Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

डा. केसीको स्वास्थ्य कमजोर

बुधबार, ०६ असोज २०७२

काठमाडौं ६ असोज / चार दिनदेखि आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खतरोन्मुख हुँदै गएको छ।

छैटौं अनशनमा देखिएका स्वास्थ्य समस्याको उपचार नसकिँदै सातौं अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था चौथो दिनदेखि नै निकै कमजोर बन्दै गएको चिकित्सकले बताएका छन्।

दोस्रो दिनदेखि नै पिसाबमा एसिटोन बढी देखिएको छ। तेस्रो दिनदेखि स्लाइन सुरु गरिएको छ। उनलाई छातीको दुखाइ र रक्तचाप कम हुने र माशंपेसी दुखाइ सुरु भइसकेको अस्पतालका चिकित्सक वाइपी सिंहले बताए। चिकित्सकले श्वासप्रश्वासमा समेत समस्या सुरु भएकाले मंगलबार रातिदेखि नै अक्सिजन चलाउन तयारी गरेका छन्।

सिंहका अनुसार १४ दिन लामो अनशनबाट कमजोर भएको स्वास्थ्य अवस्थामा सुधार नआइसकेकाले उनको शरीरले धेरै दिन धान्न कठिन छ। भदौ २० गते अन्त्य भएको छैटौं अनशन क्रममै उनमा संक्रमण देखिएको थियो। त्यसको उपचार नसकिँदै सातौ अनशन घोषणा गरेका हुन्। शरीरमा सूक्ष्म पोषक तŒव निकै तल पुगेर रोगप्रतिरोधात्मक क्षमता कमजोर भइसकेका डा. केसीलाई सहकर्मी र सहयोगीले अनशन नबस्न आग्रह गरे पनि उनले टेरेनन्।

चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनको भावनाविपरीत चिकित्सा शिक्षा आयोग गठन र सम्बन्धनको बाटो खुला राख्ने सरकारी निर्णयविरुद्ध डा. केसी चार दिनदेखि आमरण अनशनमा छन्। माथेमा कार्यदलले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षलाई कार्यकारी पद बनाउने भने पनि सरकारले उपाध्यक्षलाई प्रशासनिक पद बनाएर अध्यक्षसमेत शिक्षामन्त्रीलाई बनाएको छ। त्यसैगरी, सदस्य पनि पार्टीनिकटलाई बनाएर विज्ञहरु नै नराखेको डा. केसीको आरोप छ।

नागरिकमा खबर छ ।

प्रतिक्रिया