Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विद्यालय बन्द नगर्न आयोगको आग्रह

मंगलबार, २९ भदौ २०७२

काठमाडौं २९ भदौ / राष्ट्रिय मानवअधिकार आयोगले निर्वाध रूपमा शिक्षा लिन पाउने बालबालिकाको हक बन्देज लाग्ने गरी बन्दका कार्यक्रम नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै बन्दका कार्यक्रममा बालबालिका प्रयोग भएको अनुगमनमा पाइएको भन्दै त्यसलाई तत्काल रोक्न पनि आन्दोलनकारी शक्तिलाई निर्देशन दिएको छ।

शिक्षासँग सम्बन्धित विभिन्न संघ, संस्थाको सहभागितामा भएको छलफलपछि आयोगले यस्तो निर्देशन दिएको हो। आयोगका अध्यक्ष अनुपराज शर्माले पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार भएकाले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताए।

विद्यार्थी, बिरामी, उपभोक्ता र आम नागरिकको हकका लागि आयोगले सधैं आवाज उठाउँदै आएको जनाउँदै अध्यक्ष शर्माले बालबालिकाको भविष्य अन्धकार हुन नदिन सरकार लगायत सम्बन्धित निकायले विद्यालय सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए।

विभिन्न जिल्लामा बन्दका कारण मानवअधिकार हनन भएको विषयमा आयोगले निरन्तर अनुगमन गरिरहेको भन्दै अध्यक्ष शर्माले बन्दमा बालबालिका प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन र मान्यताविपरीत रहेको बताए।

निजी विद्यालयहरूका संस्था एन–प्याब्सन, प्याब्सन लगायतले आन्दोलनका क्रममा बालबालिका प्रयोग भएको र लामो समयसम्म्ा विद्यालय बन्द भएको भन्दै तत्काल सञ्चालनको वातावरण बनाउन आग्रह गर्दै आएका थिए।

तराई–मधेस लगायत देशका विभिन्न स्थानमा भइरहेको बन्द, हडतालका कारण विद्यार्थीको पढ्न पाउने अधिकारका साथै विद्यालय शान्ति क्षेत्र भन्ने अवधारणालाई आत्मसात गर्दै यथाशीघ्र विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

प्याब्सन, एन–प्याब्सन लगायतले शिक्षा मन्त्रालयले विद्यालय र कलेजमा पठनपाठन सञ्चालन गर्न चासो नदेखाएको भन्दै आयोगलाई पहल गरिदिन आग्रह गरेका थिए। विद्यालयका सवारी साधनलाई एम्बुलेन्ससरह सुविधा प्रदान गरी विद्यालय शान्ति क्षेत्रको मर्म र भावनालाई व्यवहारमा लागू गर्नका लागि पहल गरिदिन पनि उनीहरूले आयोगलाई आग्रह गरेका थिए।

नागरिकमा खबर छ ।

प्रतिक्रिया