काठमाडौँ, २० बैशाख । पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन्। कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका छन्।
स्थानीय सिद्धी विनायक आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी विद्यालय जान भनी घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा विवेक लामिछानेले जानकारी दिए।
शुक्रबार घरबाट केही रकमसमेत लिएर स्कुल जाने भन्दै गएका उनीहरुको खोजी कार्य भइरहेको भए पनि फेला पार्न नसकिएको परिवारजनले बताएका छन्। बेपत्ता विद्यार्थीको खोजतलास गरी पाऊँ भनी इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीमा निवेदन दर्ता गरेको विवेकले बताए। खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।
बेपत्ता विद्यार्थीलाई देख्नु हुने वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले आग्रह गरेको छ। बेपत्ता हुनुका कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रासस
प्रतिक्रिया