Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलाको पहिलो दिन २५ हजार द्धारा अवलोकन

शुक्रबार, २८ जेठ २०७३

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई आवश्यक परामर्श र सही सूचना दिने उद्धेश्यले शुरु शैक्षिक मेलाको पहिलो दिन विद्यार्थी र अभिभावक गरी करीव २५ हजारले अवलोकन गरेका छन् । तीन दिन सम्म चल्ने मेलाको डेढ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

परामर्श दातृसंस्था आवद्ध नेपाल शैक्षिक परामर्श संघ इक्यानद्धारा भृकुटीमण्डपमा आयोजित मेलामा परामर्श दातृ संस्थाका प्रतिनिधिहरुले विद्यार्थी र अभिभावकको जिज्ञासा मेटाएका थिए । मेलामा विभिन्न विदेशी विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानका प्रतिनिधि संग विद्यार्थीले प्रत्यक्ष रुपमा चासो र जिज्ञासा राख्न सक्ने ब्यवस्था मिलाईएको छ ।

यस अघि विहान मेलाको उद्घाटन गर्दै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली विद्यार्थीलाई विदेश मात्रै हैन विदेशी विद्यार्थीलाई नेपालमा आर्कषण गर्न इक्यानलाई सुझाव दिए । कार्यक्रममा बोल्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा मन्त्रालय इक्यान तथा परामर्श दातृ संस्थाहरुसँग सहकार्य गरेरै अघि बढ्न ईच्छुक रहेको बताउँदै घरमै बसेर परामर्श दिने काम बन्द गर्न आग्रह गरे । दर्ता प्रकृयामा सहभागि नभएका दातृ संस्थाहरुलाई दर्तामा आउन इक्यानले सहजीकरण गर्न उनको आग्रह थियो ।

इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक हव बनाउने आफ्नो पुरानै योजना रहेको बताउँदै यसका लागि राज्यले उचित वातावरण बनाउन आवश्यक रहेको बताए ।

इक्यान अध्यक्ष प्रकाश पाण्डेले विदेशी विद्यार्थी ल्याउन आफूहरु संधै सकारात्मक भएपनि कतिपय नीतिको अभावले समस्या परेको बताए । त्यसैले विदेशी विद्यार्थी ल्याउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माणमा राज्यले चासो दिनु पर्ने औंल्याए ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्: विदेशिने विद्यार्थी परनिर्भरताबाट बाहिर आउँछन् : इक्यान अध्यक्ष पाण्डे

प्रकाशित मिति २०७३ जेठ २८ गते

प्रतिक्रिया