Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

लेखपढ गर्न सिक्दै आमाहरु

शनिबार, २९ जेठ २०७३

काठमाडौँ, २९ जेठ । बेनी नगरपालिका–७ कालीपुलकी ५८ वर्षीया भुलमाया तिलिजालाई आफ्नै हातले नाम, थर लेख्ने ठूलो धोका छ । उनलाई उपभोक्ता समितिको बैठक, आमभेलामा सहभागी हुँदा र कार्यालयमा निवेदन लिएर जाँदा लेखपढ गर्न नजानेका कारण दुःख र असजिलो लाग्ने गरेको छ । 

थरथर हात कमाएर भए पनि हस्ताक्षरसम्म गर्न सक्ने तिलिजा अङ्क, अक्षर लेखपढ गर्न सिक्नका लागि बेनीमा सञ्चालित गृहिणी कक्षामा सहभागी भएकी छन । “हाम्रो पालामा विद्यालय थिएनन् । पढ्न पाइएन”, सामाजिक क्षेत्रमा समेत क्रियाशील रहँदै आउनुभएकी तिलिजाले भन्नुभयो – “लेखपढ गर्न नजानेका कारण धेरै ठक्कर पाएकाले पढ्न थालेकी हुँ ।” 

तिलिजासँगै बेनीको मङ्गलाघाटकी ५१ वर्षीया टकसरा राना पनि यसै वर्षदेखि म्याग्दी पुस्तकालय भवनमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएर पढ्न थालेका छन्  । उनले नेपाली र अङ्ग्रेजी अङ्क, अक्षर चिन्ने र लेख्ने भएर मोबाइल, सामाजिक सञ्जाल चलाउने चाहना राखेकी छन । 

“मोबाइलको अङ्क, अक्षर नचिनेर आएको फोन उठाउनेभन्दा अरु गर्न सकिँदैन” रानाले आफ्नो समस्या सुनाइन । शिक्षाको अभावमा तिलिजा र रानाले जस्तै समस्या भोगेका प्रौढ महिलाहरु वैकल्पिक विद्यालयमा पढेर १० कक्षा उत्तीर्ण हुने लक्ष्य राखेर पढ्न थालेका छन् । 

उमेरका कारण आँखा कम देख्ने, बिर्सिने, पढाएको कुरा तत्कालै नबुझ्ने जस्ता समस्या भए पनि आमाहरु उत्साहित हुँदै पढ्न आउने गरेको सहजकर्ता रीता गर्बुजाले बताइन ।

यात्रा गर्दा अथवा कतै जाँदा बसपार्क, गाडी नम्बर, कार्यालयको नाम नचिनेर दुःख पाएकाले अब त्यस्तो दुःख नपरोस् भनेर पढ्न थालेको ५० वर्षीया सुवेदीको भनाइ छ । निरक्षर र घरायसी तथा पारिवारिक कारणले विद्यालय तहसम्मको शिक्षा हासिल गर्न नसकेकाहरुका लागि बेनी सामुदायिक उच्च माविअन्तर्गत शैक्षिक सत्र २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन गरिएको हो । 

एक सय १० जना भर्ना भएका वैकल्पिक विद्यालयमा पूर्ण निरक्षर र सामान्य लेखपढ गर्न जान्नेहरुको छुट्टा÷छुट्टै दुई वटा समूह बनाइएको छ । निरक्षरहरुलाई १–३ कक्षासम्मको पाठ्यक्रमलाई समावेश गरेर तयार पारिएको पुस्तक पढाउने गरिएको छ । 

सामान्य साक्षर भएकालाई ३–५ कक्षा सम्मको पाठ्यक्रम समावेश भएको पुस्तक पढाइन्छ । दैनिक चार घन्टा सञ्चालन हुने विद्यालयमा धेरैजसो ४० वर्ष उमेर पार गरेकाहरु पढ्न आउँछन् । लगातार पाँच वर्षसम्म पढाएर उनीहरुलाई एसएलसी परीक्षामा सहभागी हुन सक्ने बनाउने लक्ष्य रहेको बेनी सामुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठले बताए । 

गृहिणी कक्षाका लागि जिल्ला शिक्षा कार्यालयले वार्षिक रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ । समुदायस्तरमा चन्दा सङ्कलन गरेर कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाइएको प्राचार्य श्रेष्ठले बताए । 

जिल्ला शिक्षा कार्यालयको सहयोगमा यसअघि बाबियाचौरको मङ्गला उच्च माविअन्तर्गत सञ्चालित गृहिणी कक्षा सहभागीको कमीका कारण बन्द भएको थियो । सरकारको १५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई साक्षर बनाउने योजनामा गृहिणी कक्षा सहयोगी हुने विद्यालय निरीक्षक दलबहादुर थापाले बताए ।

म्याग्दी जिल्लाभर लक्षित समूहका ९७ प्रतिशत बासिन्दा साक्षर रहेको तथ्याङ्क छ । तर अहिलेसम्म बरञ्जा, मराङ र पात्लेखेत गाविसलाई मात्रै साक्षर गाविस घोषणा गरिएको छ ।  अनुगमन, समन्वय र आर्थिक स्रोतको कमीका कारण सक्षम भएर पनि म्याग्दीलाई साक्षर घोषणा गर्न नसकिएको जिशिअ रामप्रसाद अधिकारीले बताउनुभयो । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया