Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

एकीकृत विद्यालय स्थापना गरिने

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३१ वैशाख । अपाङ्गता भएका बालबालिकालाई समावेशी शिक्षा प्रदान गर्ने उद्देश्यले सरकारले देशभर ३६५ एकीकृत विद्यालय स्थापना गर्ने भएको छ । 

प्लान इन्टरनेसनल र अस्ट्रेलियन एडको सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घले बिहीबार आयोजना गरेको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनालले कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका बालबालिकालाई सर्वसुलभ र समान शिक्षामा पहुँच पु¥याउने उद्देश्यले विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गत उक्त कार्यक्रम गर्न लागेको जानकारी दिउ । 

उक्त योजनाअन्तर्गत कर्णालीका पाँच जिल्ला र खाद्य सङ्कट रहेका २४ जिल्लाका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई दिवा खाजाको समेत व्यवस्था गर्न लागिएको छ ।  उपसचिव खनालले भने– “यो कार्यक्रमले अपाङ्गता भएका र अन्यलाई समेत विद्यालयमा टिकाइराख्न र बालबालिकाको पौष्टिक तत्वको अभाव हटाउन मद्दत गर्नेछ ।”  

यसैगरी सुस्तश्रवण, बहिरा बालबालिकाका लागि ३४ विशेष विद्यालय र आठ आवासीय विद्यालयको व्यवस्था गर्न लागिएको हो ।  

कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये करिब ८३ प्रतिशत मात्र विद्यालय कक्षा २ मा भर्ना हुने गरेको तथ्याङ्क जानकारी गराउँदै उपसचिव खनालले बाँकी १७ प्रतिशत विद्यार्थीले बीचमा नै कक्षा छोड्ने वा कक्षा दोहो¥याउने गरेको बताए । कक्षा १ मा भर्ना भएकामध्ये ३९ प्रतिशतमात्र प्रवेशिका परीक्षा दिने बेलासम्म अध्ययनरत हुने गरेको उनले जानकारी गराए । 

अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका बालबालिकाका लागि सरकारले ल्याएको कार्यक्रम अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिँदै उक्त योजनाको अन्तिम प्रारुप अबको एक हप्तामा तयार हुने जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया