Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

रिटायर्ड शिक्षकले पति वा पत्नीको समेत पेन्सन पाउने

विहीबार, २३ बैशाख २०७३

काठमाडौं - अवकास प्राप्त शिक्षकले पति वा पत्नीको समेत पेन्सन पाउने भएका छन् । शिक्षकको पेन्सन बारे कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्पष्ट पारेपछि उनीहरुले पेन्सन पाउने भएका हुन् । यस अघि विद्यालय शिक्षक किताबखानाले उल्टो ब्याख्या गर्दै शिक्षक रहेका पति वा पत्नीको निधन पछिको पेन्सन वितरणमा रोक लगाएको थियो । शिक्षक रहेका पति वा पत्नीको निधन पछि पाउँदै आएको पेन्सन सरकारी सेवाकै अन्य पदमा बहाल रहेका वा पेन्सन भएका पति वा पत्नीले नपाउने भनि कितावखानाको परामर्श समितिले २०६५ सालमा निर्णय गरेको थियो ।

शिक्षा नियमावली २०५९ मा भएको ब्यवस्थालाई उल्टो ब्याख्या गर्दै कितावखानाले यस्तो पेन्सनलाई दोहोरो मान्दै आएको थियो । तर कानून मन्त्रालयले समितिको उक्त निर्णयलाई गलत ब्याख्या भएको राय किताबखानालाई पठाएसँगै रोकिएको पेन्सन वितरणको काम  शुरु हुने भएको छ ।

'स्वभावैले तलब काम गरे वापत पाउने पारिश्रमिक हो भने निवृत्तिभरण अवकास पछिको सामाजिक सुरक्षण वापत पाउने हो' मन्त्रालयले दिएको कानूनी रायमा भनिएको छ, 'यस बाहेक एक ब्यक्तिले अवकास पछि पुन तलव पाउने पदमा नियुक्त भई तलव र निवृत्तभरण पाएको अवस्था यो होईन ।'

कानूनको कुनै एउटा ब्यवस्थाले दिएको सुविधा अर्को त्यस्तै व्यवस्थाले अन्यथा गरेकोमा बाहेक पाउने नै भन्ने बुझ्नु पर्ने उक्त रायमा उल्लेख छ । 'सामन्यतया सुविधा सम्बन्धि कानूनी ब्यवस्थाको अर्थ गर्दा सुविधा पाउने ब्यक्तिको पक्षमा गर्ने गरिन्छ । यस बाहेक सेवामा रहँदै गरेको अवस्थामा मृत्यु भई निजको पति पत्नीले पाउने निवृत्तिभरण जस्तो सुविधामा कानूनले अन्यथा ब्यवस्था गरेकोमा बाहेक सुविधा पाउने नै गरी अर्थ गर्नु न्याय संगत हुन्छ' कानून मन्त्रालयको रायमा भनिएको छ, 'शिक्षा नियमावली २०५९ को नियम ११५ (२) को प्रतिबन्धात्मक वाक्याँशले दोहोरो निवृत्तिभरण पाउनमा रोक लगाएको देखिन्छ तर पदमा बहाल रहेको शिक्षकले आफ्नो पति पत्नीको निधन पछि पाउने निवृत्तिभरण पाउन रोक लगाएको छैन ।'

शिक्षा नियमावलीमै उल्लेख भएको प्रतिबन्धात्मक वाक्याँशको अर्थ लगाउँदा शिक्षकले निवृत्तिभरण पाउँदा पति वा पत्नीको पारिवारिक निवृत्तिभरण लिने सम्बन्धमा देखिएको अस्पष्टता स्पष्ट पार्न किताव खानाले अनुरोध गरेको थियो । सोही अनुसार कानून मन्त्रालयले गत बैशाख ९ गते पारिवारिक निवृत्तिभरण र तलबलाई दोहोरो सुविधा भन्न मिल्ने नदेखिएको राय दिएको थियो ।

शिक्षक रहेकी आफ्नी श्रीमतीको पेन्सन पट्टा बनाउन आएका अदालतका एक जना कर्मचारीलाई दोहोरो सुविधा भन्दै किताबखानाकै कर्मचारीले फिर्ता पठाए पछि आफूलाई यो विषय गम्भिर लागेकोले कानूनी राय मागेको महानिर्देशक शेर बहादुर ढुङ्गानाले बताए । 

'नियमावलीमा भएको ब्यवस्था समितिको निर्णयले कसरी उल्ट्याउन सक्छ भन्ने लाग्यो, यो उल्टो ब्याख्या भईरहेको रैछ जस्तो लागे पछि कानूनी राय मागेको हुँ' उनले भने, 'कानून मन्त्रालयबाट स्पष्ट पारिए संगै अब २०६५ साल देखि रोकिएका यस्ता केश माथिको कारवाहि शुरु गर्ने छौं ।'

प्रकाशित मिति २०७३ बैशाख २३ गते

प्रतिक्रिया