काठमाण्डु - अपाङ्गता भएकै कारण कुनै पनि बालबालिका पढाईबाट बञ्चित हुन नपरोस् भनेर शुरु १ कप चिया अभियानले ११ जना बालवालिकालाई पाठ्य सामग्री सहयोग गरेको छ । उदयपुरको तावाश्री गाविस स्थित धुवाजन माध्यमिक विद्यालय, बाहुनीटारमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाइ करिब १ लाख रूपैयाँ बराबरको सहायक सामग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त विद्यालय उदयपुर सदरमुकामबाट ७५ किलोमिटर टाढा पर्छ ।
काठमाडौंमा सञ्चालित ‘अपाङ्गता भएका बालबालिका लागि १ कप चिया अभियान’ बाट ५४ हजार ३ सय २० रुपैंया संकलन भएको डिस्एविलिटी मिडिया फाउण्डेशनका अध्यक्ष तथा अभियानका संयोजक गजेन्द्र बुढाथोकीले बताए ।
बाँकी रकम उदयपुर स्थित प्रकृति प्रेमी समूह र गाईघाट साइकल सिटीको संयोजनमा संकलन गरिएको उनले बताए । 'अपाङ्गता र गरिबी बिच आपसमा अन्योन्याश्रित सम्बन्ध हुन्छ जुन परिवारमा घरमुली अपाङ्गताका अवस्थामा छन्, त्यो परिवारमा गरिबीको अनुपात पनि बढी हुन्छ' बुढाथोकीले भने, 'सरकारले अपाङ्गता भएका बालबालिकालाई पढाउन सरकारी विद्यालयहरूमा स्रोत कक्षाको व्यवस्था गरे पनि त्यहाँ अन्य सहायक सामग्रीको निकै अभाव देखिएकोले सहयोग गरेका हौं ।'
यही समस्यालाई मध्यजनर गर्दै अभियानले सुरूमा उदयपुर जिल्लाका विभिन्न ९ विद्यालयका स्रोत कक्षामा अध्ययनरत १०८ जना अपाङ्गता भएका बालबालिकाहरू मध्ये अति आवश्यकता भएका बालबालिकाका लागि सहायक सामग्री जुटाउन शुरु गरेको उनले बताए ।
सुनाइ सम्बन्धी अपाङ्गता (बहिरोपन) भएका विद्यार्थीलाई ६० भन्दा बढी पाठ्यपुस्तक, अभ्यास पुस्तिका, सिसाकलम, ह्वाइट बोर्ड, मार्कर सहित खेलकुदका सामग्री समेत उपलब्ध गराएको छ । उक्त सहयोगमा सिरक डसना सहित बालबालिकालाई आवश्यक अन्य दैनिक आवश्यकताका सामग्री समेत समावेश गरिएको उनले बताए ।
प्रकाशित मिति २०७३ जेठ १६
प्रतिक्रिया