Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

चन्दा उठाउँदै सामुदायिक विद्यालय

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ, १९ वैशाख । विद्यार्थी सङ्ख्याको तुलनामा दरबन्दी नहुँदा चितवनका सामुदायिक विद्यालयले विद्यालय सञ्चालनका लागि चन्दाको नाममा अभिभावकबाट रकम उठाउँदै आएका छन् । जिल्लाका तीनसय ७७ वटा सरकारी विद्यालयमा ९६ हजार ६८७ विद्यार्थी अध्ययनरत छन् ।  

उनीहरुलाई पढाउनका लागि सरकारी तलब खाने दुई हजार आठ सय ११ शिक्षक छन् । तर विद्यार्थीको अनुपात घटबढ भएका कारण शिक्षक मिलान गर्न कठिन हुँदा कतिपय विद्यालय दरबन्दी विहीन छन् ।   जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्याल २०६६ साल यता खुलेका र तह वृद्धि भएका कतिपय विद्यालयमा दरबन्दी नै नभएको बताउनुहुन्छ । जिल्लामा २१३ वटा प्राथमिक विद्यालयका लागि एक हजार आठ सय ९० जना शिक्षक, ७० वटा निम्न माध्यमिक विद्यालयका लागि पाँच सय ३८ जना शिक्षक र ४८ वटा माध्यमिक एवम् ४६ वटा उच्च माविका लागि तीन सय ८३ जना शिक्षकको दरबन्दी रहेको छ ।  

जिल्ला शिक्षा अधिकारी अर्यालका अनुसार, ३६ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयलाई मात्र अन्य विद्यालयमा गाभ्न पाउने प्रावधान छ । गत वर्ष ११ वटा विद्यालय गाभिएको थियो । जिल्लाका पहाडी गाविसमा विद्यार्थीको सङ्ख्या कम छ तैपनि प्राविका लागि कम्तीमा तीनजना शिक्षक दिनुपर्ने बाध्यता भएको अर्याल बताउनुहुन्छ । जसका कारण धेरै विद्यार्थी सङ्ख्या भएर १५÷१६ जना शिक्षक चाहिने विद्यालय प्रभावित भएको उहाँको भनाइ छ । माध्यमिक तहमा कम्तीमा पाँचजना शिक्षक दिनुपर्ने भए पनि चारजना पनि नपुगेको उनले बताए । 

जिल्लाका विद्यालयलाई पूर्णरुपमा सरकारी स्रोतमा सञ्चालनका लागि थप एक हजार शिक्षक आवश्यकपर्ने उहाँले बताउनुभयो । जसका कारण ९० प्रतिशत विद्यालयले विभिन्न नाममा चन्दा उठाइरहेको स्वयम् जिल्ला शिक्षा अधिकारी अर्याल स्वीकार्नुहुन्छ ।   ती विद्यालयले शीर्षक चन्दा राखेर मासिक रुपमा अभिभावकसँग रकम असुल गर्दैआएका छन् । 

ऐनले शुल्क उठाउन प्रतिबन्ध लगाए पनि घुमाउरो पारामा चन्दाका नाममा रकम असुल्न छुट दिइएको छ । जसका कारण अधिकांश विद्यालयले चन्दा, धान्याञ्चल, जग्गाभाडा र दाताको सहयोग लिएर विद्यालय चलाउन बाध्य भएको शिक्षक महासङ्घ चितवनका अध्यक्ष ध्रुवराज पोखरेलले बताए । 

राज्यले पूर्ण दरबन्दी नदिने र शुल्क लिन नपाउने नीति आफैँमा गलत भएको भन्दै उहाँले दरबन्दी थप गरी आवश्यक शिक्षक दिन सके सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनसक्ने बताए । 

शिक्षक अभावका कारण कतिपय विद्यालयमा नियमित कक्षा सञ्चालन भएका छैनन् भने कतिपयमा न्यून तलबमा निजी स्रोतबाट शिक्षक राखेर पढाइदै आएको छ । कतिपयले तलब खुवाउन नसकेको अवस्था पनि रहेको छ ।  जिल्लामा संस्थागतको तुलनामा सामुदायिकमा विद्यार्थी सङ्ख्या बढी छ । यसवर्ष प्रवेशिका दिएका १२ हजार ५०० मध्ये सात हजार ८०० सामुदायिकका विद्यार्थी रहेका छन् । 

रासस 

 

प्रतिक्रिया