Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

भूकम्पले भताभुंग केशर पुस्तकालय, पुनर्निर्माणको सिन्को भाचिएन

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ – पाठकले भरिभराउ हुने केशर पुस्तकालय बैशाख १२ को भूकम्पले गर्दा भताभुंग भएर जीर्ण अवस्थामा छ । शुक्रबार एडुखबर संवाददाता पुस्तकालय पुग्दा ४÷५ जना बाहेक धेरै भेटिएनन् । 

भूकम्पले गर्दा बाहिरै पाल टांगेकै स्थानमा पत्रिका पढ्न बाहेक अरु पुस्तक पढ्नै नमिल्ने भएपछि पाठक घटेको पुस्तकालयका कर्मचारी सुनमाया तामाङले बताइन् । पुस्तकालयका भित्री कोठामा पुस्तक हालेका बोराले भरिभराउँ छन् भने माथिल्लो तला भूकम्पले बस्न नमिल्ने अवस्थामा पुगेको छ । 

राणाहरुले शिकार गरेका वन्यजन्तुका टाउका, एक हजार वर्ष भन्दा पुराना हस्तलिखित ग्रन्थ, दुर्लभ पेन्टिङ र राणा शासनको वैभव देखाउने हजारौँ फोटा र पुस्तकहरु अहिले बन्द कोठाका बोरामा थन्काइएको छ । 

दैनिक पाचँ सय जना जति पुस्तकालयमा अध्ययन गर्न आउने पुस्तकालयमा अहिले मुश्किलले सय जना जति आउँछन् । त्यो पनि फाट्टफुट्ट मात्रै ।  ‘भूकम्पले पुस्तकालय ठाउँ ठाउँमा चिरा परेपछि मान्छेहरु आउन छाडेका छन् । पहिला भ्याई नभ्याई हुन्थ्यो । अहिले कामै छैन् ।’ उनले भनिन् । 

१ सय १९ बर्ष पहिले स्थापना भएको केशर पुस्तकालयमा पाचँ लाख किताब छन् । स्वेदेशी र विदेशी गरी दैनिक पाचँ सय पर्यटक र पाठक आउने पुस्तकालय भग्नावशेषमा परिणत हुदाँ पनि पुनर्निर्माणको सिन्को सम्म भाचिएको छैन् । 

एक बर्ष वितिसक्दा समेत पुस्तकालयको किताब बोरामा हालेर थन्क्याउन बाहेक कुनै काम अगाडी बढेको छैन् ।  पूस्तकालयको इतिहासमा धेरै पुरानो गाथा बोकेको केशर पुस्तकालयको पुनर्निर्माण नहुँदा पाठक समेत खिन्न छन् । दैनिक आउने पाठकहरु अहिले कतिपय त आउनै छाडिसके ।

पुस्तकालयका अर्का कर्मचारी शुशिल बराल भन्छन् ‘पहिलेको तुलनामा अहिले धेरै पाठकहरु आउनु भएको छैन् । विदेशी पाठक त झन् देख्नै मुश्किल छ । कहिलेकाही एक दुई जना बाहेक सबै बाहिरैबाटे हेरेर फर्किन्छन् ।’ 

पुनर्निर्माणको कागजी काम मात्रै 

एक सय बर्ष पुरानो भवन भएकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पुनर्निर्माणको काम थाल्नुपर्ने केशर पुस्तकालयका कार्यालय प्रमुख उपसचिव दशरथ मिश्रले बताए । ‘एक सय बर्ष पुरानो भवन भएकाले पुरातत्वको विभागको अनुमति लिनुपर्ने थियो । त्यो लिइसकेका छौँ । पुरातत्व विभागसंगै भवन डिभिजन कार्यालयसंग पनि प्रस्ताव अगाडी बढाएका छौँ ।’ उनले भने । 

शिक्षा मन्त्रालयले पुरातत्व विभाग र भवन डिभिजन कार्यालयबाट अनुमति लिए पनि सरकारले पुर्नर्निर्माणको काम अगाडी नबढाएकाले समस्या थपिएको उनको कथन छ । ‘यो भवन हामीले पुनर्निर्माण गर्ने होइन् । सरकारले गर्ने काम हामीले कसरी गर्नु ? सरकारले अहिलेसम्म केही गर्न सकेको छैन् । हामी के भनौ ?’ उनले वास्तविकता पोखे ।

यसबीचमा विभिन्न दाताले पुस्तकालयमा आएर पुनर्निर्माणमा सहयोग गर्न चासो देखाएपनि सरकारकै कामले गर्दा ढिलाई भएको उनको दाबी  छ।   ‘युएसआइडी लगायतका विभिन्न संस्थाले पुस्तकालयमै आएर चासो देखाएका थिए । तर हामीले यो सजिलो गरी गर्न मिल्दैन् । सबैको अनुमति लिनुपर्छ भनेपछि फर्केर जानुभएको छ ।’ मिश्रले भने ।

पूनर्निर्माणमा १५ करोड लाग्ने

कार्यालय प्रमुख मिश्रका अनुसार पुस्तकालयको अधिकांश भाग चिराचिरा भएको छ । दोश्रो तलामा रहेको पुस्तकालयको मुख्य अंश नै अहिले काम नलाग्ने अवस्थामा पुगेको छ ।

सिसिटीभि जडान गरिएको पुस्तकालयमा पुराना सम्पदाले पनि उत्तिकै सजाइएको थियो । तर भूकम्पपछि कार्यालयमा बस्नै मुश्किल छ भने पुराना महत्व बोकेका सामानहरु पनि अध्यारो कोठामा बोरामै हालेर राखिएको छ।

कार्यालय भत्केपछि संगै रहेको सम्पति शुद्धिकरणको कार्यालयमा आफ्नो कार्यालय बनाएका मिश्र भूकम्प गएको दुई महिनापछि मन्त्रालयबाट सरुवा भएर केशर पुस्तकालय गएका थिए ।  पुनर्निर्माणका लागी इन्जिनियरसहितको टोलीले १५ करोड लाग्ने ‘इस्टिमेट’ गरेको उनले बताए । 

भूकम्पपछि इजरायलको एक टोलीले तीन महिना लगाएर गरेको अध्ययनले पुनर्निर्माण गर्न करिब पाचँ बर्ष लाग्ने जनाएको छ ।  ‘माटोले बनाएको पुस्तकालयको भित्तालाई फेरी त्यही अवस्थामा निर्माण गर्न निकै मुिश्कल छ । इजरायलको अध्ययन टोलीले पाचँ बर्ष लाग्छ भन्दा हाम्रो सरकारले एक बर्षमै पुनर्निर्माण गर्छु भन्दा कहिलेकाही हासो पनि लाग्छ । तर हासौँ कसरी कामै शुरु भएको छैन् ।’ ठट्यौली पारामा हास्दै उनले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम अगाडी नबढाउँदा राष्ट्रिय महत्व बोकेको यस्ता पुस्तकालयको अवस्था झन् दयनीय अवस्थामा पुगेको छ ।

राणा प्रधानमन्त्री चन्द्र समशेरले आफ्ना साहिँला छोरा केशर समशेरको नामबाट केशर पुस्तकालयको स्थापना गरेका थिए । यो पुस्तकालय ठमेल र लाजिम्पाट घुम्न आउने पर्यटकको नजरमा पनि पथ्र्यो । र घन्टौ बसेर पुस्तकालयमा विभिन्न पूस्तकहरु समेत उनीहरुले अध्ययन गर्थे । तर अहिले यो कथामा सिमित भएको छ । भूकम्पपछि त झन् विदेशी पर्यटकहरुले केशर पुस्तकालयको ढोकासम्म पुगेको पनि रेकर्ड छैन् ।

कर्मचारी 'बेकामे'

पुस्तकालय जीर्ण अवस्थामा पुगेपछि कर्मचारीहरु गफ चुटेरै दिन बिताउन बाध्य भएका छन् । १७ जना कर्मचारीको संख्या कार्यालयमा भएपनि सबै गफ चुट्दै हाजिर लगाएर बेलुका फर्किन्छन् ।

एडुखबर संवाददाता पुस्तकालयमा पुग्दा कार्यालय प्रमुख मिश्र नै गफमा व्यस्त थिए । पुस्तकालयको अवस्था दयनीय भएपछि कर्मचारीलाई हाइसञ्चो भएको छ । पाठकहरु आउदा पहिले किताब मिलाउनुपर्ने देखि दैनिक कार्यालय सफा गर्नुपर्ने थियो । तर अहिले ढोका बाहिरै सबै गर्नुपरेपछि एक दुईजना कर्मचारी बाहेक अरु बेकामे भएका छन् । 

प्रकाशित मिति २०७३ बैशाख १९ गते । 

 

प्रतिक्रिया