Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

विद्यार्थीको नीजि विद्यालय अनुगमनमा सरकारकै हस्तक्षेप ! वार्ताको नौटंकी

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ – नियमविपरित नीजि विद्यालयले भर्ना र पठनपाठनको नाममा मनोमानी चर्को शुल्क असुलेको भन्दै सयुँक्त विद्यार्थी संगठनले शुरु गरेको अनुगमनमा सरकारले हस्तक्षेप गरेको छ । 

बुधबार विद्यार्थी संगठनले ललितपुरको यूलेन्स स्कुलबाट विद्यालय शुल्क अनुगमनको सुरुवात गरेकामा सरकारले उनीहरुलाई अनुगमन स्थगित गरेर वार्तामा आउन भन्दै हस्तक्षेप गरेको हो । 

सरकारी प्रतिनीधिसहितको अनुगमनमा यूलेन्स स्कुलले कक्षा १ को शु्ल्कसमेत मासिक २८ हजार रुपैयाँ लिने गरेको भेटिएको थियो ।  नीजिले मनपरी शुल्क असुलेकोमा जिल्ला शिक्षा कार्यालय ललितपुरले अनुगमन त के कुनै  पत्राचार नगरेको समेत पुष्टि भएको थियो । 

तर नीजि विद्यालय सञ्चालकको प्रभावमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अनुगमन तत्काल स्थगित गर्न र वार्तामा आउन आग्रह गर्दै विद्यार्थी नेतालाई फोन गरेका थिए । 

युलेन्सपछि रातो बंगला स्कुल पुगेको विद्यार्थी टोलीले त्यहाँ पनि सोही हविगत देखेपछि सरकारी टोली समेत अक्क न बक्कमा परेको थियो । 

नीजि विद्यालय सञ्चालक र स्वंयम सरकारी टोलीले नै विद्यार्थीको अनुगमन थामथुम पार्न वार्तामा बोलाउन गरेको आग्रह बमोजिम टोलीले बाँकी अनुगमन भोली गर्ने भन्दै फर्किएको थियो । 

एक विद्यार्थी नेताका अनुसार आफुहरुलाई अनुगमनबाट रोक्न सरकारले नौटंकी मात्रै गरेको हो । 

‘हामीलाई अनुगमनबाट रोकेर वार्ताको नौटकंी गरिएको रहेछ । तर नीजि विद्यालयले मनपरी मात्रै नभई अभिभावकको ढाडैँ सेक्ने गरी शुल्क लिएको प्रत्यक्ष देखियो । सरकारी टोलीसंगै रहेपछि नैतिकताले समेत हामीलाई थामथुम पार्न खोजिएको हो ।’ अनुगमन टोलीमा सहभागी ती विद्यार्थी नेताले बताए । 

वार्ता पनि निष्कर्षबिहिन 

बिहीबार विहानै सरकारले वार्तामा बोलाएपनि कुनै ठोस सहमति नभएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।  ‘वार्तामा शुल्क र अनुगमनका बारेमा छलफल त भयो । तर सरकारले अनुगमनलाई कडा बनाउने र नियम नमान्ने विद्यालयलाई कारबाही गर्न तयार नदेखिएपछि वार्ता सफल भएन् ।’ उनले भने । 

विहान आठ बजेबाट शुरु भएको बार्ता मध्यान्नसम्ममा पनि टुंगोमा नपुगेपछि विद्यार्थी नेताहरुले अनुगमन जारी राख्ने भन्दै शिक्षामन्त्रालयबाट बाहिरिएका थिए ।  सरकारले वार्ताका नाममा नीजि विद्यालय सञ्चालककै प्रभावमा आफुलाई अनुगमनबाट रोक्न खोजेको स्वीकार नेविसंघ प्रवक्ता लामिछानेले गरे । 

‘हाम्रो चेतावनी नमानेर कामै गरेर देखाउन लागेपछि सरकारले रोक्ने बाहना बनाएको सत्य हो । तर हामी अनुगमनलाई कडा बनाउँदै निरन्तरता दिन्छौँ ।’ उनले भने ।

विद्यार्थीले अनुगमन नछाड्ने 

मंगलबार १३ वटा टोली बनाएर अनुगमनमा उत्रने चेतावनी दिदै विद्यार्थी संगठन विद्यालय विद्यालय पुगेपछि शिक्षा मन्त्रालय र नीजि विद्यालय सञ्चालक झस्केका छन् । 

यसअघि सैद्धान्तिक रुपमा चेतावनी दिदै आएका विद्यार्थी संगठनहरु बुधबारबाट विद्यालयमै पुगेपछि सरकार र सञ्चाललाई ‘आपत्ति’ आइलागेको छ ।  सरकारले आफ्नो अनुगमनलाई गम्भिर रुपमा नलिएर वार्ताको नौटंकी गरिरहेपनि अनुगमन नछाड्ने विद्यार्थीले बताएका छन् । 

विद्यालय संगठन बिहीबार प्याब्सन अध्यक्ष लक्ष्य बहादुर केसीको स्कुलबाट अनुगमन शुरु गरेका छन् । वार्ता निष्कर्ष विहीन भएपछि विद्यार्थी संगठनले अनुगमनलाई निरन्तरता दिएको प्रवक्ता लामिछानेले बताए । 

प्रवक्ता लामिछानेका अनुसार भोली शुक्रबार वार्ता फेरी बस्ने भनिएपनि अनुगमनलाई निरन्तरता दिएर सरकारको कमजोरी प्रष्ट रुपमा औल्याउने बताए । 

‘हामी अनुगमन छाड्दैनौँ । काम गर्छौँ भनेर सधै लापरबाही गर्नेलाई हामी नझुकाएसम्म यसलाई निरन्तरता दिन्छौँ’ उनले भने ‘वार्तामा पनि बस्छौँ अनुगमनमा पनि जान्छौँ । तर मुख्य कुरा सरकारलाई यसबारेमा जिम्मेवार बनाउँछौँ ।’ 

तस्बिर : युुपी लामिछानेको फेसबुकबाट

प्रकाशित मिति ३०७३ बैशाख २३ गते ।

 

  

 

प्रतिक्रिया