Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

स्कुल भवन पाउँदा फुरुंग

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ, १९ बैशाख । गाउँमुन्तिर राजधानी ुनिचोरिएकोु कालो पानी (बागमती) खोल्सैखोल्सा तराईतिर लम्कँदैछ। माथितिर खडेरीले फुंग उडेको अग्लो भट्टे डाँडो। ललितपुरको ुकर्णालीु मानिने विकट माल्टा गाविसस्थित ज्ञानज्योति प्राविका विद्यार्थी र अभिभावक अनुहारमा भने आज बेग्लै खुसी देखिन्छ। वैशाखको टन्टलापुर रापमा पसिना बहाउँदै उनीहरु स्कुल प्रांगणमा धैर्यसाथ केही पर्खिरहेझैं देखिन्छन्। 

वैशाख १२ को शक्तिशाली भूकम्पले धुलीसात पारेको विद्यालयमा ठीक वर्षदिनपछि चिटिक्कको पक्की भवन ठडिएको छ। भवन हस्तान्तरण कार्यक्रममा घन्टौं पैदलै भेला भएका अभिभावकमा भरोसा थपिएको छ। बालबालिका घरि यता घरि उता उफ्रँदै नयाँ भवनमा निस्प्किक्री पढ्न पाउने आशा छर्दैछन्। 

वैशाख १२ कै दिन मध्याह्न हुनुअघि ठीक ११ः५६ को साइतमा सांसद उदयशमशेर राणाले प्रिन्सिपल चिनीमाया लामालाई नवनिर्मित भवन हस्तान्तरण गरे। ुअघिल्लो साल यही बेला विद्यालय भवन ढल्दा आफ्नै भविष्य ढलेझैं लागेको थियो,' चिनीमायाले खुसी बाँडिन्, 'सहयोगी हातले पक्की भवन ठडियो, अब ढुक्क भयौं।'

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा काम गर्दै आएको शान्ति शिक्षा अभियान, नेपाल नामक संस्थाले १३ लाख २२ हजार ९ सय ८० रुपैयाँ खर्चेर दुई कोटे ट्रस्ट पक्की भवन बनाइदिएको हो।

यसअघि सामुदायिक विद्यालयमा शैक्षिक स्तर उकास्न शिक्षक तालिम, शैक्षिक सामग्री, फर्निचरलगायत सहयोग जुटाउँदै आएको संस्थाले भूकम्पपछि सबै काम छाडेर पुनर्निर्माणमा लागेको अध्यक्ष रविन्द्र महर्जनले बताए।

उनका अनुसार अभियानले करिब ३ करोड रुपैयाँमा चार जिल्लाका २२ स्कुलमा भवन निर्माण गरिरहेको छ। 'सबैतिर धमाधम बनिरहेका छन्, उनले भने, 'समुदायसँग मिलेर काम गरेकाले कुनै समस्या भएन, समयमै भवन हस्तान्तरण गर्न पायौं।'

कार्यक्रममा भवन निर्माणमा भएको खर्चबारे सार्वजनिक लेखापरीक्षणसमेत गरियो। अमेरिका बस्ने नेपालीको संस्था नेप्लिज सोसाइटी अफ हस्टनको आर्थिक सहयोगमा काभ्रे, ललितपुर, काठमाडौं र दोलखाका चार जिल्लामा करिब ३ करोड रुपैयाँ लागतमा २२ वटा विद्यालयका भवन पुनर्निर्माण भइरहेको महर्जनले जानकारी दिए।

कार्यक्रममा प्रिन्सिपल चिनीमाया र व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर जिम्बाले शान्ति शिक्षाको सहयोगले विद्यालयले शैक्षिक उन्नति गरिरहेको भन्दै थप सहयोगका निम्ति आग्रह गरे। अभियानले २२ वटै विद्यालयका भवन असारभित्र निर्माण सकेर हस्तान्तरण गरिसक्ने योजना सुनाए। 'सबै सरकारले केही गरेन भनेर कराइरहेका छन्, आफैं अघि सरे पुनर्निर्माण असम्भव छैन,' उनले भने, 'स्थानीयसँग सहकार्यमा पुनर्निर्माण गरिए भूकम्पबाट भएको क्षति चाँडै पूर्ति हुनेछ।' 

राजधानीबाट ३६ किमी नजिकैको माल्टा भौगोलिक अवस्थिति र सडक अवस्थाका कारण अति दुर्गमजस्तो देखिन्छ। काठमाडौंलाई तराईसँग जोड्ने छोटो र वैकल्पिक मार्ग कान्ति लोकमार्ग निर्माण र स्तरोन्नति अघि बढिरहेकाले माल्टावासीमा सुदूर भविष्यको उज्यालो आशा भने जाग्दो छ। 

'यो बाटो बनाउने बुबाकै सपना हो,' सांसद राणाले कार्यक्रममा सुनाए, 'यसलाई पूरा गर्न खटिइरहेको छु्, यसपालि ३ अर्ब बजेटमा काम भइरहेको छ।' शिक्षा क्षेत्रमा विभिन्न सहयोग जुटाइरहेको संस्थाको अभियानको सराहना गर्दै उनले निरन्तर साथ दिने वचन पनि दिए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया