Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बोर्डिङका विद्यार्थी सरकारी स्कुलमा

शुक्रबार, २४ बैशाख २०७३

काठमाडौँ, २४ बैशाख । कीर्तिपुर मच्छेगाउँमा रहेको बाघभैरव माध्यमिक विद्यालयमा एक समय एक हजारभन्दा बढी विद्यार्थी भर्ना भएका थिए। वरिपरि निजी स्कुल नभएका कारण उक्त स्कुलमा त्यतिखेर विद्यार्थी भर्ना थेगिनसक्नु थियो। विद्यार्थी दुई घन्टा हिँडेर पढ्न आउँथे।  

बिस्तारै यस क्षेत्रमा निजी विद्यालय खुल्दै गए। उनीहरूले सरकारी स्कुलको तुलनामा विद्यार्थीलाई सीमित शुल्क लिएर भए पनि गुणस्तरीय शिक्षा दिन थाले। सरकारीको तुलनामा परीक्षाको नतिजा पनि बढाउँदै गए।   

ठीक विपरीत सरकारी स्कुलमा भने नियमित पढाइ हुन छाड्यो। शिक्षकहरू प्रशस्त भए पनि विद्यार्थीको सिकाइ स्तर खस्कँदै गयो र विद्यार्थी पनि घट्दै गए। स्कुल बिग्रँदै गएपछि गत वर्ष शिशु कक्षादेखि दस कक्षासम्ममा जम्मा ९९ जना विद्यार्थीमात्र भर्ना भए।   

बीसजना शिक्षक भएको विद्यालयमा विद्यार्थी घट्दै गएपछि अस्तित्व समाप्त हुने हो कि भन्ने चिन्ताले सताउन थाल्यो विद्यालयका पूर्वविद्यार्थी, स्थानीय समुदाय र विद्यालय व्यवस्थापन समितिलाई। विद्यालयको अवस्था खस्कँदै गएपछि तीनै पक्षले प्रण गरे विद्यालयलाई जसरी भए पनि काठमाडौंको दक्षिणी भेगकै उत्कृष्ट विद्यालय बनाउने र निज स्कुलमा पढेका विद्यार्थीलाई आफ्नै स्कुलमा आकर्षित गराउने।  

उनीहरू एकजुट भएको पहिलो वर्ष अर्थात् यसै वर्ष उनीहरू विद्यार्थीको घट्दो भर्नादरलाई ब्रेक मात्र लगाएनन्, विद्यार्थी संख्या बढाउन सफल भए। गत वर्ष ९९ जना विद्यार्थी भर्ना भएकोमा यस वर्ष अहिलेसम्म १ सय ४५ जना विद्यार्थी भर्ना भइसकेका छन्। भर्ना हुने क्रम जारी छ।   

पूर्वविद्यार्थी तथा व्यवस्थापन समितिका सदस्य राधाकृष्ण बस्नेतले भने, 'जसरी भए पनि विद्यालयलाई उत्कृष्ट र नमुना सामुदायिक विद्यालय बनाउने प्रण गरेका छौं। पहिलो वर्षको नतिजाका कारण योजनाअनुसार सफल हुनेछौं भन्ने विश्वास बढेको छ।'  

विद्यालयका अर्का पूर्वविद्यार्थी तथा पर्यटन व्यवसायी योगेन्द्र थापाले पनि सबैको साथ र सहयोग रह्यो भने विद्यालयलाई सुधार्न सकिन्छ भन्नेमा ढुक्क रहेको बताए। विद्यार्थीलाई आकर्षित गर्न विद्यालयले पूर्वविद्यार्थी, समाजसेवी र शिक्षकले दिएको आर्थिक सहयोगबाट बस सेवा सञ्चालनमा ल्याएको छ।  

शिशु कक्षामा भर्ना भएका विद्यार्थीलाई आवश्यकताअनुसार बसबाट विद्यालयसम्म ल्याउने र लैजाने गर्दै आएको छ।विद्यालयका शिक्षक, कर्मचारी तथा व्यवस्थापन समितिका सदस्यहरूले समेत आफ्ना छोराछोरी सोही स्कुलमा पढाएका छन्।   

ुअंग्रेजी भाषालाई पढाइको माध्यम बनाएका छौं। शिक्षकलाई उत्प्रेरणा र नेतृत्व विकाससम्बन्धी तालिम दिएर पढाइमा जागरुक गराइएको छ। शैक्षिक क्यालेन्डर बनाएर यसको कार्यान्वयनका लागि अभिभावकलाई समेत जिम्मेवारी दिइएको छु, विद्यालयका प्रधानाध्यापक शिवहरि गिरीले भने।  

यस वर्षमात्र विगतमा निजी स्कुलमा भर्ना भएका २५ जना विद्यार्थी उक्त स्कुलमा भर्ना भइसकेका छन्। विद्यालयमा हाल कार्यरत १९ जना शिक्षकबाट प्रतिशिक्षक न्यूनतम चार दिनबराबरको तलब विद्यालयको कोषमा जम्मा गरिएको छ।   

अहिले विद्यालयको खातामा १० लाख रुपैयाँ जम्मा भइसकेको छ। २०२२ सालमा स्थापना भएको यस विद्यालयको १४ रोपनी ४ आना जग्गा छ। सोही स्कुलका पूर्वशिक्षक तथा इन्जिनियर राजेन्द्रकुमार आचार्यको संयोजनामा विद्यार्थीलाई सुविधा सम्पन्न खेलमैदान, शौचालय तथा अन्य संरचना निर्माणको योजना बनाइएको छ।   

'निजी विद्यालयले महँगो शुल्क लियो भनेर गालीमात्र गर्नुभन्दा सामुदायिक स्कुलको सुधारका लागि समुदायले पहल गर्नुपर्छ। सामुदायिक विद्यालय सुधार्नु हामी सबैको दायित्व होु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण तामाङले भने, 'एकजुट भएर काम गरियो भने सामुदायिक पनि निजीभन्दा कम छैनन् भन्ने उदाहरण हामी पक्कै बन्नेछौं। अन्य सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बन्नेछौं।' 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया