Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

‘हाउ टु पास’ भनेर पढ्न र पढाउन बन्द गर्नुपर्छ : नायिका अशिष्मा नकर्मी 

शनिबार, १८ बैशाख २०७३

नायिका अशिष्मा नकर्मीको शिक्षादिक्षा र नेपालको शिक्षा प्रणालीप्रतिको धारणा यसपटकको शनिबार विशेषमा  

- विष्णु विवेक / बर्षभरी स्कुल जादा पनि परीक्षा पास गर्नैका लागी हो । स्कुल नै नगएर एक महिना रटेर पढ्दा पनि परीक्षा पास गर्नैका लागी हो । हाम्रो शिक्षा प्रणालीको सबैभन्दा बढी चर्चा र बहसको विषय नै यही बनेको छ । परीक्षा दिएर पास भएको जो कोही पनि आफ्नो विषय र भविष्यका लागी योग्य छ भन्ने कथन छ । 

अंग्रेजी र समाजसेवा विषयमा स्नाकोत्तर पढ्दै गरेकी नायिका अशिष्मा नकर्मीलाई यसले सधै अचम्मित तुल्याउँछ । शिक्षा र पढाईको अर्थ उनका बुझाईमा कुनै पनि विषयमा दक्षता हासिल गर्नु हो । तर हाम्रो शिक्षामा दक्षता नभई पाठ रटान र परीक्षामा पास फेल भएको कागजी प्रमाणपत्र हातमा थमाईदिए पुग्छ । मानिसको क्षमता जाच्ने मापदण्ड हामीकहाँ यो बाहेक अर्को आधार छैन् ।  

‘अन्तराल’ फिल्मबाट अभिनय क्षेत्रमा उदाएकी यी नायिकालाई शिक्षाप्रति हेर्ने दृष्टिकोण अचेलका मानिसको बदलिसकेको जस्तो लाग्छ । कारण पढेर मात्रै के हुने हो र ? पढेर कसले कति पो गर्न सकेको छ र ? पढाईले हुने भए यसरी दिनहुँ युवाहरु खाडी भासिनुपर्ने थियो र ? लगायतका यस्ता अनगिन्ती प्रश्नहरुको सही जवाफ नपाएका अहिलेको शिक्षित वर्गलाई समेत बुझाउन गाह्रो भइसकेको छ ।

‘जब शिक्षाले नै शिक्षित मानिसहरुको दिमागमा यस्ता किसिमका प्रश्नहरु सिर्जना गर्छ । पढेका मानिसहरुले नै पढेर मात्रै भविष्य देख्न छाडिसके भने हामी किन यही शिक्षालाई निरन्तरता दिन खोजिरहेका छौँ ? यसबारे कसले सोच्ने ? अझै ढिलाई भएन र ?’ प्रतिप्रश्न गर्दै उनले भनिन् । 

नायिका बन्छु भन्ने लागेकै थिएन् 

काठमार्डौको कुलेश्वरस्थित रिचमाइन्ड एकेडेमीबाट २०६३ सालमा एसएलसी पास गरेकी नकर्मीले आफ्ना बारे अलिक फरक धारणा राखिन् । त्यो के भने उनी पढेर आफु नायिका बन्छु भन्ने नै लागेको थिएन । 

एक दुईवटा म्युजिक भिडियो खेल्दै फिल्म खेल्न अफर आएपछि उनले नाई भन्न सकिनन् ।  ‘सानैदेखि नृत्यमा रुचि थियो । विद्यालयमा अतिरिक्त क्रियाकलाप हुदाँ पनि सधै भाग लिन्थे । अभिनयमा पनि त्यत्तिकै शोख थियो । तर यसरी नायिका नै बन्छु भन्ने पटक्कै लागेको थिएन् । फिल्ममा गरेको अभिनय सबैले मन पराएपछि नायिका नै बनेकी छु ।’ उनले भनिन् ।

अन्तरालबाट नेपाली फिल्म क्षेत्रमा उदाएकी अशिष्मालाई ‘अर्धकट्टी’ फिल्मले थप चर्चामा ल्याएको हो । 

गत बर्षको दशैमा रिलिज भएको यस फिल्मले औषत व्यापार मात्रै गरेको थियो । तर अशिष्मालाई नेपाली फिल्म क्षेत्रमा अभिनय गर्न सक्ने क्षमताशिल नायिकामा यस फिल्मले उभ्यायो । 

दुईसाताअघि मात्रै रिलिज भएको ‘बाटो मुनिको फुल २’ मा समेत मुख्य नायिका रहेकी अशिष्माले आगामी दुई फिल्म ‘राधे’ र ‘हिरो रिटन्र्स’ खेल्ने पनि पक्कापक्की जस्तै भएको छ । 

एक्सनस्टार निखिल उप्रेति, थिएटरका ‘किङ’ अभिनेता मानिने सौगात मल्लसंग उनले खेलेको फिल्म ‘संरक्षण’को छायांकन सकिदै प्रदर्शनमा आउने तरखर भइरहदा उनी पनि अब व्यस्त नायिकाको सूचीमा पर्न थालेकी छन् । 

प्राविधिक शिक्षाको टड्कारो

नामले भन्दा कामले सफलता हात पर्ने भन्दै नायिका अशिष्मा यसका लागी कामप्रतिको लगाव र सीप हुनुपर्नेमा जोड दिन्छिन् ।  यी दुईवटै काममा निर्पूणता ल्याउन ‘प्राविधिक शिक्षा’को आवश्यकता टड्कारो रहेको उनको बुझाई छ । 

घोकेर पास गर्ने, एक महिना घरमै बसेर पनि परीक्षामा उतीर्ण हुन सकिने शिक्षाप्रणाली भन्दा स्वंयम व्यक्तिले पढेको कति कुरा जीवनमा लागु गर्न सक्छ भनेर मुल्यांकन गर्नुपर्ने नायिका नकर्मी बताउँछिन् । 

‘वास्तवमा मानिसको क्षमताको जाचँ कसले गर्न सक्छ ? कागजी प्रमाणपत्र हेरेर मात्र मानिसको असिमित क्षमतालाई मुल्यांकन गर्न मिल्दैन् । त्यसैले कसैले पढेको हुन सक्छ । कसैले नपढेर पनि धेरै कुरा जानेको हुन्छ । मानिसले पढेर दैनिक जीवनमा लागु गरेको कुरालाई अब मुल्यांकनको आधार बनाईनुपर्छ ।’ नायिका अशिष्माले भनिन् ।  

अमेरिकाबाट ‘हस्पिटालिटी’ विषय अध्ययन गरेर नेपाल फिरेकी अशिष्मा अबका दिनमा शिक्षालाई प्राविधिक बनाउनैपर्ने धारणा राख्छिन् । किनकी शिक्षा नै विकासको मुल मन्त्र र सिर्जनाको सही उपयोग गर्ने प्रणाली भएकाले यसलाई सैद्धान्तिक भन्दा व्यवहारिक र व्यवसायिक बनाउनुपर्ने उनको भनाई छ । 

‘आज अमेरिका, जापान, बेलायत लगायतका देशहरु धेरै विकास भइसकेका छन् । तर हामी किन भएनौँ ? कारण यही हो । हामी कुराले मात्रै शिक्षित भयौँ । काममा दक्ष हुन सकेनौँ’ उनले भनिन् ‘त्यसैले अबका दिनमा यो ‘हाउ टु पास’ मात्रै भनेर पढ्ने र पढाउने काम बन्द गर्नुपर्छ । यसलाई पूर्ण रुपमा नहटाएसम्म हाम्रो शिक्षा प्रणाली सुधार हुन सक्दैन् ।’ 

सुधारका लागी दुई उपाय

नायिका अशिष्माका भनाईमा अहिलेको हाम्रो शिक्षा प्रणाली सुधारका लागी मुख्यतः दुई ओटा उपाय अपनाउन जरुरी छ ।  ती दुई ओटा उपायमा पहिला शिक्षा क्षेत्रकै मानिसहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ । 

‘शिक्षकले राम्रोसंग उत्कृष्ट ढंगले पढाउनुपर्यो । विद्यार्थीले पनि राम्रोसंग पढ्नुपर्यो । र शिक्षा क्षेत्र सम्हालेका व्यक्तिहरुले शिक्षालाई व्यवहारिक, व्यवसायिक र गुणस्तरीय बनाउन नयाँ नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्यो ।’ उनले भनिन् । 

हरेकले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा अहिलेको हाम्रो शिक्षा धेरैहदसम्म सुध्रिन सक्छ । र अहिलेको आवश्यकता बमोजिम प्राविधिको शिक्षाको अवधारणा पनि आउन सक्ने नायिका अशिष्माको भनाई छ । 

अर्को उपाय भनेको शिक्षालाई अहिलेको स्वरुप बदल्नुपर्छ । स्वरुप भनेको पढ्नलाई विद्यालय जाने तर पढेर मात्रै आउने, हाम्रो दैनिक काममा सहयोग पुग्ने सिकाई नहुने, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा काम गर्न दक्ष जनशक्ति उत्पादनमा हाम्रो शिक्षा धेरै पछाडी छ ।  कारण उनीहरुलाई दक्ष बनाएर रचनात्मक काममा लाग्न हाम्रो शिक्षाले प्रेरित गर्न सकेन् । 

‘एउटा शिक्षित मानिसले विश्व नै बदल्न सक्छ । तर हाम्रा शिक्षित मानिसहरु नै भ्रष्टाचार, नातावाद, कृपावाद अझ भन्ने हो भने यो पार्टीको, उ पार्टीको मान्छे भनेर भन्छन् । उनीहरु रचनात्मक काममा लाग्ने सकेनन् । यो दुःखद हो । त्यसैले यसका लागी अब शिक्षाको पूरा स्वरुप नै बदल्नुपर्छ ।’ उनले भनिन् । 

प्रकाशित मिति २०७३ बैशाख १८ गते । 

 

 

 

 

 

 

प्रतिक्रिया