Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मौसम पुस्तक प्रदर्शनीको

विहीबार, ०७ असोज २०७२

काठमाडौं ७ असोज / लामो समयदेखि साझा प्रकाशन विवाद र समस्यामा फस्दै आएको छ। यही कारण तीन वर्षदेखि बृहत् पुस्तक प्रदर्शनी रोकिएको थियो। यसपटक मंगलबारदेखि प्रदर्शनी सुरु गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानसँग मिलेर साझाले संयुक्त रूपमा ‘बृहत् पुस्तक प्रदर्शनी’ थालेको हो। शिक्षा मन्त्री चित्रलेखा यादवले प्रदर्शनीको उद्घाटन गरिन्। उनले पठन संस्कृति विकासमा यस्ता प्रदर्शनीले सघाउने दाबी गरिन्।

संस्थागत अस्थिरताका कारण केही वर्षदेखि प्रदर्शनी गर्न नपाएको साझाले यसपटक दर्जन प्रकाशन गृह र ५ सयभन्दा बढी लेखकका किताब समेटर प्रदर्शनीको आँट गरेको हो। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माका अनुसार कला, साहित्य, संस्कृति, आर्थिक, सामाजिक, भौगोलिक, धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक लगायतका विधा समेटिएका पुस्तकहरू प्रदर्शनीमा छन्। सात वर्षदेखि साधारणसभासमेत गर्न नसकेको साझाले प्रदर्शनीलाई ‘संस्था बचाउन’ भनेको छ। असोज १६ गते साधारणसभाको समेत तयारी भइरहेको शर्माले दाबी गरे।

यो प्रदर्शनीमा १ करोड रुपैयाँको किताब बेच्ने विश्वास लिएको शर्माले जनाए। ‘पाँच विकास क्षेत्रमै प्रदर्शनी विस्तार गर्नेछौं,’ उनले दाबी गरे, ‘यसबाट करिब ८ करोड रुपैयाँको पुस्तक बिक्री हुने अनुमान छ।’ साझाको बैक ऋण तिर्न र कर्मचारीको तलब किताब बेचेरै पूरा गर्ने उनले बताए। उनका अनुसार साझामा २२ करोडका पुस्तक थन्किएका छन्। ‘बिक्री नभएर होइन, बजारमा नपुगेर हो,’ शर्माले भने, ‘यसपटक जनही २० हजार रुपैयाँको किताब किनिदिन अनुरोध गर्दै सभासदलाई समेत चिठी लेखेका छौं।’

प्रदर्शनीमा भने पाठकको सहुलियतका लागि २५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। मन्त्री यादवले समाजमा ज्ञानको विकासमा पुस्तकले सघाउने बताउँदै प्रदर्शनीलाई ज्ञानको मेलाको रूपमा व्याख्या गरिन्। अध्यक्ष शर्माले ‘बौद्धिक सामग्रीको पठनबिना समाज सुसंस्कृत नहुने दाबी गर्दै साझाले पाठक र प्रकाशकबीचको अन्तरसम्बन्ध सुमधुर बनाउन पनि प्रदर्शनीलाई निरन्तरता दिने दाबी गरे।

प्रदर्शनीमा प्रतिष्ठानका पुस्तकहरू पनि राखिएका छन्। प्रतिष्ठानका भने खोज र अनुसन्धानमूलक किताबहरू बढी छन्। प्रतिष्ठानबाट प्रकाशित परिमार्जित नयाँ ‘बृहत् नेपाली शब्द कोष’ पनि प्रदर्शनीमा छ। भाषामा व्याकरणको समस्या सुल्झाउने हेतुले प्रतिष्ठालने पछिल्लो नयाँ संस्मरणका रूपमा ‘बृहत् नेपाली शब्दकोष’ ल्याएको प्रतिष्ठानकी प्रकाशन र जनसम्पर्क प्रमुख सन्ध्या पहाडीले बताइन्। प्रदर्शनी २४ गतेसम्म जारी रहनेछ।

अर्को पुस्तक मेला पनि हुँदै

पठन संस्कृति प्रवद्र्धनको ध्येयसाथ राजधानीमा शुक्रबारदेखि अर्को पुस्तक प्रदर्शनी पनि हुने भएको छ। ‘बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव’ नाम दिइएको ११ दिने प्रदर्शनी रिड एन्ड ग्रो रिच र डिकुरा पब्लिकेसनले गर्न लागेका हुन्। प्रदर्शनीको उद्घाटन सामान्य प्रशासन मन्त्री लालाबाबु पण्डितले गर्ने सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। हरेक दिन साहित्यिक बहस, पुस्तक लोकार्पण, कविता तथा मुक्तक वाचनसहित विविध साहित्यिक कार्यक्रम हुनेछन्।

कान्तिपुरमा मधु शाहीको खबर

प्रतिक्रिया