काठमाडौं १६ जेठ / राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए ।
बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप पढाइ सुरु गरेपछि विद्यार्थीहरूलाई होस्टलमा राखिएको थियो ।
शिक्षकको पिटाइबाट १० कक्षाकी छात्रा ऐश्वर्या शर्मा, सिसम पोखरेल, अप्सना नेपाल र शुभकामना कुशवाह बिरामी परेका छन् । पिटाइबाट ज्वरो आएपछि विद्यालयले नजिकैको मेडिकलबाट एन्टिबायोटिक ल्याएर खुवाउँदा पनि जानकारी नगराएको अभिभावकको गुनासो छ ।
विद्यालयमा आफ्ना छोरी सुरक्षित नभएको भन्दै पाँच विद्यार्थीलाई अभिभावकले शनिबार घर ल्याएका छन् । ‘कुटाइबाट अझै ज्वरो आइरहेको छ,’ अप्सनाकी आमाले भनिन्, ‘छोरीलाई कुटेको देखेर पीडाले हामी पनि चिन्तामा छौं ।’ कुटाइको पीडा सहन नसकेर अप्सना शुक्रबार बेहोस भएको उनकी साथीले बताइन् । छोरीको नीलडाम देखेपछि सहन नसकेर यसरी फिर्ता ल्याएका अभिभावकहरू बताउँछन् ।
बुधबार साढे ६ बजे होस्टेलको कक्षामा नपुगेको भन्दै होस्टेल वार्डेन ज्ञवालीले २३ छात्रालाई पिटेको विद्यार्थीहरूले बताए । ‘नियमित कक्षा सकाएर होस्टेल रुममा मोजा धुँदा तीन मिनेट ढिला पुगेका थियौं,’ एक विद्यार्थीले भनिन्, ‘किन ढिला आएको भन्दै पाइपले जथाभावी हान्नुभयो । रोयो भने थप हान्ने चेतावनी दिएपछि सहेर बस्यौं ।’
पाइपले हानेपछि बेन्चमा बस्न पनि नसकेको विद्यार्थी बताउँछन् । त्यस दिन राति १० बजेसम्म पीडा सहेरै कक्षामा बसेको पनि उनीहरूले बताए । ‘कोठामा आएपछि एकले अर्कोको घाउ हेर्दै रोयौं,’ एक विद्यार्थीले भने, ‘सबैको नीलो डाम देख्यौं ।’ आफ्नो समस्या सुनाउनसमेत नभ्याई अन्धाधुन्ध कुटेको विद्यार्थीहरू बताउँछन् ।
कुटाइबाट बिरामी छात्रालाई विद्यालयले नजिकैको शुभकामना मेडिकलमा परीक्षण गराएर औषधि खुवाएको थियो । ‘एन्टिबायोटिक खुवाइरहेको रहेछ,’ एक अभिभावकले भने, ‘तर, हामीलाई खबर गरेनन् ।’
केही अभिभावकले आफ्नो छोरी बिरामी भएको शुक्रबार अपराह्न मात्रै थाहा पाए । आमालाई खुला ठाउँमा घाउ देखाउन नसकेपछि उनीहरूले शौचालयमा लगेर देखाएका थिए ।
घरमा आमाबुबाले ठूलो स्वरले बोल्दा पनि पिलपिल आँसु झार्ने बालिकालाई पाइपले हानेको जानकारी अभिभावकले तीन दिनपछि मात्रै थाहा पाए । ‘छोरीलाई कुटेको शुक्रबार राति मात्रै थाहा पाएँ ।
छोरीलाई किन पिट्यो भनेर रातभरि सुत्न सकिन,’ शुभकामनाकी आमाले भनिन्, ‘जाँघभन्दा माथि हिर्काएको रहेछ । अझै नील छ ।’ यातना थाहा पाएपछि विद्यालय पुगेका अभिभावकहरूले छोरीको अवस्था देखेर आक्रोश मात्रै पोखेनन्, पाइपको नीलडाम देखेर रोए ।
‘गोरुलाई जस्तो कुट्ने गरी मेरो छोरीले के बिगारिन् ?’ विद्यालयका निर्देशक दुर्गाजंग केसीलाई प्रश्न गर्दै एक अभिभावकले भने, ‘अपराधीलाई त पिट्न पाइँदैन । छोरीलाई पिट्ने शिक्षकलाई कारबाही गरियोस् । मेरो बच्चा यहाँ राख्नु छैन, घरमै लैजान्छु ।’
अर्का शिक्षक भीम धिमालले पनि बारम्बार यातना दिने गरेको विद्यार्थीहरूले बताएका छन् । बुधबार शिक्षक वसन्तले पिटेको कुरा अभिभावकलाई भनेको भन्दै धम्क्याएपछि उनीहरू झन् त्रासमा छन् ।
‘शिक्षकको यातना कति दिन खपेर बस्ने ? अब त कहिले निस्केर जाउँजस्तो भएको छ,’ एक विद्यार्थीले भनिन् । केएमसीले १० कक्षामा भर्ना शुल्कबापत १० हजार लिएको थियो भने होस्टेलमा राख्न फेरि भर्ना शुल्क भन्दै १८ हजार लिएको अभिभावकले जनाएका छन् । ‘यति धेरै पैसा तिरेपछि राम्रो शिक्षा देला भनेको, यातना पो दिँदो रहेछ,’ एक अभिभावकले भने ।
विद्यालयका निर्देशक दुर्गाजंग केसीले शिक्षकले गल्ती गरेको भन्दै अभिभावकसँग बारम्बार माफी मागिरहेका थिए । ‘हामीले नसोचेको गल्ती भयो,’ उनले कान्तिपुरसित भने, ‘अब यस्तो हुन दिँदैनौं । सुरक्षाको ग्यारेन्टी गर्छौं ।’
कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।
प्रतिक्रिया