- छवि अनित्यका कविता, जीवन र जगतको पर्यायवाची हुन् । उनका कविताले जीवन भोगाइलाई चोटिलो पारामा अभिव्यक्त गर्ने सामथ्र्य बोक्छन् । कथा र कविता लेखनमा सकृय उनले भानु श्री रचना पुरस्कार, २०७० एवम् राष्ट्रिय कविता महोत्सव २०७१, इटहरीमा प्रथम लगायत पुरस्कार प्राप्त गरेका छन् । अनित्यको कविता संग्रह ’हल्ला’(२०७१) प्रकाशित छ । पत्रकारितामा समेत कृयाशिल उनी पेशाले शिक्षक हुन् । त्यसैले प्रस्तुत कविता पत्रकारिताको 'एङ्गल' मा शिक्षक अनुभूतिको एउटा उदाहरण पनि हो । शिक्षा साहित्य श्रृखला अन्र्तगत यो शनिवार उनकै कविता - तुइनको बाटो
तुइनमा
तुन्द्रुङ्ग झुण्डिन्छन् नानीहरु
चमेराजस्तै
र थाप्छन् ज्यानको बाजी
नानीहरु संसार जित्छन् एकदिन ।
झुण्डिदा झुण्डिदै फलामे डोरीमा
नानीहरुका खल्तीबाट खुत्रुक्क खस्छ
एउटा कलम
र नदीको सुसेलीले निल्छ त्यो आवाज ।
झोलाबाट फुत्त फुत्त खस्छन्
कापी, किताबहरु
र विलीन हुन्छन् नदीको आवेगमा ।
रित्तो झोलामात्रै बोकेर जान्छन्
नानीहरु पाठशाला
र फर्कन्छन् रित्तै मस्तिष्क ...
पाठशालादेखि फर्कँदै गर्दा तुइनको बाटो
कतै फुत्त नखसोस्
नानीहरुले बोकेका रित्ता झोलाहरु
रित्तै झोलाहरु बोकेका रित्ता नानीहरु
रित्ता नानीहरुका रित्ता मस्तिष्कहरु
कमसेकम जानून् यी नानीहरुले
सिंहदरबार कुन बाटो भएर पुगिन्छ ।
उनको अर्को कविता पढ्नुहोस् : सीताराम दाइ
प्रकाशित मिति २०७३ जेठ २२ गते
प्रतिक्रिया