Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

प्राविमा मात्रै २७ लाख नयाँ शिक्षक नियुक्त गर्नु पर्ने

मंगलबार, १२ असोज २०७२

काठमाडौं १२ असोज / आवश्यक योग्यता नभएका ब्यक्ति समेत शिक्षक हुँदा सिकाई सुधार हुन नसकेको तथ्य फेला परेको छ । धेरै शिक्षक नियुक्ति गरेर मात्रै सिकाई स्तरमा सुधार नहुने पनि यूनेस्कोले गरेको एक अध्ययनले फेला पारेको छ । 'शिक्षक हुन कतिपय देशमा त्यस्ता शिक्षकहरुलाई नियुक्ति गरियो जसले सरकारी योग्यता तथा तालिम स्तरको मापदण्ड समेत पुरा गरेका थिएनन्' शिक्षाको दिगो विकासका बारेमा यूनेस्कोले गरेको उक्त अध्ययनमा भनिएको छ, 'विश्वका ९६ राष्ट्रहरुले शिक्षक अभावको समस्या भोग्दै आए पनि संख्या थोपरेर मात्रै गुणस्तर सुधार हुँदैन ।' 

दक्षता विनाका ब्यक्ति कक्षा कोठामा पुग्ने भएकाले शिक्षकहरु प्रेरीत नभएसम्म शिक्षा सुधार हुन नसक्ने उक्त अध्ययनमा उल्लेख छ । शिक्षकले आफ्नो शिक्षण कलामा सुधार गर्नु पर्ने कुरालाई अध्ययनले मुख्य मानेको छ । 'शिक्षकको गुणस्तरका बारेमा थाहा पाउन देशमा कति जना तालिम प्राप्त शिक्षक छन् र कति जना तालिम प्राप्त शिक्षकको आवश्यता छ भन्ने बुझ्नु जरुरी छ' अध्ययनमा भनिएको छ, 'दुर्भाग्यवस, गरिब राष्ट्रहरुमा यस्ता किसिमका गुणस्तर नाप्न कुनै अवधारणा छैन ।'

तथ्याङ्कका अनुसार सन् २०१३ को राष्ट्रिय मापदण्ड पुरा नगरेका ९४ मध्ये ३२ देशका ७५ प्रतिशत भन्दा कम प्राथमिक स्तरका शिक्षकहरुले तालिम पाएका छन् । 

शिक्षक अभावको समस्या भोग्दै आएका विश्वका ९६ राष्ट्रहरु मध्ये सन् २०२० सम्ममा ३७ देशले मात्र आवश्यकता अनुसारको शिक्षक नियुक्ति गर्न सक्ने देखिएको छ । यो कूल संख्याको जम्मा ३९ प्रतिशत हुन आउँछ । सन् २०२५ सम्ममा यो संख्या ५६ प्रतिशत पुग्ने छ । यति हुँदा पनि ३३ राष्ट्रमा सन् २०३० सम्ममा पनि आवश्यकता अनुसारको शिक्षक हुने छैनन् ।

सबैका लागि शिक्षा पुर्याउन यो बर्ष भित्र प्राथमिक विद्यालयमा मात्रै २७ लाख नयाँ शिक्षक नियुक्त गर्नु पर्ने देखिएको छ । शिक्षक अभाव झेलिरहेका विश्वका ७४ राष्ट्रमा यूनेस्कोले गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । दक्षिण एसियाका पाकिस्तान र श्रीलंका सहित खाडी राष्ट्र र अफ्रिकाका १० मध्ये विभिन्न ७ देशमा शिक्षकको चरम अभाव देखिएको छ । यी मध्ये पनि अफ्रिकाका विभिन्न देशमा शिक्षकको अभाव ज्यादा फेला परेको छ ।
पर्याप्त मात्रामा शिक्षक नहुँदा ५ करोड ९० लाख बालबालिका प्राथमिक शिक्षाबाट वञ्चित हुनका साथै लाखौँ बालबालिका भिडभाड युक्त कक्षामा पढ्न बाध्य भएको फेला परेको छ । विद्यालय जाने उमेरका  सबै बालबालिकालाई पढाउन २०१५ भित्र विश्वभरमा २७ लाख प्राथमिक विद्यालय शिक्षकलाई नियुक्ति गर्नुपर्ने देखिएको छ ।

यसरी नियुक्त हुने मध्ये १४ लाख शिक्षक अवकास पाएका पुराना शिक्षकको ठाउँमा काम गर्ने छन् । उक्त संख्यामा शिक्षक नियुक्त भएपछि प्रति शिक्षकले ४० जना विद्यार्थीलाई पढाउन सक्नेछन् ।

यूनेस्कोको उक्त अध्ययनले भविष्यमा शिक्षक अभाव हुन नदिने उपाय समेत सुझाएको छ  । जस अनुसार सन् २०२० मा १ करोड ९ लाख नयाँ शिक्षक नियुक्त गर्नु पर्ने हुन्छ । जसमध्ये ८७ लाख अवकास भएका पुराना शिक्षकको ठाउँमा काम गर्नेछन् भने बाँकी २२ लाख शिक्षकलाई नयाँ नियुक्ति गर्नु पर्ने हुन्छ ।

यसैगरी सन् २०३० मा २ करोड ५८ लाख पुग्ने शिक्षकको माग मध्ये ३२ लाख नयाँ शिक्षक नियुक्त गर्नु पर्ने हुन्छ भने २ करोड २६ लाख शिक्षकले अवकाश प्राप्त शिक्षकको ठाउँमा काम गर्नेछन् ।

अफ्रिकाले धेरै मात्रामा समस्या झेल्नुपर्ने अध्ययनले फेला पारेको छ । प्राथमिक शिक्षाका निम्ती अफ्रिकाले सन् २०१५ मा कूल शिक्षकको ६२ प्रतिशत वा सन् २०३० मा कूल शिक्षकको ६७ प्रतिशत नयाँ नियुक्ति गर्नुपर्ने हुन्छ । सन् २०३० सम्ममा यहाँ २२ लाख शिक्षक नियुक्ति गरिनुपर्ने हुन्छ ।
खाडी राष्ट्रहरु शिक्षकको अभाव हुने दोस्रो ठुलो क्षेत्र भएको अध्ययनले देखाएको छ । जनसङ्ख्या वृद्धि नै शिक्षक अभावको  मुख्य कारण भएको अध्ययनको निष्कर्ष छ । सन् २०३० सम्ममा उक्त क्षेत्रमा ७१ लाख वढी विद्यार्थी रहने छन् ।

सन् २०२५ सम्ममा विद्यार्थीको संख्यामा वृद्धि भएता पनि शिक्षकको माग र आपुर्तिमा सन्तुलन आउने गरी उक्त क्षेत्रमा विगत केही समय अघि देखी शिक्षक नियुक्तिको प्रकृया शुरु भएको अध्ययनमा उल्लेख छ  । प्राथमिक शिक्षा हासिल गर्नका लागी सन् २०३० सम्मा यस क्षेत्रमा ४ लाख नयाँ शिक्षकको नियुक्ति आबश्यक छ ।

स्केच : ईन्टरनेट

प्रतिक्रिया