Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

परासीमा ४८ दिनपछि विद्यालय र बजार खुले

आइतबार, १० असोज २०७२

काठमाडौं १० असोज / मधेस केन्द्रीत दलका कारण ४८ दिनदेखि बन्द नवलपरासी सदरमुकाम परासीसहित दक्षिणभेगका शैक्षिक संस्था र पसल व्यवसायहरु आइतबारदेखि सञ्चालनमा आएका छन् ।

आन्दोलनरत पक्षले समय तोकेर दुईक्षेत्रलाई खुला गर्न दिएका हुन । जसमध्ये बिहान ६ बजेदेखि १० बजेसम्म शैक्षिक संस्था र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्न दिइएको हो ।

सीमांकन भएलगत्तै साउन २५ देखि  सुरु भएको आन्दोलनका कारण परासी सदरमुकामसहित दक्षिणभेग ठप्प छ ।

राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । लामो समयदेखिको पठनपाठन बन्दले विद्यार्थीहरुको भविष्य अन्यौल हुँदासमेत वास्ता नगरेको भन्दै चौतर्फी आलोचना आएपछि आन्दोलरतपक्षले बिहानी सत्रमा शैक्षिक संस्था खोल्न दिएका हुन ।

आन्दोलनका कारण  परासी क्षेत्रका करिब एकसय बढी निजी तथा सरकारी स्कुल र कलेजको पठनपाठन ठप्प थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रवक्ता राधेरमण पाण्डेका अनुसार शैक्षिक संस्था सञ्चालन दिइएपनि स्कुलका चारपाङ्ग्रे सवारीसाधन भने चल्न पाउने छैनन् ।

आन्दोलनरत पक्षले मोटरसाइकल सञ्चालनमा भने १५ दिन पहिल्यै नै छुट दिएका छन् । जसका कारण टाढा रहेका अभिभावकहरुले मोटरसाइकलमार्फत् आफ्ना बालबालिकाहरुलाई स्कुल पु¥याउन थालेका छन् ।

त्यस्तै सर्वसाधारणलाई असहज भएको भन्दै साँझको समयमा पसल व्यवसाय सञ्चालनको वातावरण मिलाएको पाण्डेले जानकारी दिएका छन् । दुई क्षेत्रबाहेक यातायातदेखि उद्योग कलकारखाना भने ठप्प रहने मोर्चाले जनाएको छ ।

अन्नपूर्ण पोष्टमा हरि शर्माले लेखेका छन् ।

प्रतिक्रिया