Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नीजिमा स्कुल भर्ना ५० हजार, मासिक २८ हजारसम्म

विहीबार, २३ बैशाख २०७३

काठमाडौँ, २३ बैशाख । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन्। राजधानीमा सञ्चालित केही निजी विद्यालयमा बुधबार अनुगमन गर्दा यस्तो पाइएको हो।  

प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मुख्य दल निकट विद्यार्थी संगठनले बुधबार छुट्टाछुट्टै रूपमा विद्यालयको अनुगमन गरेका थिए। विभागका उपनिर्देशक बलबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले प्रिमियर र एपेक्स स्कुलको अनुगमन गरेको थियो।  

अनुगमनका क्रममा प्रिमियरले विद्यार्थीसँग भर्ना शुल्कबापत ५० हजार रुपैयाँ लिएको पाइएको थियो। त्यस्तै चाबहिलस्थित एपेक्स स्कुलले मासिक शुल्कबाहेक वार्षिक शुल्कका नाममा १५ हजार रुपैयाँसम्म असुल्ने गरेको पाइयो। अनुगमनमा सहभागी अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यालयहरूले मनलाग्दी शुल्क लिइरहेको देखियो। यसलाई नियन्त्रण गर्न सरकारी संयन्त्र असफल रहेको पाइयो।' 

शिक्षा विभागले भने अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जनाएको छ। विभागका निर्देशक वैकुण्ठ अर्यालले भने, ‘प्रचलित नीतिनियमलाई मिचेर कोही जान सक्दैन। मनपरी गर्नेलाई कारबाही गरिन्छ।' 

त्यस्तै मुख्य दल निकट विद्यार्थी संगठनले ललितपुरको युलेन्स र रातो बंगला स्कुलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा युलेन्स स्कुलले कक्षा १ मा मासिक २८ हजार रुपैयाँ शुल्क लिएको पाइएको अनुगमनमा सहभागी नेपाल विद्यार्थी संघका प्रवक्ता यूपी लामिछानेले बताए।  

उनका अनुसार विद्यालयका प्राचार्य मेदिन लामिछानेले अभिभावकको सहमतिमा शुल्क निर्धारण गरिएको र शुल्कअनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको दाबी गरेका थिए।रातो बंगला स्कुलले पनि कक्षा १ का विद्यार्थीसँग मासिक २५ हजार शुल्क लिइरहेको फेला परेको थियो।   

लामिछानेले भने, ‘यी स्कुलले यसरी शुल्क लिइरहेका विषयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी समेत बेखबर रहेको पाइयो।' यस्ता विद्यालयले जिशिकाको निर्देशन मान्ने भन्दा पनि कुनै कार्यक्रम पर्‍यो भने सवारीसाधन वा अन्य सहयोग गरेर प्रभावित पार्ने गरेको पाइएको पनि लामिछानेले बताए। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया