Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

बन्द संस्कृत पाठशाला पुनः सञ्चालन

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ, १८ वैशाख । तीन वर्षदेखि बन्द रहेको शालग्राम गण्डकी वेदविद्याश्रम पुनः सञ्चालनमा आएको छ ।  अङ्ग्रेजी भाषाप्रति विद्यार्थीको आकर्षणका कारण विसं २०७० मा विद्यार्थी अभाव भएपछि ५० वर्षदेखि सञ्चालित विद्याश्रम बन्द भएको थियो । 

नयाँ शैक्षिक सत्र २०७३ को सुरुवातसँगै संस्कृति र अङ्ग्रेजीलगायत अन्य पाठ्यक्रम तथा विषयको पाठनपाठनसहित पाठशाला पुनः सञ्चालन गरिएको हो ।  बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा भक्तजनले चढाउने भेटिबाट सञ्चालन गरिएको विद्याश्रममा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्राबास, पोसाक र भोजनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

हालसम्म म्याग्दी, पर्वतका, कास्की र मुगुका ६ जना विद्यार्थी भर्ना भइसकेका छन् । पाठशालामा पन्ध्र जना विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ ।  तीन जना शिक्षकको व्यवस्था गरिएको छ । कूल ८०० अङ्कभार मध्ये ५०० संस्कृत र अँग्रेजी, गणीत तथा नेपाली विषयको पाठ्यक्रमको पढाइ हुने अध्यक्ष केसीले बताए । 

निमावि तहसम्मको पठनपाठन हुने पाठशालामा ब्रह्माणका अलावा क्षेत्री, दलित र जनजाति समुदायका विद्यार्थीलाई पनि अध्ययन गर्न दिइने केसीले जानकारी दिए ।  जिल्ला शिक्षा कार्यालयबाट पनि अनुदान सहयोग पाउने उक्त विद्यालयले नेपाल सरकारले तयार पारेको संस्कृत शिक्षासम्बन्धी पाठ्यक्रम लागू गरेको छ ।  

रासस 

 

प्रतिक्रिया