Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शैक्षिक चिन्ता

आइतबार, १० असोज २०७२

काठमाडौं १० असोज / मधेस बन्दले शैक्षिक गतिविधि अस्तव्यस्त भएकामा शिक्षाविद्ले चिन्ता व्यक्त गरेका छन् । साउन मसान्तसँगै सुरु भएको मधेस आन्दोलनले महोत्तरीसहितका पूर्वी मधेसका सबै शिक्षण संस्था बन्द भएर पठनपाठन ठप्प छ । राजनीतिक अधिकार प्राप्तिका लागि भनिएको आन्दोलनले मधेसको शैक्षिक गतिविधि ठप्प पारेर बालबालिकाको शिक्षा प्राप्तिको अधिकार कुण्ठित पारेको शिक्षाविद्को गुनासो छ ।

विद्यालयलाई कुनै बन्दहडतालको थलो नबनाउने भनी दलहरुले गरेको पूर्वप्रतिबद्घताको यस पालि धज्जी उडेको जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोपबहादुर ठकुरीले बताउनुभयो । “राजनीतिक अधिकारका लागि आन्दोलन नै विकल्प देख्नु सम्बन्धित दलहरुको बाध्यता होला”, ठकुरीले भन्नुभयो, “तर यसमा शैक्षिक संस्थालाई मुछ्ने कुरा भने कुनै पनि तर्कले ठीक भन्न सक्दैन ।”

लामो आन्दोलनका क्रममा महोत्तरी जिल्लामा बर्दिवास नगरपालिका क्षेत्र बाहेकका सबै ठाउँका क्याम्पस, उमावि, मावि, निमावि र प्राथमिक तहसहितका सबै शैक्षिक संस्था बन्द छन् । गरिब, दलित, समाजमा निमुखा गनिएका वर्ग तप्काका जनताले छोराछोरी पढाउने ठाउँ बन्द भएपछि महोत्तरीसहितका पूर्वीमधेसको शैक्षिक अवस्था लथालिङ्ग नै बनेको शिक्षा क्षेत्रमा लामो सेवा गरेर अवकाश लिनुभएका सदरमुकाम जलेश्वरका बासिन्दा पूर्वप्रशासक महेश्वर रायको बुझाइ छ ।

जतिसुकै कडा आन्दोलन गरिए पनि शैक्षिक संस्थालाई बन्दको प्रभावमा पार्न नहुने विद्वान्को राय छ । जारी आन्दोलनले शैक्षिक संस्थालाई लपेट्दा अब मधेसको गुणात्मक शिक्षा केही वर्षपछि धकेलिएको विद्वान्ले बताएका छन् । मधेसको अहिलेको अवस्थाप्रति मिथिला क्षेत्रकै प्रसिद्घ साहित्यकार डा राजेन्द्र विमलले चिन्ता व्यक्त गर्नुभएको छ । “आन्दोलन जनताका लागि नै भएको ठहर हो भने पनि दलहरुले तत्काल आन्दोलनको स्वरुप फेरेर जनजीवन सामान्य बनाउन पर्छ”, डा विमलले भन्नुभयो–“शैक्षिक संस्था बन्द गराएर प्राप्त हुने कुनै अधिकारको सचेत उपयोग हुन सक्दैन भन्ने कुरा बुभm्न जरुरी छ ।”

आन्दोलनका सम्बोधनमा राज्यसमेत उदासीन देखिएको सङ्केत गर्दै डा विमलले राज्यले अभिभावकीय भूमिका देखाउन ढिलो गर्न नहुने सल्लाह दिनुभयो । जिल्लाको यस शैक्षिक अवस्थाप्रति सर्वसाधारणले पनि रोष देखाएका छन् । “आन्दोलनमै लागेका दलका नेता भने आफ्ना छोराछोरी राजधानी र अन्यत्र सुविधासम्पन्न ठाउँमा पढाइरहेका छन्”, महोत्तरीकै भङ्गाहा–४ को अत्यन्त पिछडिएको मुसहर ९दलित० बस्तीका जुगल सादा मुसहरले भन्नुभयो– “हाम्रा नानी पढ्ने स्कुलचाहिँ बन्द गरिएका छन् ।”

जिल्ला र छरछिमेकको यस्तो शैक्षिक अवस्थाले मधेसी बालबालिका कुण्ठित हुने कुरा बुझ्न शिक्षाविद्ले सम्बद्घ दल र सरकारसँग माग गरेका छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया