Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

संविधान कार्यान्वयनमा विद्यार्थीको खाँचो

विहीबार, ३० बैशाख २०७३

काठमाडौँ, ३१ वैशाख । अबको विद्यार्थी आन्दोलन संविधान कार्यान्वयनका लागि सहयोगी हुनुपर्नेमा जोड दिइएको छ ।   अनेरास्ववियुले आफ्नो ५२औँ स्थापना दिवसका अवसरमा बिहीबार  आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले मुलुकमा भएका विभिन्न आन्दोलनमा विद्यार्थी सङ्गठनले महत्वपूर्ण जिम्मेवारी खेलेको र आगामी दिनमा पनि समयानुसार परिवर्तित भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

सो अवसरमा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले विद्यार्थी आन्दोलनले शैक्षिक गुणस्तर कायम गरी विद्यार्थीको हकहित र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्रका लागि लड्ने दल अब संविधान कार्यान्वयनका लागि एकताबद्ध हुनुपर्ने र त्यसका लागि विद्यार्थी आन्दोलनले दबाब सिर्जना गरी उचित वातावरण निर्माण गनुपर्ने दाबी गरे । 

सोही पार्टीका नेता शङ्कर पोखरेलले ‘अबको विद्यार्थी आन्दोलनः जनता र राष्ट्रका उपेक्षा’ विषयको कार्यपत्र प्रस्तुत गर्दै विगतमा विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनका लागि काम गर्नुपरेकामा अहिले गणतन्त्र कायम भइसकेपछि तिनका काम तथा जिम्मेवारीसमेत परिवर्तन भएको बताए । 

उक्त सङ्गठन ९पुरानो नाम अखिल नेपाल विद्यार्थी फेडरेसन०का संस्थापक नेता विश्वकान्त मैनालीले शैक्षिक वातावरण निर्माणका लागि अब विद्यार्थी आन्दोलन केन्द्रित गर्न सुझाव दिए ।  त्रिविका उपकुलपति डा तीर्थ खनियाँ, शिक्षाविद् डा विद्यानाथ कोइरालालगायतले शिक्षाबाट वञ्चित समुदाय, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई शिक्षाको पहुँचमा ल्याउन विद्यार्थी सङ्गठन अग्रसर हुनुपर्नेमा जोड दिए । 

पूर्वविद्यार्थी नेता टङ्क कार्की, गौरी प्रधान, राजेन्द्र राई र ठाकुर गैरेलगायतले मुलुकको राष्ट्रियता र जनजीविकाको पक्षमा अहिलेसम्म विद्यार्थी आन्दोलन केन्द्रित रहेकामा अब यसले सामाजिक सद्भाव तथा एकताका लागि निर्वाह गर्नुपर्ने खाँचोे औल्याए । 

अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने र नेविसङ्घका पूर्वअध्यक्ष कल्याण गुरुङले दक्ष जनशक्ति निर्माण गरी मुलुकमा भ्रष्टाचार न्यूनीकरण र सामाजिक सहभागिताका क्षेत्रमा सङ्गठनले कार्य गर्नुपर्ने बताए । सङ्गठनका अध्यक्ष नवीना लामाले निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका विद्यार्थी सङ्गठन तथा त्यसका नेतालाई राष्ट्र निर्माणमा पाखा लगाउन नहुने बताइन् ।

रासस 

प्रतिक्रिया