Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नेविसङ्घको महाधिवेशन असार पहिलो साता

सोमबार, २० बैशाख २०७३

काठमाडौँ २०, वैशाख । नेपाली काँग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाधिवेशन आगामी असार पहिलो साता हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवासँग आइतबार नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले देउवा निवास बुढानीलकण्ठमा भेटी असार पहिलो साता महाधिवेशन गर्ने तयारी थालेको दाबी गरे । 

सभाषद पनि रहेका कर्णलाई बोलाएर सङ्घको महाधिवेशनको तयारीका बारेमा नेता देउवाले जानकारी लिएका थिए । नेता देउवाले पार्टीको प्रतिष्ठासँग गाँसिएकाले सङ्घको महाधिवेशन यथाशीघ्र गर्न निर्देशन दिनुभएको भेटमा सहभागी सङ्घका नेता ऋषिकेशजङ्ग शाहले जानकारी दिए ।

यसअघि पार्टीको पहिलो बैठकले महाधिवेशन हुन बाँकी भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन छ महिनाभित्र गर्न निर्देशन दिएको थियो । पार्टीको निर्देशनपछि भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल महिला सङ्घले भदौमा महाधिवेशन गर्ने निर्णय गरिसकेका छन् । 

अबको १० दिनभित्र सङ्घको केन्द्रीय समितिको बैठक गरी महाधिवेशनको मितिका बारेमा निश्चित गरिने कर्णले जानकारी गराए । सभापति देउवाले आइतबार नै सङ्घ हेर्ने निर्देशक समितिको संयोजकको जिम्मेवारी डा प्रकाशशरण महतलाई दिएका छन् । 

यसअघि सो जिम्मेवारी तत्कालीन महामन्त्री प्रकाशमान सिंहले सम्हालेका थिए । पार्टीको महत्वपूर्ण भ्रातृ संस्था नेविसङ्घको महाधिवेशन नौ वर्षदेखि हुन नसक्दा पार्टीको युवा वर्गमा ठूलो असन्तोष बढेको छ । 

रासस 

 

प्रतिक्रिया