Edukhabar
विहीबार, २९ कार्तिक २०८१
खबर/फिचर

विद्यालय पुनःनिर्माणमा पूर्व शिक्षक र विद्यार्थी

विहीबार, ३० बैशाख २०७३

- कालिका खड्का / प्रजातन्त्र आउनुअघि स्थापना भएको सुस्पा क्षमावती उच्च माध्यमिक विद्यालय भूकम्पले पूर्ण क्षति भयो । पुनःनिर्माणमा ढिलाइ भएपछि पूर्व शिक्षक र विद्यार्थी अहिले विद्यालय निर्माणमा जुटिरहेका छन् । 

भूकम्प गएको एक वर्ष बितिसक्दा पनि सरकारले विद्यालय पुनःनिर्माण गर्न सुरसार नगरेपछि सो विद्यालयका पूर्व शिक्षक, विद्यार्थी र स्थानीय जनता नै विद्यालय निर्माणमा जुटेका हुन् । 

गत वैशाख १२, १३ र खासगरी २९ गतेको भूकम्पको केन्द्रबिन्दु नै दोलखाको सुनखानीमा पर्दा विद्यालयको छ वटा भवन पूर्णरुपमा क्षति भएको थियो । भौतिक रुपमा निकै सम्पन्न र सुन्दर विद्यालय भूकम्पपछि माटोमा मिल्न पुग्यो । 

विद्यालयको पुनःनिर्माण गर्न विद्यालय परिवारलाई पूर्व शिक्षक विद्यार्थी समाजको विशेष सहयोग प्राप्त भइरहेको छ । सरकारबाट उदासीनता देखाएपनि भूकम्पले त्रसित स्थानीय जनताको उत्साहपूर्ण सहभागिता रहेको छ । सुरुमा पनि सो विद्यालय स्थानीय जनताको श्रमदानबाटै बनेको थियो ।  विद्यालयको ६८औँ वार्षिकोत्सवका अवसरमा २० जना पूर्व शिक्षक र विद्यार्थीले श्रमदान गरे । 

सो विद्यालयका पूर्व शिक्षक र विद्यार्थीले आ–आफ्नै पहलबाट आर्थिक सहयोग सङ्कलन गरिरहेका छन् । विद्यालयको मूल भवन निर्माणका लागि रु ६० लाख र छात्रावास निर्माणका लागि रु ४० लाख गरी रु एक करोड रकम सङ्कलन गरिइसकिएको छ । 

पूर्व शिक्षक–विद्यार्थी समाजका अध्यक्ष मिलन तुलाधरले भने – “भूकम्प गएर विद्यालय पूर्णरुपमा क्षति भएको एक वर्ष पुगिसक्दा पनि केन्द्र र जिल्लाको ध्यान पुग्न सकेन । पठनपाठनमा निकै कठिनाइ हुँदै गएपछि पुनःनिर्माण अभियान विद्यालय आफैँले समाजको सहयोगमा सुरु ग¥यो ।” 

सो विद्यालयका पाँचौँ प्रधानाध्यापकसमेत रहनुभएका तुलाधरले भूकम्पपछि राहत र पुनःनिर्माणमा विशेष योगदान पुर्याएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार समेत रहनुभएका उनी स्थानीय जनताको उल्लेखनीय र उत्साहपूर्ण सहभागिताले आफूहरुलाई थप प्रोत्साहन मिलेको बताउँछन् ।

पुनःनिर्माणमा विद्यालयकै केही ख्यातिप्राप्त पूर्व शिक्षक र विद्यार्थी निरन्तर लागिरहेका छन् । यसमध्ये जलविद्युत् इन्जिनियर माधव खकुरेल, द्वन्द्वविद् डा विष्णु उप्रेती र आर्किटेक्ट रमेश मानन्धरले आर्थिक स्रोत परिचालन, भवन डिजाइन तथा प्राविधिक सुपरीवक्षेणसमेत स्वयम्सेवाको रुपमा योगदान दिइरहेका छन् ।

अहिले निर्माण गर्न लागिएका भवन भूकम्प प्रतिरोधात्मक छन् । तर पुरानो मूल भवन पहिलेको स्वरुपमा आधुनिक तरिकाले बलियो निर्माण गर्न लागिएको छ । मूल भवन बहुउद्देश्यी हुने बताइएको छ । कार्यालयका साथै पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला पनि त्यहीँ राखिनेछ । 

पुनःनिर्माणको पिडिएनए प्रतिवेदनमा प्रत्येक गाविसका एक इन्जिनियर खटाउने भन्ने व्यवस्था भए पनि गाउँमा सरकारी इन्जिनियर देखिँदैन । विसं २००५ मा स्थापित सो विद्यालय दोलखाको मात्र नभई जनकपुर अञ्चलकै पहिलो माध्यमिक विद्यालय हो । 

विद्यालयका प्रधानाध्यापक मुकुन्दराज शिवाकोटीले भने, “जनकपुर अञ्चलकै पहिलो तथा ऐतिहासिक विद्यालय पूर्णरुपमा क्षति भयो । धन्न जीवनको रक्षा भयो । पूर्व शिक्षक विद्यार्थीको सहयोगमा अहिले पुनःनिर्माण भइरहेको छ ।” 

यही वैशाख २५ गते विद्यालयले ६८औँ वाषिकोत्सव मनायो । विद्यालयको पुनःनिर्माण र शैक्षिक गुणस्तरमा शिक्षक, अभिभावक र विद्यार्थीमा एकता देखिन्थ्यो । सो अवसरमा स्थानीय जनताको उल्लेखनीय सहभागिता रहेको थियो । 

शिक्षा विभागको तथ्याङ्कअनुसार जिल्लामा कुल ३९६ विद्यालय छन् भने ८६५ विद्यालय भवन छन् । त्यसमा ३६३ विद्यालय भवन क्षतिग्रस्त बनेका छन् । भूकम्पमा परी पाँचजना विद्यार्थीको मृत्यु भएको छ । यसमा पूर्ण क्षतिग्रस्त कक्षाकोठा एक हजार ६३२ छन् । जिल्ला शिक्षा कार्यालयको भवनसमेत क्षतिग्रस्त भएको छ । 

विद्यार्थीमा ९० प्रतिशत सीमान्तकृत थामी 

सुस्पा क्षमावती उमाविमा अध्ययनरत ९० प्रतिशत विद्यार्थी सीमान्तकृत थामी जातिका रहेका छन् । सरकारले सीमान्तकृत थामी जातिलाई अन्य लोपोन्मुख जातिलाई जस्तै प्राथमिकता दिएको देखिँदैन ।

बहुसङ्ख्यक विद्यार्थी थामी जाति भएकाले विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पहिलो पटक थामी नै हुनुहुन्छ । अहिले व्यवस्थापन समितिको अध्यक्ष भक्तसिंह थामी हुनुहुन्छ । सो उच्च माविमा ४०० भन्दा बढी विद्यार्थीे अध्ययनरत छन् । 

जिल्लाकै नमुना खाजा कार्यक्रम 

सुस्पा क्षमावती उमाविले जिल्लाकै नमुना खाजा कार्यक्रम दुई वर्षदेखि सञ्चालन गरिरहेको छ ।  सुरुमा रु दुईको खाजा कार्यक्रम सुरु गरिएको थियो । शिक्षक र विद्यार्थी सबैलाई कोदोको सुप खाजा ख्वाइन्थ्यो । पूर्व शिक्षक–विद्यार्थीको पहलमा स्थानीय जनतासँग मिलेर सो कार्यक्रम सुरु गरिएको थियो । 

विद्यालयका प्रधानाध्यापक शिवाकोटीका अुनसार अहिले स्थानीय जनताको सक्रियतामा खाजालाई परिस्कृत बनाउँदै लगिएको छ । कहिले खीर, कहिले अन्डा, कहिले चिउरा तरकारी खुवाउने गरिएको छ । यो खाजा कार्यक्रमलाई निरन्तरता दिन पनि पूर्व शिक्षक–विद्यार्थीको सहयोग छ । रासस 

प्रकाशित मिति २०७३ बैशाख ३१ गते ।

 

प्रतिक्रिया