Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

चिकित्सा क्षेत्रका विद्यार्थी आन्दोलित

सोमबार, २८ भदौ २०७२

काठमाडौं २८ भदौ / माथेमा प्रतिवेदन हुबहु लागू गर्न नहुने भन्दै निजी मेडिकल कलेजहरूले गरेको आन्दोलनले आफ्नो भविष्य अन्योलमा परेको भन्दै चिकित्सा क्षेत्रका विद्यार्थी आन्दोलित भएका छन् ।

सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिले मेडिकल कलेज धरापमा पर्ने भन्दै निजी मेडिकल कलेज सञ्चालकहरू आन्दोलनमा छन् ।

आइतबार पिपुल्स डेण्टल कलेजका विद्यार्थीले चिकित्साशास्त्र अध्ययन सस्थान (आइएओम) डिनको कार्यालय महाराजगञ्जमा घेराउ गर्दै मेडिकल क्षेत्रका विद्यार्थीको भविष्य अन्योलमा नपार्न दबाब दिएका छन् ।

विद्यार्थीहरूले डा. गोविन्द केसीका नयाँ कलेज खोल्न नदिने तथा सिट सङ्ख्या कटौतीलगायतका मागले गर्दा मेडिकल क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीलाई पनि वञ्चित गर्ने भन्दै उनीहरूले निकास खोजिनुपर्ने बताए ।

नेपाल मेडिकल तथा डेण्टल स्टुडेण्ट एशोसिएसनका अध्यक्ष विनय रञ्जियारले केसीको पटक पटकको अनसन, काठमाडौँमा कलेज खोल्न नदिने र भएको सिट सङ्ख्यामा कटौती गर्ने विषयले आफूहरूको पढ्न पाउने अधिकार हनन भएको बताउनुभयो ।

उहाँले सरकार, निजी मेडिकल कलेज र केसीले वार्ताका माध्यमबाट समन्वयकारी भूमिका निर्वाह गरी विद्यार्थीको भविष्यमा ध्यान दिन आग्रहसमेत गर्नुभयो ।

अध्यक्ष रञ्जियारले आफूहरूले पठनपाठन सुधार गर्न र विद्यार्थीको सेवा सुविधाबारे आवाज उठाउँदै गर्दा डिनले विद्यार्थीप्रति गरेको अमर्यादित गतिविधिप्रति ध्यानाकर्षण गराउनुभयो ।

विद्यार्थीले तत्काल आफ्ना मागलाई सम्बोधन गरी पठनपाठनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

आन्दोलनरत विद्यार्थीले अनेक बहानामा नेपालमा अध्ययनरत विद्यार्थीलाई देश बाहिर पलायन बनाउने षडयन्त्र रचिन थालेको भन्दै त्यस्तो कार्यप्रति ध्यानाकर्षण गराएका छन् ।

गोरखापत्रमा सरोज ढुङ्गेलले लेखेका छन् ।

प्रतिक्रिया