Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विद्यालय सुधार्न अभिभावक सचेतीकरण

बुधबार, ३० भदौ २०७२

काठमाडौं ३० भदौ / ‘तपार्इंलाई शिक्षकको कुन कुन कमजोरीका कारण आफ्ना बालबालिकाहरू अध्ययन गर्न कमजोर भए?’, विद्यालयका प्रधानाध्यापक जीवन लामा अभिभावकलाई प्रश्न गर्दै हुनुहुन्थ्यो– ‘शिक्षक कहाँ चुके, तपार्इं अभिभावकहरू कहाँ चुक्नुभयो ? अब कसरी विद्यालयलाई सुधार गर्ने?’

सदरमुकामसँग जोडिएको तर विकट जिल्लाको देवीटार गाविसमा रहेको एक मात्र माध्यमिक विद्यालय देवीस्थानमा गाउँ बालअधिकार संरक्षण संवद्र्धन समितिले आयोजना गरेको अभिभावक सचेतीकरण कार्यक्रममा शिक्षक र अभिभावकले खुलेरै एकअर्काको आलोचना गरे।

‘शिक्षकहरू समयमै विद्यालयमा नआउने, विद्यालय आएका शिक्षकले पनि विद्यार्थीलाई कडा अनुशासनमा राख्न नसक्ने, खुला छाडिदिने र ध्यान दिएर पाठहरू नहेर्ने गरेकै कारण हाम्रा बालबालिकाको शिक्षामा कमी भयो’, अभिभावक प्रमिला तामाङले भन्नुभयो– ‘हाम्रो कमजोरी शिक्षकको भन्दा धेरै रहेछ। बालबालिकालाई समयमै खाना खाएर विद्यालय नपठाउनु, पोसाक तथा शैक्षिक सामग्री उपलब्ध नगराउनु र बालबालिकाको कमजोरीका बारेमा विद्यालयमा आएर जानकारी नगराउनु हाम्रा मुख्य कमजोरी रहेछन्।’

‘विद्यालयका अवस्था दयनीय छ, माध्यमिक विद्यालयमा शिक्षक दरबन्दी नै छैनन्’, पूर्व गाउँ विकास समिति अध्यक्ष धावा लामाले भन्नुभयो– ‘शिक्षा कार्यालयले माध्यमिक तहको अनुमति लिँदा शिक्षक नभए पनि आफ्नै स्रोतमा विद्यालय चलाउने सर्तमा कागज गराएको छ।’

गाउँ विकास समितिले वर्षेनी शिक्षकको तलबका लागि उक्त विद्यालयमा मात्रै २ लाख ७० हजार दिँदै आएको छ। ‘विकासको आधा रकम शिक्षकको तलबमा भुक्तानी हुँदै आएको छ’, गाउँ विकास समितिका सचिव महेन्द्र राउतले भन्नुभयो– ‘गाविसमा रहेका तीनवटै विद्यालयमा शिक्षक दरबन्दी पर्याप्त नहुँदा निजी स्रोतबाट राखिएका शिक्षकलाई गाविसकै विकास रकम काटेर तलब खुवाइरहेका छौं।’ गोल्मा देवी निमावि र देवीटार निमाविलाई वार्षिक ६५ हजार शिक्षकको तलब भुक्तानीका लागि गाउँ विकास समितिले रकम दिँदै आएको छ।

देवीस्थान मावि भर्ना भएका ९८ प्रतिशत विद्यार्थी तामाङ समुदायका मात्रै छन्। अभिभावकहरूको बच्चाहरू बेवास्ताका कारण समयमै विद्यालय नआउने, विद्यालय आएका बालबालिकाहरू भोकै आउने र दिउँसो १ बजे विद्यालयबाट घर फर्कने, विद्यालय आएका बालबालिकाहरू पनि बाटोमै खेलेर बस्ने जस्ता समस्या रहेको प्रधानाध्यापक जीवन लामाले बताउनुभयो।

‘छोराछोरीलाई शिक्षा भनेको विद्यालय जा भन्नु मात्रै हो कि ? भन्ने बुझाइ अधिकांश अभिभावकको रहेको छ’, लामाले भन्नुभयो– ‘पटकपटक विद्यालयमा बोलाएर सचेत गराउँदा समेत अभिभावकलाई आफ्ना छोराछोरीको भविष्यप्रति चासो छैन।’ शिक्षकहरू एक्लैको रटानले मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुन नसक्ने लामाको भनाइ छ।

भूकम्पले विद्यालयको भवन क्षतविक्षत पारेको छ। शिक्षकहरूले भने– ‘विद्यालय जस्तै बस्ने घर पनि भत्किएको छ, भत्किएको मनले विद्यार्थीलाई राम्रोसँग पढाउन समेत सकिएन।’ भूकम्पपछि झनै विद्यालयमा विद्यार्थी नियमित नभएको प्रअ लामाले बताउनुभयो। विद्यार्थीको पोसाक, पाठ्यपुस्तक र ब्यागसमेत पुरिएकाले लगाएर विद्यालय आउनै समस्या छ। विद्यार्थीलाई नियमित विद्यालय पठाउन, शिक्षक नियमित विद्यालयमा हाजिर भई कक्षा लिन, अभिभावकहरूले समेत खबरदारी गर्न शिक्षकहरूले अनुरोध गरे। देवीटार शिक्षा, स्वास्थ्य, विकासका हिसाबले समेत पछि परेको भन्दै पूर्व गाविस अध्यक्ष धावा लामाले चेतनास्तर उकास्न थप कार्यहरू गर्नुपर्ने सुझाव दिनुभयो।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया