Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

अस्तव्यस्त विद्यार्थी संगठन

मंगलबार, २९ भदौ २०७२

काठमाडौं २९ भदौ / शैक्षिक विकासका लागि आवाज उठाउने विद्यार्थी संगठन अहिले आफैँ अशक्त बनेका छन् । विद्यार्थी हकहितको खबरदारी कम र नेताका गुट हाबी हुन थालेपछि विद्यार्थी संगठन कमजोर बन्दै गएका हुन् । ठूला–साना सबैजसो दलनिकटका विद्यार्थी संगठन अस्तव्यस्त अवस्थामा छन् ।

ठूला दलका विद्यार्थी संगठनका रूपमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्ववियु (क्रान्तिकारी) लगायत सशक्त हुन सकेका छैनन् । वर्षौंदेखि नयाँ नेतृत्व चयन हुन नसक्दा केही संगठनमा संयोजक मात्र छन् भने केहीमा नेतृत्व चयन भए पनि तल्लो तहसम्म पुग्न सकेका छैनन् ।

विद्यार्थी संगठनको सक्रियता कमजोर हँुदै गएपछि विद्यार्थीको आकर्षण पनि घट्दै गएको छ । उनीहरूले गर्ने आन्दोलनमा पनि विद्यार्थी सहभागिता पातलो हुने गरेको छ । संयुक्त आन्दोलन गर्दासमेत विद्यार्थी संख्या धेरै बनाउन समस्या पर्ने गरेको एक विद्यार्थी नेताले बताए । साना संगठनको आन्दोलनमा क्याम्पसमा झन्डा समात्ने विद्यार्थी पाउनसमेत मुस्किल पर्दै गएको छ । संयुक्त आन्दोलनबाट केही सहमति भइहाले पनि कार्यान्वयन गराउने क्षमतासमेत गुम्दै गएको छ ।

नेपाल विद्यार्थी संघ

पुरानो र अहिले ठूलो दल कांग्रेसनिकटको नेविसंघ सबैभन्दा बढी अस्तव्यस्त छ । नेविसंघले लामो समयदेखि महाधिवेशनसमेत गर्न सकेको छैन । संस्थापनतर्फको नेविसंघको अन्तिम महाधिवेशन ०६५ मा चितवनमा भएको थियो भन कांग्रेस (प्रजातान्त्रिक) को महाधिवेशन भने सोही वर्ष नेपालगन्जमा भएको थियो । तर, कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि नेविसंघको महाधिवेशन नै हुन सकेको छैन ।

अहिले नेविसंघका अध्यक्ष रञ्जित कर्ण हुन् । कांग्रेसले ६ महिनाभित्र महाधिवेशन गर्न २१ माघ ०६८ मा कर्णलाई अध्यक्ष बनाएको थियो । जिम्मेवारी पाएको साढे तीन वर्षसम्म पनि उनले महाधिवेशन गर्न सकेका छैनन् । उनी अहिले सभासद्समेत छन् ।

नेविसंघको ११औँ महाधिवेशन मिति औपचारिक रूपमा सातपटक घोषणा भएको छ । तर, हरेकपटक स्थगित हुदै आएको छ । पछिल्लो पटक ३० कात्तिकदेखि २ मंसिरसम्मका लागि तोकिएकोमा त्यसको केही दिनअघि महाधिवेशन स्थगित गरिएको थियो ।

माउ पार्टीका संस्थापन र देउवाको गुटअनुसार नेविसंघमा पनि गुटबन्दी छ । विश्वविद्यालय क्याम्पस कीर्तिपुरसहित आंगिक क्याम्पसमा गुटअनुसारका इकाइ समिति छन् । दुवै गुटबीच राम्रो मेल नहुँदा संघप्रति आस्था राख्ने विद्यार्थीले चासो दिने गरेका छैनन् ।

नेविसंघमा अध्यक्षसँग असन्तुष्टि बढ्दो छ । माउ पार्टीका कारण पटक–पटक महाधिवेशन रोकिएको आक्रोश कार्यकर्ताहरूले अध्यक्षमाथि पोख्ने गरेका छन् । केही समयअघि अध्यक्ष कर्णलाई नेविसंघकै कार्यकर्ताले कालोमोसो दलेर, जुत्ताको माला लगाएर दुव्र्यवहार गरेका थिए । नेविसंघको जिल्ला कमिटीमा समेत विवाद छ । ११ वटा जिल्ला कमिटीमा विवाद छ । ती जिल्लामा संस्थापन र देउवा पक्षको विवादले अधिवेशन हुन सकेका छैनन् ।

नेविसंघ महाधिवेशन र स्ववियु चुनाव नहुँदा दशभन्दा बढी क्याम्पसमा रहेका विद्यार्थी नेता समस्यामा परेका छन् । विद्यार्थीमा नेतृत्वको तहगत विकास नभएको भन्दै उनीहरू अब पार्टीतिर लाग्ने तयारीमा छन् । उम्मेदवारी दिने तयारीमा लागेका नेताहरूले वर्षौंसम्म महाधिवेशन नभएपछि पार्टीमा भूमिका खोज्न थालेका छन् ।

अनेरास्ववियु

एमालेको भ्रातृ संस्था अनेरास्ववियुमा आगामी राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्वको लागि मापदण्ड बनाउने विषयमा विवाद सुरु भएको छ । संगठनमा उमेर र शैक्षिक योग्यताको हदबन्दी तोकेर अनुकूलको नेतृत्व ल्याउन खोजिएको भन्दै विरोध भएको छ ।

अनेरास्ववियुमा गुट अनुसारका समानान्तर कमिटी बनेका छैनन् । तर, केन्द्रीय नेतृत्वमा देखिएको गुटगत समस्या तल्ला कमिटीसम्म पुगेको छ । क्याम्पस र जिल्ला कमिटीका पदाधिकारीलाई आफ्नो पक्षमा पार्न नेतृत्वको होडबाजी छ ।

केही जिल्ला, सिटिइभिटी, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका संगठनमा आफूनिकटका व्यक्ति राख्न लागेको आरोप केन्द्रीय नेतृत्वमाथि लाग्ने गरेको छ । नेतृत्वको भागबन्डाका आधारमा पदाधिकारी छनोट हुँदै आएकाले समस्या भएको एक विद्यार्थी नेताले बताए । तर, अनेरास्ववियुका प्रवक्ता युपी लामिछानेले केही ठाउँमा देखिएका समस्या चुनाव भएमा समाधान हुने बताए ।

माउ पार्टीको समीकरणको असर अनेरास्ववियुमा पनि परेको छ । पार्टीमा हुने समीकरण परिवर्तन विद्यार्थी संगठनमा पनि देखिने गरेको छ । यसअघि पार्टी अध्यक्ष झलनाथ खनाल हुँदा केपी ओली–माधव नेपालको एउटै गुट थियो । अहिले ओली र नेपालका छुट्टाछुट्टै गुट भएपछि विद्यार्थी संगठनमा पनि समीकरण फेरिएको छ ।

२२ औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा तोकिए पनि नहुने भएको छ । प्रस्तावित नयाँ विषयमा साउन अन्तिम साता भएको विधान सम्मेलन अनिर्णीत भए पछि निर्णयको जिम्मा केन्द्रीय कमिटीलाई दिइएको थियो । तर, विधान सम्मेलनपछि केन्द्रीय कमिटीको बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय राजनीतिमा अस्थिरता रहेको कारण देखाएर बैठक नबसेको अनेरास्ववियुले जनाएको छ । बैठक नबसेपछि सम्मेलनको तयारी नै भएको छैन ।  अध्यक्ष किशोरविक्रम मल्लप्रति असन्तुष्टि छ । पार्टीमा उनीविरुद्ध उजुरीसमेत पर्ने गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारी

एमाओवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाँच वर्षदेखि एउटै केन्द्रीय समितिबाट सञ्चालित छ । अखिल क्रान्तिकारीको १९औँ सम्मेलन ०७० चैतमा भएको थियो । सम्मेलनले नयाँ विधान पारित गर्दै एक सय ५१ सदस्यीय केन्द्रीय समिति र १५ पदाधिकारी बनाउने निर्णय गर्‍यो ।

निर्वाचनको विधि बनाएर निर्वाचन समितिले प्रक्रिया सुरु गर्दा बन्दसत्र हलमा नाराबाजी भएपछि सम्मेलन नै रोकियो । संस्थापन पक्षसमेत विभाजित सम्मेलनमा भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्ष एकातिर भए । विवादले नेतृत्वमा सहमति हुन नसक्ने र निर्वाचन पनि हुन नसक्ने अवस्था सिर्जना भयो । त्यसपछि तीन महिनाभित्र राष्ट्रिय भेला गरेर नयाँ कार्यसमिति चयन गर्ने गरी पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको थियो ।

एकीकृत माओवादीनिकटको अनेरास्ववियु क्रान्तिकारीमा पनि पार्टीको गुटबन्दी प्रभाव छ । एउटै क्याम्पसमा दुई पक्षका भिन्नभिन्न कमिटीसमेत छन् । केही महिनाअघि भएको राष्ट्रिय सम्मेलनमा अध्यक्षमा सहमति नभएपछि पुरानै नेतृत्व राखेर सम्मेलन टुंगिएको थियो । तर, हिमाल शर्माले राष्ट्रिय भेला पाँच महिनासम्म बोलाउन सकेनन् । पार्टीको काठमाडौं जिल्ला अध्यक्ष पद पाएपछि २५ भदौ ०७१ मा उनले अध्यक्षबाट राजीनामा दिए । उनको राजीनामासँगै क्रान्तिकारी चार महिनासम्म नेतृत्वविहीन भयो ।

एमाओवादीले २५ पुस ०७१ मा शर्माको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय सम्मेलन गर्ने गरी रमेश मल्ललाई अखिल क्रान्तिकारीको संयोजक तोक्यो । तर, उनलाई पार्टीले १९औँ हो वा २०औँ राष्ट्रिय सम्मेलनको जिम्मेवारी दिएको हो, स्पष्ट छैन ।

पार्टीभित्रको अन्तर्संघर्षले संगठनमा असर परेको विद्यार्थी नेताहरू बताउँछन् । उनीहरूका अनुसार यसको असर संगठनको तल्लो तहमा समेत परेको छ । एउटै क्याम्पसमा दुई पक्षका भिन्नभिन्न कमिटीसमेत छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, नेपाल

राप्रपा नेपाल निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ) ले विद्यार्थीबीच धेरै लोकप्रिय हुन सकेको छैन । संघ आफैँ पनि भद्रगोल अवस्थामा छ । समयमै महाधिवेशन गरी नेतृत्व हस्तान्तरण पनि भएको छैन ।

राजाराम बर्तौलाको अध्यक्षतामा रहेको केन्द्रीय समितिले यस वर्षको वैशाखअघि नै महाधिवेशन गर्नुपर्ने थियो । तर, महाधिवेशन गर्न नसकेपछि पार्टीले चार महिनाभित्र महाधिवेशन गर्ने गरी उज्ज्वल पोखरेलको नेतृत्वमा तयारी समिति गठन गरेको छ । ५७ सदस्यीय तयारी समितिमा समेत असन्तुष्टि बढेपछि केही संख्या थप्ने तयारीमा राप्रपा नेपाल छ ।

सो संघको अधिकांश क्याम्पसका इकाइ समिति निष्क्रिय छन् । क्याम्पसमा विद्यार्थीका समस्या सुन्ने र समाधानमा कमजोर उपस्थिति रहेकाले विद्यार्थी आकर्षणसमेत कम छ ।

समाजवादी विद्यार्थी फोरम नेपाल

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी एकीकृत भएर संघिय समाजवादी फोरम नेपाल बनेपछि विद्यार्थी संगठन पनि एकीकरण भएका छन् । तर, विद्यार्थी संगठन व्यवस्थित छैन ।

फोरमनिकट मधेसी विद्यार्थी फोरमको नेतृत्व अशोक यादव र संघीय समाजवादीनिकट अग्रगामी विद्यार्थी युनियनको नेतृत्वमा विवेक राई थिए । पार्टी एकीकरणसँगै विद्यार्थी संगठन एकीकरणपछि नाम समाजवादी विद्यार्थी फोरम नेपाल राखिएको छ । एकीकरणका वेला नेतृत्वको टुंगो लागे पनि अहिलेसम्म कार्यान्वयन नभएको विद्यार्थी नेताहरू बताउँछन् । अशोकलाई पार्टीमा विद्यार्थी संगठनको इन्चार्ज र राईलाई विद्यार्थी संगठनको नेतृत्व दिने सहमति भएको छ । तर, विवेक राई अहिले पनि विद्यार्थी संगठनको संयुक्त बैठकमा अग्रगामी विद्यार्थी युनियनका नाममा उपस्थित हुने गरेका छन् ।

केन्द्रीय तहदेखि जिल्लासम्मको नेतृत्व बाँडफाँड हुन सकेको छैन । पार्टीका विद्यार्थी इन्चार्ज अशोक यादवले अधिकार प्राप्तिका लागि आन्दोलनमा लागेकाले केही कुरा मिलाउन बाँकी रहेको बताए ।

दुई पार्टी एकीकरण भएर संघीय समाजवादी फोरम बने पनि विद्यार्थीका दुवै संगठन आ–आफ्नै हिसाबले सक्रिय छन् । दुवै संगठनको जिल्ला र क्याम्पस इकाइमा समायोजन भइसकेको छैन । तराईमा फोरम र पहाडमा अग्रगामी युनियन सक्रिय छ । पछि विद्यार्थी संगठन समायोजना गर्दा तराईमा फोरम र पहाडमा युनियनका विद्यार्थीलाई नेतृत्वमा प्राथमिकता दिने विद्यार्थी इन्चार्ज अशोकको भनाइ छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)

राष्ट्रिय प्रजातन्त्र पार्टीनिकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)मा नेतृत्वकै विवाद छ । एउटा समूहले विद्यार्थी संगठनको अध्यक्ष प्रेम बलायर र अर्को समूहले राजीव लामिछानेलाई अध्यक्षको भूमिकामा राखेका छन् ।

पार्टी नेताहरू लोकेन्द्रबहादुर चन्द र दीपक बोहरा पक्षका कारण दुई अध्यक्ष भएका हुन् । चन्द समूहले प्रेम बलायर र बोहरा पक्षधरले राजीव लामिछानेलाई आधिकारिक अध्यक्ष मानेका छन् । विद्यार्थी संगठनको संयुक्त बैठकमा प्रेम र राजीवले छुट्टाछुट्टै पत्र बोकेर अध्यक्ष भएको दाबी गरेर जाने गरेका छन् ।

बोहराले अन्य दलका विद्यार्थी नेतासँग पनि राप्रविसंघको आधिकारिक अध्यक्ष राजीव भएको बताउने गरेको एक विद्यार्थी नेताले बताए । अनेरास्ववियुका एक नेताले भने, ‘राप्रपाको विवाद विद्यार्थी संगठनको अध्यक्षमा समेत भएकाले हामीले संयुक्त बैठकमा राप्रविसंघको कसैलाई पनि निम्तो गर्दैनौँ ।’

अनेरास्ववियु क्रान्तिकारी

एमाओवादीबाट विभाजित भएर ०६९ असारमा मोहन वैद्य किरण नेतृत्वमा नेकपा–माओवादी गठन भएयता सो पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीमा तीनजना अध्यक्ष भएका छन् । एमाओवादीबाट विभाजन हुँदा अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली थिए । वैद्यबाट नेत्रविक्रम चन्द बाहिरिएपछि रसाइली पनि उनीसँगै गए । त्यसपछि क्रान्तिकारीको अध्यक्षमा सुरेश गौतम निर्वाचित भएका थिए । अहिले रत्न ढकालले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

पार्टी धेरैपटक फुटेपछि सबै ठाउँमा सक्रिय नेतृत्व पाउन कठिन भएको छ । सो संगठनका एक विद्यार्थी नेता भन्छन्, ‘लिडर भए पनि क्याडर छैनन् ।’ महत्त्वपूर्ण क्याम्पसहरूमा मात्र कमिटी विस्तार भएको छ । संगठनभित्र अन्तसंघर्ष भने छैन ।

अध्यक्ष ढकालले अहिले विद्यार्थीमा संगठन विस्तारमा कम ध्यान जाने गरेको बताए । कतिपय नेतामा संगठन विस्तारभन्दा बढी आम्दानी हुने शैक्षिक संस्थामा नेतृत्व हडप्नेतर्फ ध्यान जाने गरेको छ । विद्यार्थीका समस्या समाधानमा पहिले जसरी लाग्थे, त्यो क्रमसमेत हटेको छ ।

अखिल क्रान्तिकारी (विप्लवनिकट)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीनिकटको अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व शरद रसाइलीले गरेका छन् । नयाँ संगठन भएकाले महत्त्वपूर्ण क्याम्पसमा इकाइ विस्तार भइसकेको छ । तर, क्रियाशील क्याडर संख्या कम रहेको विद्यार्थी नेताहरू बताउँछन् ।

एउटै नाम

एकीकृत माओवादी एक हुँदाको अनेरास्ववियु क्रान्तिकारी पार्टीसँगै विभाजन हुँदै गएका छन् । तर, नाम सबैको एउटै छ । एमाओवादी, नेकपा–माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका विद्यार्थी संगठनको एउटै नाम अनेरास्ववियु क्रान्तिकारी छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया