Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

अक्षर चिनेपछिको उज्यालो

शुक्रबार, १८ भदौ २०७२

- श्याम दाहाल / काठमाडौं १८ भदौ / जीवनमा अक्षर चिन्दा र नचिन्दा के फरक हुन्छ ? उत्तरमा चावहिल कुमारीगालकी सानुमैया फुयालको मुस्कान काफी छ ।

५२ वर्षसम्म निरक्षर फुयाल यतिखेर ५५ वर्षमा हिंड्दैछिन् । ‘यो उमेरमा पढ्न पाउँदा र अक्षर चिन्दा एकदमै खुशी लाग्दो रहेछ’, उनले सुनाइन्, ‘नाम लेख्न जान्दैछुु, तर लेख्न भन्दा पढ्न सजिलो लाग्छ ।’

अक्षर चिनेपछि उनलाई लाग्यो संसार देखे भन्दा पनि उज्यालो रहेछ । यो छुट्टै उज्यालो संसार देखाउन उनलाई छोराले हौस्याए । जसलाई उनले यो संसार देखाएकी थिइन् । ‘२०६९ सालमा म पहिलो पल्ट महिला विद्यालयमा भर्ना भएकी थिएँ,’ अनौपचारिक शिक्षा केन्द्रले हालै गरेको एउटा कार्यक्रममा गफिँदै उनले भनिन्, ‘अहिले म कक्षा ३ मा पढ्दैछु । हेर्दा हेर्दै म पनि पढ्न लेख्न सक्ने भएँ ।’

छोराले भर्ना गरिदिए, तर पढ्न उनलाई परिवारलेनै सघाइरहेको छ । श्रीमान्ले महिनाको ५ सय फि तिरिदिएका छन् । उनलाई लाग्छ, ‘अक्षर चिनेपछि धेरैथोक चिनिन्छ । र त उनी पढाइलाई निरन्तर गर्न चाहन्छिन् ।

सिक्न उमेरले छेक्दैन । अर्की उदाहरण हुन्, कुम्भेश्वर सामुदायिक केन्द्रमा अध्ययनरत त्रीलक्ष्मी शाक्य । उनी ७५ वर्षकी भइन्, उनलाई लाग्यो पढ्ने र सिक्ने कुरामा उमेरको बारबन्देज किन ? ‘अनि दुई वर्ष अघि स्कुल भर्ना भएँ, आफ्नो सिकाइबारे शाक्यले विगत सम्झिइन्, ‘ प्रौढ कक्षा जान थालेपछि विस्तारै अक्षर चिनेँ, अब नाम लेख्न सक्ने भएँ ।

अनौपचारिक शिक्षाको सिकाइ बारे फुयाँल र शाक्य दुवैको कुरा उस्तै छ । दुवैलाई पढ्न सजिलो लाग्छ, लेख्न अलिक अप्ठेरो । त्यसको कारण भने उनीहरुले थाहा पाएका छैनन् । विज्ञहरु यसलाई उमेरका कारणले पढ्न भन्दा लेख्न सजिलो लाग्ने बताउँछन् ।

फुयाल र शाक्य दुवैले पहिले अक्षर चिने । अनि शब्द । अक्षर र शब्दको चिनाइ भन्दा पनि उनीहरुको खुसी चाहि आफ्नो नाम लेख्न जानेकैमा छ । र सानुमैंयालाई पुरानो विद्यालय भवन, शौचालयको अभाव र खानेपानीको अपर्याप्त व्यवस्था जस्ता समस्याले अलिक धेरै सताएको छ । उमेर अनुसारका कक्षा कोठा र बस्ने बेन्च भैदिए हुन्थ्यो झैं लाग्छ ।

यी दुई पात्र अनौपचारिक सिकाइबाट अक्षर चिन्नेमध्ये केही उदाहरण मात्रै हुन् । अनेक समस्यावीच यसरी अक्षर चिन्ने र संसार उज्यालो देख्ने पात्र समाजमा सयौँ छन् । जसलाई अनौपचारिक शिक्षा केन्द्र मार्फत राज्यले सघाइरहेको छ ।

उनीहरुले यस्तो अनौपचारिक कक्षामा अक्षरमात्रै चिनेका छैनन् अभिव्यक्ति, समस्या पहिचान, त्यसको निराकरणबारे पनि ज्ञान पाएका छन् ।
यस्तै कक्षाका कारण प्रौढहरुको निरक्षरता दर घट्दै गएको तर्क गर्छन् अनौपचारिक शिक्षा केन्द्रका उप निर्देशक विष्णु मिश्र । उनका अनुसार सरकारले २०६५ सालदेखी २०७१ साल सम्म साक्षरता अभियानमा साढें ६ अर्ब रुपैया खर्चेको छ । देशका सबै उमेरका नागरिकलाई साक्षर बनाउने अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार नेपालले १५ वर्षे कार्ययोजना बनाएर काम गरिरहेको छ । त्यसमा हामीले केही सफलता प्राप्त गरेका छौं, उनले एडुखबरसित भने । सरकारले साक्षरता अभियान लागू गरेका मध्ये १९ जिल्लाहरुलाई निरक्षर उन्मूलन घोषणा गरेको छ ।

तथ्यांक अनुसार २०६५ सालमा निरक्षर प्रौढहरुको संख्या ७८ लाख थियो । त्यसको तीन वर्षपछि निरक्षरहरुको संख्या झन्डै २८ लाख घटेको अनौपचारिकको दावी छ । विश्लेषकहरु भने कक्षा दोहोरिने दरका कारण निरक्षर पनि बढी देखिएको र साक्षरको संख्या पनि त्यति भर पर्दो नभएको टिप्पणी गर्छन् । पछिल्लो तथ्यांक अनुसार अहिले नेपालमा करिब ४१ लाख प्रौढ तथा स्कुल उमेर जाने भन्दा बाहेकका व्यक्ति निरक्षर रहेको देखिन्छ ।

लक्षित समूहको निरक्षरता उन्मूलनका लागि सरकले देशभर २ हजार १ सय ५१ वटा सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको छ । जहाँ शाक्य र फुयालजस्ता पाका उमेरका निरक्षरहरु पढ्छन् । महिला र विशेषगरी विद्यालय उमेर नाघेकाहरुका लागि केही महिला विद्यालय पनि सञ्चालित छन् । यस्ता अनौपचारिक सिकाइ केन्द्रहरुमा अध्ययन पूरा गरेकालाई विद्यालयमा कक्षा ३ पूरा गरे सरहको मान्यता दिइने गरेको छ । अनौपचारिकले सरकारी घोषणा अनुसार सन् २०१५ भित्रमा निरक्षर उन्मुलन गर्ने लक्ष्य लिएको मिश्रले बताए ।

प्रतिक्रिया