– सञ्जु पौडेल / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिनहुँ १७ सय युवाहरु पासपोर्ट बोकेर विभिन्न देश जान लाम लाग्छन् । तर त्यो भन्दा ठूलो नेपाली युवाहरुको लाम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न भारतीय नाकामा पनि दैनिक हुन्छ ।
जसलाई अरु देश जान जस्तो न पासपोर्ट चाहिन्छ न त पैसाको बिटो नै म्यानपावरलाई बुझाउनुपर्छ । केवल घर परिवारको लागी चाहिने सामानको जोहो गर्न र दुईछाक टार्न दक्षिण छिमेकी देश भारत पुग्ने बालक देखि बृद्धसम्म छन् ।
करिब २५ बर्षपहिले यस्तै लाममा गुल्मीका विर बहादुर विक कक्षा ८ पास गर्दा नगर्दै भारत हानिए । ‘आठ कक्षा पास मात्रै गरेर के हुन्थ्यो ? धेरै पढ्न पैसा थिएन । घरमा छाक टार्न समेत गाह्रो परिरहेको थियो । यही अवस्था देखेर भारत गए ।’ उनले भने ।
तर भारतमा उनले लामो समय काम गरेपनि सन्तुष्ट भने हुन सकेनन् । धेरै पढ्न नसकेपनि आफ्ना सन्तानका लागी घरमै हातमा भएको सीपले केही गर्न सकिने भन्दै उनी स्वदेश फर्किए । झोलामा शैक्षिक प्रमाणपत्रको साटो हातमा सीप भएमा जीवनलाई सहज रुपमा अगाडी बढाउन सीपकै उच्चतम प्रयोग गर्नुपर्ने उनको मनमा आयो ।
‘सानैदेखि बुवाबाजेले गरेको देखेको थिए । मैले पनि गर्न सक्छु भन्ने लागेको थियो । र शुरु गरे । शुरुका दिनमा केही गाह्रो लागेपनि गाउँघरमा सबैले सामान बनाउन लगाउने भएपछि विस्तारै बानी पर्दै गयो । अहिले धेरै पढ्नुभन्दा पनि थोरै पढेर आफुले जानेको काम गर्दा राम्रै हुन्छ भन्ने लागेको छ ।’ विकले भने ।
गुल्मीको अमरअर्वाथोक ८ सुन्तलाबारीका विकले आफ्नै पुख्र्यौली पेशा फलामका कृषिऔजार निर्माण गरेर आफ्नो जीवनलाई गाउँघरमै हुर्काउन सफल भए । तर उनले सिकेको यो सिपको पछिल्लो आधुनिक तालिम भने भारतमै लिएका थिए । जीवनका दुई दशक भारतको देहेरादुनमा ‘३९ जिपिएस तालिम केन्द्र’ मा उनले लिएको तालिमबाट फलामका काममा पनि केही नयाँ डिजाइन गर्न सके विक्री बढ्ने सोच बनाए ।
फलामको खुकुरीको दाउ, हसिँया, कुटो ग्रिल, सटर, फलामको झ्यालदेखि घर अगाडी लगाउने गेट सम्म उनले निर्माण गर्दै आएका छन् । बजारको माग बढेर उनलाई थेगिसक्नु छैन् । र पनि गाउँघरमा सबै काम गर्न युवाहरु तयार छैनन् । कारण प्सल टु देखि ब्याचलर पढेका युवाहरु यसरी काम गर्न मान्दैनन् । उनले यस विषयले खिन्न बनाउँछ ।
‘अहिलेका पढेलेखेका युवाहरुलाई के भएको कुन्नी ? काम गरौँ दैनिकी चलाउ । भन्दा पनि मान्दैनन् । अचम्म लाग्छ मलाई त । शिक्षाले मानिसलाई ज्ञानी बनाउने र काम गर्न सिकाउने हो । तर युवाहरु त कामै छैन् भन्दै विदेश मात्रै जान्छन् । यो राम्रो होइन् । कम्तीमा आफ्नै वरिपरी भएको काम गरे भने त कोही बेरोजगार हुनुपर्थेन नि !’ युवाहरुप्रति गुनासो पोख्दै उनले भने ।
लामो समय घर बाहिर बस्दा घर व्यवहार सम्हाल्न समेत कठिन हुन थालेपछि आफुले सिकेको शिप स्थानीय स्तरमा प्रयोग गरेर आयआर्जन गर्न उनी घर फर्किएका थिए । घर फर्केर आफ्नो पुख्र्यौली पेशाको सीपलाई आधुनिक ढंगले शुरु गर्दा उनी अहिले मासिक ७५ हजारसम्म आम्दानी गरिरहेका छन् ।
पछिल्लो समयका युवाहरुमा सीपको सम्मान गर्ने धारणा नभएको प्रति चिन्तित रहेका उनले युवाहरुलाई यससम्बन्धिको तालिम दिएर पर्याप्त जनचेतना फैलाउने सोच पनि बनाएका छन् । यसका लागी उनले आफ्नै वरपर रहेका अन्य व्यवसायीसित मिलेर बनाएको संगठनले युवाहरुले पढेको ज्ञानलाई सीपमा ढालेर रोजगारी दिन समेत लागिपरेका छन् ।
तर युवाहरुमा भएको शिक्षाले काम र सीपको सम्मान गर्न सोच नभएका कारण उनी सफल हुन सकिरहेका छैनन् । पढेकाहरु विदेश मात्रै ताक्ने र नपढेकाहरुले यसको महत्व नजान्दा उनले चाहे जसरी आफ्नो व्यवसायलाई विस्तार गर्न पनि सकिरहेका छैनन् ।
बुटवलमा रेसुङ्गा इन्जिनियरिङ्ग उद्योग नै खोलेर बसेका विकमा केही गरौ भन्ने सोच छ । तर त्यही सोच अहिलेका युवाहरुमा त्यति छैन् । आफ्नै गाउँघरमा काम गर्न धेरै पढ्नुपर्छ भन्ने ‘हाउगुजी’ ले गाउँघरमा भएका रोजगारीका अवसर पनि युवाहरुले गुमाउँदै गएको उनको तर्क छ ।
‘हामीकहाँ भएको कामको सम्मान नगर्ने र गर्नै नचाहने शिक्षित युवाले कहिले बुझ्ने ? यसरी हो भने हाम्रो देश कहिल्यै बन्दैन्‘ विक भन्छन् ‘यो सोच बदल्न जरुरी छ । अनि मात्र देश बनाउन सकिन्छ । तर यसका लागी पहिला हाम्रो शिक्षा प्राविधिक, व्यवसायिक र व्यावहारिक हुनुपर्यो ।’
दायित्व संस्थाले गतवर्ष गुल्मीमा आयोजना गरेको ‘दायित्व इन्टरप्राइजेज च्यालेञ्ज प्रतियोगिता’को उत्कृष्ट १० उद्यमीमा छनोट भएका विकले सो संस्थाबाट पनि थप सिप र यसको विस्तारका बारेमा प्रशिक्षण लिएका थिए । यसबाट पनि उनको सोच फराकिलो बनाएको छ ।
‘युवाहरुले गर्न नमान्दा मात्रै मैले धेरैलाई रोजगारी दिन सकेको छैन् । एकजना बाहेक अरु युवाले गर्दै छाड्दै जान्छन् । हाम्रो समस्या यसैमा छ । कुनै पनि काममा निरन्तर लाग्यो भने मात्रै सफलता हात लाग्छ । तर अहिलेका युवाहरुलाई यो शिक्षा कसले देला खै ?’ उनले भने ।
सफलता र समृद्धिका लागी हातमा सीप र निरन्तर मेहनत आवश्यक पर्ने भन्दै विकले शिक्षालाई घोकन्ते र रटन्तेभन्दा व्यासायिक र व्यवसायिक बनाए मात्रै यो सम्भव हुने बताए । ‘अब हामी पुरानै जीवनशैलीमा रमाउन सक्दैनौँ । तर नयाँ गर्न हाम्रो अहिलेको शिक्षा प्रणालीलाई बदल्न जरुरी छ । शिक्षाले दिने सोच परिवर्तन भएमा हामी सफल र समृद्ध हुन्छाँै ।’ उनले भने ।
यसरी विद्यालयमा शिक्षकले र घरका सबै अभिभावकले सीप सिक्न र कामको सम्मान गर्न सिकाएको भए यसरी लामका लाम लागेर नेपाली युवाहरु गाउँघर छाडेर विदेश जाने थिएनन् की ?
पौडेल दायित्व संस्थासंग आवद्ध छिन् ।
प्रकाशित मिति २०७३ बैशाख २४ गते ।
प्रतिक्रिया