Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

व्यवस्थानतिर विद्यार्थीको लर्को

सोमबार, २८ भदौ २०७२

काठमाडौं २८ भदौ / कुनै समय ‘छोरी बिग्रे नर्स, छोरो बिग्रे कमर्स’ भन्ने गरिन्थ्यो । उतिबेला नर्स र कमर्स दुवै विषय पढ्ने विद्यार्थीले रोजगारी नपाएपछि यस्तो भन्ने गरिन्थ्यो । तर, जमाना उल्टिएको छ । समय भाँडा बनाउने चक्रजस्तै फेरिन थालेपछि नर्स र कमर्स पढ्न लहर नै चल्न थालेको छ । विद्यार्थीको ठूलो संख्या व्यवस्थान र नर्सिङतिर फर्किएपछि यी विषय पढाउने कलेज पनि बग्रेल्ती खुलेका छन् ।

उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार ०६५ देखि कमर्स पढ्ने विद्यार्थीको संख्या अधिक छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ०६७ मा प्रवीणता प्रमाणपत्रतह खारेज गरेपछि कलेज सञ्चालकहरूले पनि व्यवस्थापन विषयका कलेज खोल्न थालेका थिए । कमर्स पढेका विद्यार्थीले बैंक, फाइनान्स, सहकारी र विभिन्न कर्पोरेट कार्यालयमा अवसर पाउँछन् । पछिल्ला वर्ष यी संस्था पनि निकै खुले, फलस्वरूप युवा पुस्ताको आकर्षण पनि यसमै बढ्यो । पहिले यति धेरै संस्था पनि खुलेका थिएनन् । कमर्स पढेका विद्यार्थीका लागि स्वदेशमा मात्रै नभई विदेशमा पनि राम्रा अवसर बढेका छन् । यहाँबाट गएका विद्यार्थीले विभिन्न कर्पोरेट कार्यालयमा काम पाउने सम्भावना अधिक छ ।

ं२ को तथ्यांक हेर्दा आधाभन्दा बढी व्यवस्थापन संकायका विद्यार्थी छन् । यसमा पनि छात्रभन्दा छात्राको संख्या धेरै छ । बैंक, फाइनान्स, सहकारीलगायत कर्पोरेट क्षेत्रमा महिला धेरै खोजिने भएकाले छात्राको आकर्षण धेरै देखिएको परिषद्का अनुगमन शाखा प्रमुख डम्बर बतास बताउँछन् ।

कीर्तिपुरको हिलटाउन बोर्डिङ स्कुलबाट एसएलसी दिएर उत्तीर्ण गरेकी जेनिसा महर्जनले बर्नहार्ट कलेजमा कक्षा ११ मा व्यवस्थापन विषय पढिरहेकी छन् । भविष्यमा होटल म्यानेजमेन्ट पढ्ने भन्दै अहिलेदेखि नै त्यसको तयारी गरिरहेको उनी बताउँछन् । “होटलमा राम्रा अवसर छन्,” उनी भन्छिन्, “साथीहरूले पनि होटल म्यानेजमेन्ट पढ्न सुझाए ।”

बागबजारको काठमाडौं मोडल कलेजमा ११ कक्षा पढिरहेका अंकित घिमिरेले पनि व्यवस्थापन पढिरहेका छन् । एसएलसीमा प्रथम श्रेणी अंक ल्याएका उनी व्यवस्थापन विषयबाट धेरै क्षेत्रमा जान सकिने भएकाले यतातिर लागेको बताउँछन् । चार्टर्ड एकाउन्टेट ९सीए० बन्ने चाहना भएकाले व्यवस्थापन रोजेको उनको भनाइ छ ।

व्यवस्थापनबाट बीबीएस, बीबीए, बीबीएम, बीएचएम, बीटीटीएम, बीसीआइएस, बीआईएम, बीआईटी र सीएजस्ता क्षेत्रमा जान सकिन्छ । यस्ता विषय अधिकांश नेपाली विद्यार्थीको रोजाइमा पर्छन् । तर, विदेशमा व्यवस्थापन विषयबाट जान सकिने क्षेत्र अझै धेरै छन् ।

व्यवस्थापन विषय पढेका विद्यार्थी अत्मनिर्भर भई अरूलाई रोजगारी दिन सक्ने भएकाले आकर्षण धेरै देखिएको थापाथलीस्थित एभरेस्ट कलेजका सञ्चालक विष्णुहरि पाण्डे बताउँछन् ।

व्यवस्थापन पढ्न महँगो पनि छैन । मध्यमस्तरका परिवारले पनि सजिलै आफ्ना छोराछोरीलाई अध्ययन गराउन सक्छ । विज्ञान, मानविकी र शिक्षा संकायमा जान नसकिएकाले पनि यस्तो देखिएको हो । विज्ञान विषय पढ्ने विद्यार्थीका लागि उत्कृष्ट नतिजा आवश्यक भए पनि व्यवस्थापनमा मध्यम स्तरका विद्यार्थीले पनि सजिलै भर्ना पाउँछन् । ग्रामीण क्षेत्रका विद्यार्थीमा शिक्षाशास्त्र संकायप्रति ‘चार्म’ छ । तर, व्यवस्थापन विषयमा सबैभन्दा धेरै सहरी क्षेत्रका विद्यार्थीको अत्यन्तै चाप देखिएको पाण्डेको अनुभव छ ।

मानविकी र विज्ञापन संकायमा धेरै विद्यार्थी हुने गरेपछि पछिल्लो समय न्यून रहेको उच्च माध्यमिक शिक्षा परिषद्को तथ्यांकले देखाएको छ । मानविकी संकायका विषयहरू समयअनुसार अपडेट नभएकाले आकर्षण कम देखिएको साउथवेस्टर्न स्टेक कलेजका सहायक प्रिन्सिपल हरिसिंह केसी बताउँछन् । शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीलाई शिक्षक हुन अध्यापन अनुमतिपत्र अनिवार्य नगरिएकाले पनि आकर्षण देखिएको हो । शिक्षक सेवा आयोेगले पनि नियमित रूपमा स्थायी शिक्षकको विज्ञापन गर्न थालेकाले शिक्षाशास्त्रप्रति विद्यार्थी तानिएका छन् ।

कारोबारमा वीरेन्द्र ओलीले लेखेका छन् ।

प्रतिक्रिया