Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

हेडसरकै योजनामा स्कूल जलाइयो

बुधबार, ३० भदौ २०७२

काठमाडौं ३० भदौ / कहिलेकाहीं समाजमा यस्ता घट्ना घट्छन, जसलाई सजिलै पत्याउनै गाह्रो पर्छ। अघिल्लो साताको शुक्रबार लमजुङको पुरानो सदरमुकाम कुन्छा स्थित मध्यरातमा जलाईएको शान्ति उमाबिको घटना अनुसन्धानको क्रममा अनौठो रहस्य खुलेको छ।
 
विद्यार्थीलाई नैतिकताको पाठ सिकाउँदै अनुशासन, सभ्य र सुसंस्कृत बन्‍न सिकाउने शिक्षकले नै आफ्नै विद्यालय जलाउन लगाए, भन्दा तपाईलाई पत्याउन गाह्रो पर्ला तर, लमजुङको कुन्छास्थित शान्ति उमावि प्रचार्यकै योजनामा मध्यरातमा बिद्यालय जलाईएको रहस्य खुलेको छ।

आगलागीहुंदा बिद्यालयमै रहेका चौकीदार पदम मिश्रलाई प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरी घटना बारे बुझ्दा उनले प्राचार्यकै निर्देशनमा आफैंले बिद्यालयमा आगजानी गरेको स्वीकार गरेकाहुन्। 

'विद्यालयका चौकीदार पदम मिश्रले प्राचार्य नारायण गिरीको आदेशमा आफुले विद्यालयमा आगो लगाएको बयान दिए, प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अन्नपूर्णसँग भने,‘ चौकीदारले पटक पटक सोही बयान दिएपनि प्राचार्यले घटनाबारे अझै अस्विकार गरेकाले घटनाको छानवीनमै छौं।' चौकीदारले झण्डै एक हप्ताको योजनामा विद्यालयमा सुत्‍न जाने क्रममा आफुले आगो लगाएको बयान दिएको प्रहरी निरीक्षक अधिकारीले बताए।  
चौकीदारले उक्त बयान दिएपछि प्राचार्य गिरीलाई प्रहरीले हिरासतमा लिएको छ। अनुन्धानका लागि दुबै जनालाई जिल्ला अदालतले सात दिनका लागि म्याद थपेको छ। 

प्राचार्य गिरीले भने चौकीदार मिश्रको बयान झुटो रहेको र घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। योजनाबद्ध रुपमा विद्यालयका सामाग्री एवं कागजात जलेर नष्ट भएको देखाउन आगलागी गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
 
अनुसन्धानमा आगलागीबाट विद्यालयमा जलेका भनिएका २० थान कम्प्युटरमध्ये १० थानको मात्र भग्नावशेष भेटिएको अनुसन्धानमा संलग्न ईलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए। 'प्राचार्यले विद्यालयमा जिन्सी सामाग्रीको लिखत नदेखाउनु र उनले स्वयं लगत नराखेको बताउनुले प्राचार्य माथी शंका उत्पन्न भयो' उनले भने।
 
विद्यालयका कम्प्युटर लगायतका सामाग्री प्राचार्य गिरीले घर लगेर प्रयोग गरेको पनि भेटिएपछि  विद्यालयमा निजले गरेको भ्रष्टाचार लुकाउन आगो लगाएको हुन सक्ने स्थानीयबासीले अड्कल गरेका छन्। घटना चौकीदार एक्लैले गराउन नसक्ने भएकाले प्रचार्य र व्यवस्थापन समिति एवं शिक्षकहरुसँग समेत बयान लिने क्रम जारी रहेको प्रहरीले जनाएको  छ।
 
विद्यालयमा आगलागी भएकै दिन शुरु भएको परीक्षा आगलागी पश्चात स्थगित गरी भदौ २६ गतेदेखि पुन परीक्षा सुचारु राखिएको बिद्यालयका शिक्षक निलकण्ठ अधिकारीले बताए। बिद्यालय जलेपछि खुलाआकाश मुनी बसेरनै परिक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

आगलागीबाट विद्यालयको पुस्तकालयमा रहेको तीन हजार बढी पुस्तक जलेर नष्ट भएका थिए भने स्टोर कोठामा राखिएको २०२३ सालदेखिका विद्यालयका महत्वपुर्ण कागजपत्रहरु पनि जलेका थिए। आगलागीबाट विद्यालयको प्रयोगशालामा रहेका सामाग्रीहरु, कम्प्युटर, फोटोकपी मेसिन, विद्यालयको दानदाताको नाम सहितको ताम्रपत्र र तीन सय बढी विद्यालयका दाताका तस्वीरहरु जलेर नष्ट भएको छ।
 
आगलागीबाट कक्षाकोठा, पुस्तकालय, कप्युटर कोठा, ल्याब र स्टोर कोठाका गरी तीन सय वटा कुर्सी समेत जलेको विद्यालयका शिक्षकहरुले बताएका छन्। विद्यालयमा कक्षा दशका विद्यार्थी राख्न बनाईएको छात्राबासमा राखिएका खाद्यान्न लगायत सामाग्री पनि आगलागीबाट नष्ट भएको छ। विद्यालय जल्दा १ करोड २० लाख क्षति भएको अनुमान गरिएको छ।

अन्नपूर्ण पोष्टमा दीपक अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया