Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

महिला नेतृत्वले ल्यायो शिक्षामा परिवर्तन

मंगलबार, १२ असोज २०७२

काठमाडौं १२ असोज / यस वर्षको एसएलसी परीक्षा केन्द्रमा छात्रा परीक्षार्थीका लागि सेनेटरी प्याड वितरण भयो । परीक्षा हललाई छात्रामैत्री बनाइयो । सुर्खेत जिल्लाका धेरै विद्यालयमा अहिले महिला प्रधानाध्यापकले नेतृत्व गरिरहेका छन् । विद्यालयको नेतृत्व महिलाको हातमा पुगेपछि शिक्षामा धेरै सुधार आएको स्थानीयले बताउन थालेका छन् ।

जिल्ला शिक्षा अधिकारीका रूपमा दीपा हमालले कार्यभार सम्हालेपछि जिल्लामा देखिएको परिवर्तन हो यो । उनी जिशिअ भएर आएपछि सुर्खेतका विद्यालयमा महिला प्रधानाध्यापक र व्यवस्थापन समितिमा महिला अध्यक्षको संख्या पनि बढेको छ । यसअघि सुर्खेतका विद्यालयमा महिला अध्यक्ष भएका विद्यालय नै थिएनन् । महिला प्राधानाध्यापक भएको विद्यालय पनि निकै कम थिए ।

जिल्ला शिक्षा कार्यालयको पछिल्लो तथ्यांकअनुसार अहिले सुर्खेतका विद्यालय व्यवस्थापन समितिमा महिला अध्यक्षको संख्या १२ पुगेको छ । त्यसमध्ये उच्च माध्यमिक तहमा मात्रै तीनजना महिला अध्यक्ष छन् । यस्तै, निमाविमा दुई र प्राविमा सातजना महिला अध्यक्ष छन् । सुर्खेतमा अहिले सामुदायिक र संस्थागत गरी ६ सय १८ विद्यालय सञ्चालनमा छन् । जिल्लाका ८६ विद्यालयमा महिला प्राधानाध्यापक छन् । जसमध्ये प्राथमिक तहमा ७८, निम्न माध्यमिक तहमा पाँच र माध्यमिक तहमा तीनजना प्राधानाध्यापक छन् । पछिल्लो समय महिला शिक्षकको संख्या पनि निकै बढिरहेको छ । जिल्लामा महिला शिक्षकको संख्या पाँच सय ५२ छ । जसमा प्राथमिकमा सबैभन्दा बढी चार सय ९६ जना, निम्न माध्यमिक तहमा ४३ जना र माध्यमिक तहमा १३ जना महिला शिक्षकले अध्यापन गरिरहेका छन् ।

पछिल्लो समय महिलामा आएको जाँगर, चेतना र क्षमताका कारण विद्यालय व्यवस्थापन समिति, प्राधानाध्यापकमा चुनिने गरेको जिल्ला शिक्षा अधिकारी दीपा हमालको भनाइ छ । शिक्षक र प्राधानाध्यापक हुनु उनीहरूको क्षमता भएको र अध्यक्ष बन्नुको कारण महिला इमानदार र अनुशासित भएको हमालको भनाइ छ । ‘पछिल्लो समय महिला अध्यक्ष बनिरहेका छन्,’ जिल्ला शिक्षा अधिकारी हमालले भनिन्, ‘महिलाहरू इमानदार र अनुशासित हुने भएकाले उनीहरूलाई सहयोग पनि भइरहेको छ ।’ हमालले निजामती सेवा दिवसको अवसरमा यस वर्ष उत्कृष्ट जिशिअ पुरस्कार समेत प्राप्त गरेकी छन् । 

नयाँ पत्रिकामा गणेशकञ्चन भारतीले लेखेका छन् । 

प्रतिक्रिया