Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

रुकुम अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणाको तयारीमा

शुक्रबार, ०१ असोज २०७२

काठमाडौं १ असोज / रुकुम जिल्ला अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणाको तयारीमा जुटेको छ। विभिन्न गाविसहरू धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणा भइरहेका छन्।

गत फाल्गुनमा रुकुमको मुरू गाविसलाई जिल्लाकै पहिलो अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणा गरिएको थियो। त्यसपछि स्यालापाखा, दुलीलगायतका गाविसहरूमा मापदण्डका आधारमा सो घोषणा गर्न थालिएको। बाँफिकोट गाविसलाई हालै मात्र अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणा गरिएको छ।

जिल्ला शिक्षा कार्यालय रुकुम तथा शिक्षासँग सरोकार राख्ने निकायले गरेको विशेष अभियान सफल भएपछि ती गाविसहरू अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा प्रदान गर्ने गाविस भएको हुन्। सेभ द चिल्ड्रेन र गाविस कार्यालयको आर्थिक सहयोग, बाल सरोकार केन्द्र रुकुमको प्राविधिक सहयोग तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा गाउँ शिक्षा समितिले अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा गाविस घोषणा गरेका हुन्।

बाँफिकोट गाविसलाई राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणा गरेका हुन्। विशेष गरी बाँफिकोट गाविसमा विशेष परिस्थितिमा रहेका र शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरूको शिक्षामा पहुँच सुनिश्चित गर्ने, गाविसभित्र रहेको विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकाहरू बिनाशुल्क उनीहरूको क्षमताअनुसारको शिक्षामा सहभागिता सुनिश्चित गर्ने, बाल सुलभ तथा बालमैत्री विद्यालय निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने, निरन्तर विद्यार्थी मूल्यांकन प्रणली र बालमैत्री शिक्षण सिकाइ प्रक्रियालाई लागू गर्ने, विद्यालय शिक्षाको विषयमा गाविसभरिका सम्पूर्ण विद्यालयहरूसँग एक–आपसमा समन्वय कायम गरी हरेक विषयमा एकरूपता कायम गर्ने मुख्य उद्देश्य राखी घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ।

जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले सो गाविसले अनिवार्य तथा निःशुल्क आधारभूत प्राथमिक शिक्षा घोषणाका केही मापदण्ड पूरा गरेका कारण घोषणा भएको बताए। सेभ द चिल्ड्रेनका रुकुम संयोजक प्रमोद न्यौपानेले सबै गाविस अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा गाविस निमार्णका लागि क्रियाशील भएको बताए।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया