Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उपत्यकामा झन्डै १५ सय निरक्षर

विहीबार, ०७ असोज २०७२

काठमाडौं ७ असोज / काठमाडौं उपत्यकामा झन्डै १५ सय निरक्षर रहेको पाइएको छ । गाउँ विकास समितिविहीन काठमाडौं र भक्तपुरमा १५ देखि ६० वर्ष उमेर समूहका एक हजार चार सय ४६ निरक्षर रहेको पाइएको हो ।

उपत्यकाको अर्को जिल्ला ललितपुर भने पूर्ण साक्षर घोषणा भइसकेको छ । तुलनात्मक रूपमा उपत्यकाका अरू जिल्लाभन्दा बढी दुर्गम ठाउँ रहेको ललितपुरमा भने शतप्रतिशत साक्षर रहेका छन् । अनौपचारिक शिक्षा केन्द्रका अनुसार काठमाडौंमा आठ सय १५ र भक्तपुरमा ६ सय ३१ निरक्षर रहेका छन् ।

शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमै निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । तर, उपत्यकामा केही निरक्षर रहेका छन् । अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले उपत्यकामा निरक्षर रहेकालाई साक्षर हुन अवसर दिने बताए।

निर्देशक पौडेलले काठमाडौं र भक्तपुरमा निरन्तर शिक्षाको कार्यक्रम रहेको र साक्षर हुन अवसर दिइने बताए । उनले भने, ‘निरन्तर शिक्षाको कार्यक्रममा लेभल १ र लेभल २ भनेर राखेका छौँ, निरक्षरलाई लेभल १ मा राखेर साक्षरता कार्यक्रममा समावेश गर्छौँ ।’

नेपालमा १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता दर ९५ दशमलब ५४ प्रतिशत पुगेको छ । साक्षरता अभियान तथा कार्यक्रम सञ्चालन गरेको अनौपचारिक शिक्षा केन्द्रले ६० वर्षसम्मका मानिसको साक्षरता ९५ दशमलब ५४ पुगेको जनाएको हो । ०६७ को घरधुरी सर्वेक्षणमा निरक्षरको संख्या ५१ लाख ७३ हजार नौ सय ७९ रहेकामा त्यसपछि अभियान र कार्यक्रम सञ्चालन भइसकेपछि ४७ लाख ८५ हजार तीन सय ५२ साक्षर भइसकेका छन् ।

केन्द्रले घरधुरी सर्वेक्षणमा निरक्षर पाइएकामध्ये अहिले दुई लाख ८३ हजार नौ सय १३ अर्थात् सात दशमलब पाँच प्रतिशत मात्र निरक्षर रहेको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । ००७ सालमा दुई प्रतिशत रहेको साक्षरता दर पछिल्ला वर्षमा धेरै बढेको छ । ०५८ को जनगणनाअनुसार साक्षरता दर ६५ दशमलब नौ प्रतिशत रहेको थियो । ०६८ मा बढेर ६५ दशमलब नौ प्रतिशत साक्षर भएको पाइएको थियो ।

सरकारले ००४ सालमा साक्षरता शिक्षाको सुरुवात गरेको थियो । त्यसपछि सामान्य रूपमा साक्षरता कार्यक्रम सुरु गरेका थिए । ०६५/६६ मा राष्ट्रिय साक्षरता अभियानका रूपमा साक्षरता कार्यक्रमलाई देशव्यापी बनाइएको थियो । त्यतिवेला ७८ लाख निरक्षरलाई दुई वर्षभित्र साक्षर बनाउने लक्ष्य राखिएको थियो ।

सन् २००१ मा नेपालले सन् २०१५ भित्र सम्पूर्ण निरक्षर नागरिकलाई साक्षरता शिक्षा प्रदान गरी देशबाट निरक्षरता उन्मूलन गर्ने प्रतिबद्धताको राष्ट्रिय कार्ययोजना निर्माण गरेको थियो । सो लक्ष्यमा सरकार सफल हुन सकेन । ०६७/६८ मा निरक्षरको तथ्यांक संकलन गरिएको थियो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया