Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

छ हजार बालबालिका विद्यालय बाहिर

विहीबार, १३ जेठ २०७३

काठमाडौँ, १४ जेठ । गत हप्तामात्रै रुकुमलाई साक्षर जिल्ला घोषणा गरिए पनि जिल्लामा अझै पाँच हजार ७६२ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा विभिन्न कारण यति धेरै बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको प्रतिवेदन जिल्ला बाल कल्याण समिति, रुकुमले सार्वजनिक गरेको हो । 

खलङ्गामा बिहीबार आयोजित एक कार्यक्रममा रुकुम जिल्लामा अहिले खासगरी बाल विवाह, बाल यौन दुव्र्यवहार, बालश्रमिक, बालबालिका ओसारपसार, द्वन्द्वपीडित बालबालिकालाई संरक्षणको अभावलगायतका समस्या रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

बाल अधिकार अधिकृत मानवीर ओलीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा ५७ प्रतिशतको बालविवाह हुने गरेको छ । त्यसैगरी २७ जना बालबालिका श्रमिक रहेका छन् भने ११८ जना बालबालिका संरक्षणविहीन छन् । 

जिल्लामा ८३८ जना द्वन्द्वपीडित बालबालिका छन् । एकचालीस जना बालबालिकालाई जिल्ला बाहिर काम गराउन लैजाँदै गर्दा उद्धार गरी आफन्तलाई बुझाइएको र जोखिममा परेका ११ जना बालबालिकालाई उनीहरुको व्यवस्थापनका लागि जिल्ला बाहिर पठाइएको बताइएको छ । 

कार्यक्रममा सहभागी भएका जिल्लामा काम गर्ने विभिन्न गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुले बालबालिकाको समस्या समाधानका लागि ठोस कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । 

यसका साथै सहभागीहरुले जिल्लाका सबै गाविसमा गाउँ बाल संरक्षण समिति गठन गरी सक्रिय बनाउनुपर्ने, विद्यालयमा बालबालिकाको समस्या न्यूनीकरणका लागि अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नुपर्ने, जिल्लामा जोखिममा परेका बालबालिकाका लागि पुनःस्थापना केन्द्रको निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । 

रासस 

 

प्रतिक्रिया