Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

सह सचिवसँगको वार्ताबाट समाधान निस्कन्न : शिक्षक महासंघ

शनिबार, १९ भदौ २०७२

काठमाडौं १९ भदौ / शिक्षक महासंघले विश्वासको वातावरण सृजना गरी वार्ता आह्वान गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएको छ । ५ सदस्यीय टोली सहित वार्ता गर्न मन्त्रालयले बोलाएपनि महासंघका तर्फबाट सह अध्यक्ष रत्न ओली र महासचिव तीलक कुबँर मात्रै मन्त्रालय गएका थिए ।

उच्च स्तरीय टोली विना गरिएको वार्ताबाट कुनै निकास ननिस्कने भन्दै उनीहरु  महासंघको लिखित धारणा बुझाएर फर्किए  । लामो समय देखि आन्दोलनरत शिक्षकहरुका मागका सन्दर्भमा वार्तावाट समाधान निकाल्न भन्दै मन्त्रालयले गत बिहीवार पत्राचार गरेको थियो । 

विगतमा पटक पटक भएका वार्ताबाट समेत समाधान ननिस्केको यथार्थता हुँदा हुँदै मन्त्रालयले शिक्षक आन्दोलन तुहाउन वार्ताको औपचारिकता रचेको महासंघका अध्यक्ष केशव निरौलाले आरोप लगाए । '६६ सालमा ३ पटक मन्त्रीसँग, ६८ सालमा सभामुख मार्फत वार्ता गर्दा त निकास निस्केन, अहिले सहसचिवसँग वार्ता गर्नुको के औचित्य हुन्छ ?' उनले भने, 'यदी मन्त्रालय विश्वासको वातावरण बनाएर आउँछ भने हामी सोच्न सक्छौं यहि पारामा त वार्ताको के औचित्य भयो र ?'

मन्त्रालयले सहसचिव डा. हरी लम्सालको संयोजकत्वमा वार्ता गर्ने गरी महासंघलाई पत्राचार गरेको थियो ।

शनिवारको वार्ता तुहिएपछि महासंघले यस अघि घोषणा गरेका विरोधका कार्यक्रम यथावत राख्ने जनाएको छ । समानान्तर रुपमा शिक्षा दिवस मनाउने सहितका पूर्व घोषित कार्यक्रम जारी रहेको निरौलाले बताए ।

संविधानको मस्यौदामा शिक्षालाई उच्च प्राथमिकतामा नराखिएको र आफूहरुसंग यस अघि भएका सहमतीको कार्यान्वयनमा शिक्षा मन्त्रीले आलटाल गरेको लगायतका माग गर्दै शिक्षकहरु लामो समय देखि आन्दोलनमा छन् ।

प्रतिक्रिया