Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विश्वविद्यालय शिक्षाको केन्द्र बन्ने : प्रम ओली

शनिबार, २९ जेठ २०७३

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालय नेपाली शिक्षाको केन्द्र बन्ने दाबी गरेका छन् ।  प्रधानमन्त्री ओलीले उनको सम्मान एवम् स्वागतका लागि पूर्वाञ्चल विश्वविद्यालयले सुन्दरदुलारी नगरपालिकाको गोठगाउँ उत्तर केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदा सो दाबी गरेका हुन् । 

प्रधानमन्त्री ओलीले आजभन्दा २१ वर्षअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय त्यसबखत विधानमा विराटनगर लेखिनु स्वाभाविक थियो भन्दै त्यतिखेर गोठगाउँमा विश्वविद्यालयको आफ्नो भौतिक संरचना निर्माण नभएकाले विराटनगरमा केन्द्रीय कार्यालय रहन गएकामा कुनै आश्चर्य मान्नु नपर्ने बताएका थिए । 

तर अब ८०५ बिघा जमिनसहित पूर्वाञ्चल विश्वविद्यालयका आफ्नै अर्बौको लगानीमा ठूलठूला भौतिक संरचना निर्माण भएकाले अब विराटनगरमा त्यो पनि भाडाको घरमा केन्द्रीय कार्यालय रहनुको औचित्य समाप्त भएकाले अब गोठगाउँवासीले किन केन्द्रीय कार्यालय गोठगाउँमा आएन भनेर गुनासो गर्ने ठाउँ नै नरहने टिप्पणी समेत गरे । 

प्रधानमन्त्री ओलीले अब नेपालका कुनै पनि विश्वविद्यालयले शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गर्ने छैनन् भन्ने दाबी गर्नुहुँदै अब नेपालका सबै विश्वविद्यालयले हातमा सीप भएका दक्ष शैक्षिक जनशक्ति उत्पादन गरेर विदेसिने युवालाई देशमा नै स्वरोजगार बनाउने शिक्षा दिनका लागि सरकारले ठोस शैक्षिक कार्यक्रम ल्याउने योजना बनाइरहेको पनि जानकारी दिए । 

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले नेपाल भूमि पौराणिककालदेखि नै ऋषिमुनिको तपोभूमि रहेको र ठूलठूला हिन्दू धर्मका ग्रन्थ यही भूमिमा बसेर लेखिएको हो त्यो कुरालाई अब नेपालीले भुल्न नहुनेतर्फ लक्षित गर्नुहुँदै उहाँले प्रत्येक नेपालीले शिक्षाको ज्योतिबाट टाढा हुन नपरोस् भनेर सीपमूलक शिक्षा प्राप्त गर्ने अवसर अब राज्यले नै उपलब्ध गराउने तयारी गरिरहेको बताए । 

प्रधानमन्त्री ओलीले विश्वविद्यालयको जमिनमा कसैले अतिक्रमण र थिचोमिचो गर्न हुँदैन भन्नुहुँदै गोठगाउँवासीले धेरै लामो समयदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा रहेको र व्यवस्थापन लथालिङ्ग रहेको भनेर गरेको गुनासो सहितको मागपत्र मैले दराजमा थन्क्याउनका लागि लिएको नभएर त्यसमा आमूल सुधार ल्याउने उद्देश्य राखेर तपाईंहरुको मागपत्र लिएको हो भनेर सुधार हुने विश्वाससमेत दिलाए । 

सोही अवसरमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा घनश्याम दासले तत्कालीन अवस्थामा पूर्वाञ्चल विश्वविद्यालय निजी स्रोतबाट सञ्चालन हुनेछ भनेर लेखिएकाले अब विश्वविद्यालयले खर्च धान्न नसक्ने परिस्थिति विकास भइसकेकाले पूर्वाञ्चल विश्वविद्यालयको सञ्चालन पनि राज्यद्वारा नै गरिनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । 

उनले विश्वविद्यालय सञ्चालक परिषद्ले पटक पटक पूर्वाञ्चल विश्वविद्यालय सञ्चालनका लागि राज्यले रु ३० करोड उपलब्ध गराउनु पर्दछ भनेर अनुमोदन गर्दै सरकारसमक्ष प्रस्तुत भइसकेकाले त्यसतर्फ पनि प्रधानमन्त्री एवम् कुलपतिको ध्यानाकर्षण होस् भनेका थिए । 

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालमा धेरै चुनौती विद्यमान रहे पनि नेपालीको भाग्य र सुन्दर भविष्य निर्माणका लागि नेपाली जनताले नै बनाएको संविधान कार्यान्वयन गर्ने चुनौतीलाई सबै राजनीतिक दल मिलेर अघि बढाउन जरुरी रहेको बताए । 

आफूले संयोगले नयाँ संविधान जारी गराउने अभिभारा पूरा गर्ने अवसर प्राप्त गरेको र त्यसलाई इमान्दारितापूर्वक आफूले पूरा गरेकाले अब त्यसको कार्यान्वयनमा पनि जिम्मेवार भएर लागिपर्ने प्रतिबद्धता जाहेर गरे ।  सोही अवसरमा उहाँले पूर्वाञ्चल विश्वविद्यालयले भोग्दै आउनुपरेका चुनौतीलाई सामना गर्नका लागि आफूले भरपुर सहयोग पु¥याउने विश्वाससमेत दिलाएका छन् । 

कार्यक्रममा एमाले नेता गुरु बरालले विराटनगरदेखि गोठगाउँसम्मको सडकलाई फोर लेनको बनाई विश्वविद्यालयसम्मको आवागमन सुविधा उपलब्ध गराउनका लागि राज्य वा सरकारले जुनसुकै स्रोतबाट भएपनि यो योजना पूरा गर्नुपर्नेमा जोड दिएका थिए । 

सोही अवसरमा पूर्वमन्त्री गोपी अछामीले पनि पूर्वाञ्चल विश्वविद्यालयको विद्यमान समस्यालाई प्रधानमन्त्री ओलीले ध्यानपूर्वक समाधान निकाल्न विशेष ध्यान दिन आग्रह गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालय स्थानीय सहयोग समितिका अध्यक्ष लोकप्रसाद सङ्ग्रौलाले विश्वविद्यालयको स्थापनाकालदेखि गोठगाउँवासीले ठूलो योगदान पु¥याउँदै आएको र एक दर्जन भन्दाबढी प्रधानमन्त्रीलाई समस्या समाधानका लागि अपिल गरिसकेको स्मरण गराउँनुहुँदै अब पनि समस्या समाधान नभए हामी गोठगाउँवासी विश्वविद्यालयका भवनमा गाई गोठ बनाउन पछि हट्नेछैनौँ भन्ने चुनौती दिएका थिए । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया