Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विदेशमा शिक्षा

विदेशिने विद्यार्थी परनिर्भरताबाट बाहिर आउँछन् : इक्यान अध्यक्ष पाण्डे

विहीबार, २७ जेठ २०७३

विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई सही सूचना र उचित परामर्श दिने उद्धेश्यले नेपाल शैक्षिक परामर्श संघ ईक्यानले शुक्रबारबाट शैक्षिक मेला शुरु गर्दै छ । मेलाको उद्धेश्य तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको अवस्थाका बारेमा ईक्यान अध्यक्ष प्रकाश पाण्डेसंग विष्णु विवेकले गरेको कुराकानी :

- हरेक बर्ष यस्ता मेला गर्दै आउनु भएको छ, १० औं संस्करण सम्म आईपुगेको अवस्थामा यस पटक के फरक छ ? अथवा भनौं न यो मेलाको विशेषता के हो ?

मुख्य कुरा यस्ता इभेन्टहरुको निरन्तरता हो । विद्यार्थी अभिभावकलाई सही परामर्श दिन विदेश पढ्न जान आवश्यक जानकारी दिन विशेष थलोका रुपमा मेलाको विकास गरिएको थियो । यो दश बर्षमा यसले ठूलो महत्व राखेको छ । हरेक बर्ष इक्यान मेलामा व्यवसायी, विद्यार्थी अभिभावक लगायत शैक्षिक संस्थाहरुको आकर्षण पनि बढेको छ । यो बर्ष २ सय २५ जति स्टल रहेका छन् । हरेक बर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या पनि बढेको छ । मेलाले अपुरो जानकारी लिएर विदेश जानुभन्दा पूर्ण जानकारी लिएर नेपालबाट बाहिर जाँदा पढाई, भाषा, आर्थिक अवस्था अनि विदेशमा पाउने अवसरहरु, त्यहाँ हुने समस्याका बारेमा पहिल्यै जानकारी पाउन सजिलो भएको छ ।

जहाँ सम्म यस पटकको विशेषताको कुरा छ, हरेक बर्ष हुने परिवर्तन जस्तो, भिजाका नियममा आएका परिवर्तन, विभिन्न देशले लागू गर्ने नयाँ नयाँ कोर्सका बारेमा हामी पर्याप्त जानकारी दिदैं छौं । भर्नाका लागी मात्र जानकारी गराउने भन्दा पनि विस्तारै उनीहरुको भविष्य र पेशागत परामर्शका बारेमा जानकारी दिन्छौँ । विद्यार्थीको ‘ओभरअल प्रोफाइल’ का आधारमा विद्यार्थीले नेपाल होस या त विदेश नै सही मुलुक, सही शिक्षण संस्थाको निक्र्यौल गर्न सक्ने ‘करियर काउन्सिल’लाई प्रश्रय दिएका छौं ।

- तपाईले भन्नुभयो, विदेश जाने विद्यार्थीको संख्या दिनहुँ बढिरहेको छ । विदेश गएका विद्यार्थीले मुख्यतः के के कुरा प्राप्त गरेका छन् ?

एउटा सबैभन्दा मुख्य विषय के छ भने नेपाली विद्यार्थी ‘डिपेन्डेन्सी’ परनिर्भताबाट बाहिर आउँछन् । नेपालमा अभिभावकको संरक्षणमा बस्ने, अभिभावकले कमाएर पाल्ने, पढ्न भनेर खर्च दिने जुन किसिमको परिपाटी छ । यसबाट थोरै भएपनि आत्मनिर्भरता ‘सेल्फ डिपेन्डेन्सी’ विकास गर्ने काम गर्छन् विद्यार्थी । कम्तीमा पढाईसंगै पार्टटाइम काम गर्छन् । त्यसले आफ्नो ‘पकेट मनी’, ‘ट्युसन’ खर्च कमाउँछन् । कैयौँ देशमा कानुनी रुपमा पार्टटाइम काम गर्न पाइन्छ । त्यो हिसाबले पनि विद्यार्थीले आत्मनिर्भरताको बानी विकास गर्छन् । अर्को के छ भने बदलिदो परिस्थितीमा विकसित देशहरुमा विश्वस्तरीय कोर्सहरु पढाई हुन्छ । यसले पनि नेपाली विद्यार्थीले सीप, क्षमता, शिक्षा आर्जन गर्ने सवालमा पनि अझ विश्वस्तरीय शिक्षा आर्जन गर्छन् । यसको असर, उनीहरु नेपाल फर्किदा नेपालको रेमिट्यान्समा पनि सहयोग गर्छन् । यसका साथै उनीहरुले पढेर मात्रै होइन् परेर पनि सिक्ने मौका पाएका हुन्छन् । त्यो चाही राज्यको लागी राम्रो उपलब्धी हुने हामीले देखेका छौँ ।

- विदेशमा गएका विद्यार्थी समस्यामा पनि पर्ने गरेका छन् । यसमा इक्यानले कस्तो भूमिका खेलेको छ ?

‘इन्फरमेशन ग्याप’ ले कहिल काँही समस्या आउँछ । विद्यार्थीले राम्रोसंग नबुझ्ने या कहिलेकाही परामर्शदाताले पनि गलत ‘गाइडेन्स’ गर्ने । यस्ता कुराहरुले गर्दा बेलाबखतमा समस्या भने आउँछन् । यस्ता समस्यालाई घटाउन इक्यानले त २०६३ सालदेखि आफ्ना नीति नियम बनाएर, न्युनतम मापदण्ड समेत बनाएका छौँ । परामर्श र सेवा प्रवाहका बारेमा पनि एउटा निश्चित दायरा बनाएका छौँ । व्यवसायीहरुबाट गलत नहोस भनेर सधै ‘ट्रेनिङ’ दिने काम पनि गरिरहेका छौँ ।

इक्यानभन्दा बाहिर रहेका अन्य व्यवसायीहरुबाट पनि समस्या नहोस् भन्नका लागि राज्यसंग लडेर एउटा निर्देशिका ल्याएका छौँ । त्यही निर्देशिकामा पनि कैयौँ सुधार आवश्यक छ भनेर आवाज उठाइरहेका छौँ । ताकी विद्यार्थीहरु पनि सुरक्षित तरिकाले विदेश जान सकुन र व्यवसायीले पनि व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न सकुन । त्यतिमात्रै नभएर लामो समयदेखि हामीले गरिरहेको पहलका कारणले पनि शिक्षा ऐनमै पनि शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थापन गर्न भनेर एउटा लाइन परेको छ । यसले गर्दा त्यो ऐनमा टेकेर नियमावलीमार्फत यो व्यवसाय अझ थप व्यवस्थित गर्ने कुरा पनि निश्चित भएको छ ।

केही समय अघि पनि अन्तराष्ट्रिय मामिला तथा श्रम समितीको बैठकमा मैले गएर आफ्नो व्यवसायीका तर्फबाट कुरा राख्ने मौका पाएको थिए । यो क्षेत्र लामो समयदेखि राज्यले जुन हिसाबले ध्यान पुर्याउनुपर्ने हो त्यो नपुर्याइरहेको र गाह्रो, अफ्ठयारो परिरहेको र वास्तविक शैक्षिक परामर्शदातृहरु भनेको के हो ? उनीहरुको जिम्मेवारी र भूमिका के हो ? भन्नेबारेमा पनि स्पष्टता नभएको अनि राम्रा गर्नेलाई पुरस्कृत र खराब गर्नेलाई दण्डित गर्ने कानुन पनि नभएको कारणले यो क्षेत्रलाई व्यवस्थित गर्न थप गाह्रो भएको छ । संसदीय समितीले शिक्षा मन्त्रालयलाई कानुन नै बनाएर व्यवस्थित गर्नु निर्देशन दिइसकेको छ ।

- यस्ता मेलामा तपाईहरु विद्यार्थीलाई जसरी हुन्छ भर्ना गराउने तिर मात्रै केन्द्रित हुनुहुन्छ, विश्व परिदृष्यमा बदलिएको शिक्षाका आयामहरुबारे जानकारी दिनुहुन्न भन्ने आरोप छ नी !

अहिले ग्लोवलाईजेसनको युग छ । घरमै र नेपालमै बसेर त विश्वस्तरीय शिक्षाहरु पढ्न पाइन्छ । अनलाइन र ओपन युनिभरसिटीको कन्सेप्ट छ । भर्खरै नेपालमा खुल्ला विश्वविद्यालयको कानुन पारित भएको छ । विद्यार्थीको बजेट र रुचि, विद्यार्थीको आर्थिक होस्, पढाई होस्, भाषागत क्षमताका आधारमा सही शिक्षण संस्था र शैक्षिक गन्तव्य पहिल्याउने कुरामा हामी सचेत छौं, यस सन्दर्भमा मेला अति उपयोगी हुन्छ भन्ने हामीले ठानेका छौ ।

जहाँ सम्म विद्यार्थी बाहिर पठाउने कुरामा मात्रै ध्यान दिने भन्ने छ, त्यसमा पनि कसरी राम्रो जानकारी लिएर गए भने विद्यार्थीलाई गाह्रो अफ्ठयारो हुदंैन अनि विद्यार्थीले विदेश गएर राम्रो गर्न सक्ने अवस्था कसरी ल्याउन सक्छौँ भनेर परामर्श दिने यो मेलाबाट सम्बोधन गर्ने प्रयास गरेका छौँ ।

प्रकाशित मिति २०७३ जेठ २७ गते

प्रतिक्रिया