Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन माग

सोमबार, ११ असोज २०७२

काठमाडौं ११ असोज / गोरखाका बहिराले साङ्केतिक भाषालाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय बहिरा दिवसको अवसरमा आइतबार सदरमुकाममा भएको कार्यक्रममा बहिराले साङ्केतिक भाषा बिनाको शिक्षा बहिराका लागि अधुरो हुने बताएका छन् ।

जारी भएको संविधानमा साङ्केतिक भाषालाई राज्यले मान्यता दिन छुटाए पनि अब संविधान संशोधन गर्दा साङ्केतिक भाषालाई संविधानमै उल्लेख गर्नुपर्ने उनीहरुको भनाइ छ । मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिल अम्गाईंले साङ्केतिक भाषालाई राज्यले मान्यता दिनुपर्ने बताउनुभयो ।

विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले फरक क्षमता भएका बहिरालाई राज्यले सेवा, सुविधा उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले प्रयोग गर्ने भाषाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

बहिरा विद्यार्थीले साङ्केतिक भाषामा अक्षर चिनेपनि पछि नेपाली भाषामा परिवर्तन गर्दै पढ्नु पर्दा समस्या झेल्नुपरेको छ ।

चितवन–२ शिवनगर घर भई हाल मनकामना बहिरा माविको कक्षा ७ मा पढिरहनुभएका छात्र भुवन ढकालले आफूहरुले बुझ्ने साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।

उक्त विद्यालयमा विभिन्न जिल्लाका विद्यार्थी आवासीय सुविधासहित पढिरहेका छन् । विद्यार्थीले लगातार तीन वर्षदेखि एसएलसीमा सहभागिता जनाइसकेका छन् ।

विद्यालयमा पढेका विद्यार्थी अहिले स्नातक तहमा अध्ययन गरिहेका छन् । विद्यालयकी छात्रा चितवनकी सविना योगीले भन्नुभयो, “साङ्केतिक भाषामा अक्षर चिनेका हामीले उच्च शिक्षामा नेपाली, अङ्ग्रेजी भाषा पढ्नुपर्छ । ती सबै विषय साङ्केतिक भाषामा लिपिबद्ध भएमा अझै राम्रो हुने थियो ।”
साथै बहिराका लागि सरकारी दरबन्दीमा एक दोभासे नियुक्तिको प्रक्रियामा रहेकाले सरकारी कामकाज गर्न अब केही सहज हुने बताइएको छ । जिल्लाको सरकारी कार्यालयमा अहिलेसम्म एक जना पनि दोभासे छैनन् । बहिराले लेखेर माग राख्नुपर्ने बाध्यता छ ।

गोरखापत्रका खबर छ ।

प्रतिक्रिया