Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

आन्दोलनले बन्द भएपछि सडकमै कक्षा

बुधबार, ०६ असोज २०७२

काठमाडौं ६ असोज / थरुहट आन्दोलनले दाङ -लमही बजार मंगलबार पनि ठप्प थियो। अघिल्लो दिनजस्तो फाट्टफुट्ट गाडीसमेत थिएनन्। बजारपसल सबै बन्द। बिहान १० बजे एक हुल बालबालिका सडकमा देखिए।

भिरेको झोला उतार्दै बीच सडकमा थचक्क बसे। किताब झिके अनि पढ्न थाले। तिनैमध्येका एक विद्यार्थी शिक्षकको भूमिका निर्वाह गर्दै थिए।

केही बेरमै स्थानीयको भिड जम्मा भयो। विद्यार्थीका क्रियाकलाप नियालिरहेका उनीहरू सडकमा के चलिरहेछ, बु‰न सकिरहेका थिएनन्।

लामो समय विद्यालय ठप्प भएपछि आजित विद्यार्थीले आन्दोलनकारीलाई पढाइमा अवरोध नगर्न दबाब दिन सडकमै कक्षा सञ्चालन गरेका हुन्। पढ्न नपाउनुको पीडासँगै उनीहरूमा आन्दोलनकारीप्रति चरम असन्तुष्टि छ। संविधान जारी भएपछि समस्या समाधान हुने आसमा बसेका विद्यार्थी आन्दोलनकारीले विद्यालय बन्दलाई अझ कडाइ गरेपछि निराश छन्।

'स्कुल गएँ तर पढाइ भएन, अनि फर्किएर सडकमा पढ्यौं,' कक्षा १० की निशा पोख्रेलले भनिन्, 'हामीमाथि यस्तो सजाय किन होला?' संविधान बनेपछि सबैका अधिकार सुनिश्चित हुने समाचार उनले पटकपटक सुन्दै आएकी उनले प्रश्न गरिन्– 'हाम्रो पढ्न पाउने अधिकार खोइ कहाँ सुनिश्चित छ?'

भदौ २७ गतेदेखि विद्यालय बन्द नगर्ने सहमति जनाएका थरुहट आन्दोलनकारीले मंगलबार पुनः पढाइ अवरोध गरेका छन्। थरुहट–थारुवान संयुक्त संघर्ष समितिले संविधान जारी भएको विरोधमा विद्यालय ठप्प पारिएको विज्ञप्तिमार्फत जनाएको छ।

लगातार बन्दले आफूहरूको भविष्य बिग्रने भन्दै विद्यार्थीले पढाइ नरोक्न आन्दोलनकारीसँग आग्रह गरेका छन्। 'स्कुल जान नपाउँदा पढेको कुरा बिर्सिसकियो, अब परीक्षा कसरी दिने?,' कक्षा ४ मा अध्ययनरत अनुराग गुप्ताले भने, 'स्कुल खोल्दिनुस्, हामी पढ्न चाहन्छौं।'

सडकमा कक्षा सञ्चालनपछि पढ्न पाउनुपर्ने नारा लेखिएका प्लेकार्डसहित विद्यार्थीले बजार परिक्रमा गरेका थिए। उनीहरूलाई अभिभावकले पनि साथ दिएका थिए। अभिभावकले पनि सन्ततिको भविष्य अन्योलमा परेको भन्दै चिन्ता व्यक्त गरे। देउखुरीमा १ सय ३७ सरकारी र ५५ निजी विद्यालय छन्। उक्त क्षेत्रका २४ हजार विद्यार्थी स्कुल जानबाट वञ्चित छन्।

नागरिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया