोस् : एसएलसीमा सी श्रेणी ल्याउनेलाई प्राविधिकमा भर्ना लिने
प्रकाशित मिति २०७३ जेठ ३० गते
प्रतिक्रिया