Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

थप दुई विश्‍वविद्यालयमा उपकुलपति नियुक्त

शुक्रबार, ०८ असोज २०७२

काठमाडौं ८ असोज / रधानमन्त्री सुशील कोइरालाले पोखरा र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। ती दुवै विश्वविद्यालय गत साउन २२ गतेदेखि उपकुलपतिविहीन थिए।
 
कुलपतिको हैसियतले कोइरालाले एमाले निकट प्राध्यापकको भागमा परेका दुवै विश्वविद्यालयमा बुधबार उपकुलपति नियुक्त गरेका हुन् । पोखरा विविमा चिरञ्जीवी शर्मा र मध्यपश्चिमाञ्चल विविमा उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ।
शर्मा महेन्द्ररत्न क्याम्पसका प्राध्यापक हुन्। उनले यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयमा निमित्त नियन्त्रक भएर काम गरिसकेका छन्।

कोइराला भने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख हुँदा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कारबाहीका लागि सिफारिस भएका व्यक्ति हुन्।
 
क्याम्पस प्रमुख रहँदा कोइरालाले अनियमितता गरेको विषयमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका प्रमुख डा. सूर्यमणि अधिकारीको संयोजकत्वमा गठन भएको समितिको प्रतिवेदनका आधारमा अख्तियारले कारबाहीका लागि सिफारिस गरेको हो।
 
अख्तियारले २०५९ फागुन २० गते त्रिविलाई पत्र पठाएर कोइरालालाई कारबाहीको सिफारिस गरे पनि कारबाहीको विवरण प्राप्त नभएको अख्तियारको २०७०/७१ को प्रतिवेदनमा उल्लेख छ।
 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले धेरै अगाडिको घटना भएकाले आफूलाई जानकारी नभएको बताए। 'म पनि भर्खर उपकुलपति भएर आएको हुँ। त्यसैले कारबाहीका विषयमा अहिले केही भन्न सक्दिनँ।'
 
कोइराला एमाले निकटका प्राध्यापक हुन्। उनी नेपाल आयल निगमका कार्यकारीनिर्देशक र उच्च माध्यमिक शिक्षापरिषद्मा उपाध्यक्षसमेत भइसकेका छन्।
मुलुकका नौमध्ये सातवटा विश्वविद्यालयमा उपकुलपतिको पदावधि सकिएको थियो।
 
पाँचवटामा भने यसअघि नै नियुक्त गरिएको थियो। त्रिभुवन, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र नेपाल संस्कृतमा कांग्रेस निकट र कृषि तथा बन विश्वविद्यालयमा एमाओवादी निकट प्राध्यापकलाई नियुक्त गरिसकिएको छ।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया