Edukhabar
शुक्रबार, ११ असोज २०८१
खबर/फिचर

बालश्रममा रमाउँदै पढ्नेहरु भन्छन् 'आर्मी, फुटबलर र नायिका बन्ने सपना छ'

शुक्रबार, १७ बैशाख २०७३

                                     अनिता चौधरी (बायाँ) श्यामलाल थापा (बीचमा) र संचरना अर्याल (दाया)

- विष्णु विवेक / काठमाडौँ - १४ बर्ष उमेर भएकी बर्दिया गुलरियाकी अनिता चौधरीलाई ‘बालश्रम’ भन्ने शब्दको अर्थ नै थाहा छैन् ।  काठमाडौँको हाडीगाउँमा बस्ने उनका यहाँ न कुनै आफन्त छन् न त परिवार । आफन्तले सानैमा काठमाडौँ ल्याएर घरमा काम गर्न राखेपछि उनी कक्षा ८ मा नजिकै रहेको टंगाल उच्च माविमा पढिरहेकी छन् । 

‘के हो बालश्रम भनेको ? खोई म त काम गर्दै पढिरहेकी छुँ’ एडुखबर संवाददाताको जिज्ञासामा उनले भनिन् ‘पढेर ठूलो भएपछि आर्मी बन्ने सपना छ । अरु त केही पनि थाहा छैन् ।’  पढ्नैका लागी काम गरेको भन्नेसम्म आभास उनलाई छ । ‘म पढ्नकै लागी काठमाडौँ आएकी हुँ । सानैमा आउँदा आन्टीको घरमा काम गर्थे । उहाँले पढ्छु भनेपछि विद्यालयमा नाम लेखाईदिनुभयो ।’

कहिलेकाही घरको यादले सताएपछि मनमनै भक्कानिन्छन् पनि अनिता । तर आशुँ नै झारेर रुन भने डराउँछिन् । बरु मनमनै प्रण गर्छिन् ठूली भएपछि आर्मी बनेर देखाउँछु भनेर ।

‘कहिलेकाँही घरको याद निकै आउँछ । कत्ति रुन मन लाग्छ । एक्लै भए रुन्छु पनि । तर डाकोँ छाडेर अरुको अगाडी रुदिन् । रोएको बेला सम्झिन्छु र ठूलो भएपछि आर्मी बन्छु भन्ने मनमा ठूलो आश राख्छु ।’ उनले भनिन् ।

१४ बर्षभन्दा सानो उमेरमै अर्काको घरमा काम गर्नु बालश्रम हो । बालबालिकालाई आधारभुत आवश्यकता पुरा गर्न गराउन उनीहरुको इच्छाविपरित कुनै पनि काम गराउनु बालश्रम हो भन्ने उनलाई जानकारी नै छैन् । किनकी उनलाई बालश्रमबारे जान्न भन्दा पनि आफुले जस्तोसुकै गरेर भएपनि पढ्नु मुख्य काम हो जस्तो लाग्छ । 

अनिताले काम गरिरहेकै घरकी आन्टीले पढेर आर्मी बन्ने भए मैले नि सहयोग गर्छु भनेपछि उनको मन दंग छ । कहिले एसएलसी दिऊ, त्यसपछि प्लस टु पढौँ र आर्मी बनौ भन्ने अनितालाई लागिरहन्छ । त्यसैले पनि घरमा गरेका कामको सबै पीडा बिर्सेर उनी पढाईलाई नै जोड दिइरहेकी छन् । 

घरको कामले पढ्न त्यति समय नपाएपनि उनी कक्षाकोठामा ध्यान दिएर पढ्ने गरेकी विद्यालयका शिक्षक सरोज बस्नेतले बताए ।  ‘पढाईमा निकै ध्यान छ । अहिलेसम्म फेल भएकी छैनन् । ठूलो भएपछि आर्मी बन्ने सपना बेला बेला हामीलाई पनि सुनाउँछे ।’ उनले भने । 

उनीसंगै पढ्ने धादिङकी संरचना अर्याल पनि अर्कैको घरमा काम गरेरै पढिरहेकी छन् । उमेर १३ बर्ष मात्र भएकी उनी पढेर कुकमेन बन्ने धोको पालेकी छन् । पछि गएर उनलाई नायिका बन्ने सपना पनि छ ।  ‘म पहिला एसएलसी सकेपछि ‘कुक’को काम गर्छु । त्यसपछि विस्तारै विस्तारै अभिनय र नृत्य सिकेर रंगकर्ममा लाग्छु ।’ संरचनाले भनिन् । 

उनले दुईओटा सपना यसकारण पाल्नुको कारण फरक छ । किनकी धेरै पढेर बस्नुभन्दा पढ्दै सिक्दै र काम गर्दै अगाडी जानुपर्छ भन्ने उनको भोगाईले सिकाएको छ ।  धेरै पढेकाहरुले जागिर नपाएको पनि उनी पत्रपत्रिका र रेडियोबाट सुन्छिन् । त्यसैले पढेर पहिला कुक (खाना पकाउन) सिक्ने । अनि त्यसपछि विस्तारै पैसा जम्मा गर्दै नायिका बन्न अभिनय र नृत्य पनि सिक्ने । 

‘मलाई नायिका बन्नलाई गाह्रो छ । तर असम्भव छैन् भन्ने लाग्छ । पहिला कुकमेन बन्छु । अनि त्यसबाट आएको पैसाले नृत्य र अभिनय सिक्छु । अनि विस्तारै विस्तारै आफ्नो लक्ष्यमा पुग्छु ।’ उनले भनिन् ।  उनी काम गर्ने घरका मान्छेले स्टुडियो खोलेका छन् । फिल्मको कामदेखि गीत रेडर्क र मिक्सिङ गर्ने काम गर्नेहरुको संगतले उनलाई मनोरञ्जन क्षेत्रमा आकर्षण बढाएको हो । 

‘म नायिका बन्छु भन्ने कुरा मैले काम गर्ने घरका मान्छेबाट सिकेकी हुँ । नाच्न र अभिनय गर्न सिकेपछि नायिका भइने रहेछ । त्यसपछि मलाई पनि नायिका बन्छु भन्ने नै लाग्यो । तर यसका लागी चाहिने पैसा भने पहिला आफैले जम्मा गर्नुपर्ने रहेछ ।’ उनले वास्तविकता सुनाइन् । 

घरमा कुनै ठूलो काम गर्नु नपर्ने भएपनि अर्काको घरमा बसेर पढ्न चुनौति रहेको संरचना बताँउछिन् ।  ‘आफ्नो घरको जस्तो सजिलो हुदो रहेनछ । आफ्नो घरमा त जे गर्न पनि पाइन्छ । स्वतन्त्र भएर हिड्न, खेल्न र खेल्दै सिक्न पनि पाइन्छ । तर यहाँ त केही पनि पाइदैन् । कहिलेकाही उदेक लाग्छ ।’ उनले भनिन् । 

तर आफुलाई केही गरेर देखाउन मन भएकाले यस्ता साना कुरामा ठूलो चिन्ता नलिने गरेको पनि संरचना बताउँछिन् ।  ‘मलाई भोली गएर केही गर्नुपर्छ भन्ने राम्रोसंग थाहा छ । आज जतिसुकै ठूलो दुःख भएपनि भोली सुःख पाइन्छ भनेर नै साना कुराबाट डराउने बानी हराउँदै गएको छ ।’ 

टंगाल उच्च माविमै पढ्ने श्यामलाल थापा कक्षा ३ मा पढ्छन् । बाँकेको नेपालगञ्ज घर भएका श्याम सानैदेखि स्कुल पढ्न छाडेर खेल्ने र काम गर्ने गर्थे । नेपालगञ्ज छदाँ रिक्सा चलाउने काम गरिरहेका उनी पनि आफन्तकै सहयोगमा काठमाडौँ आए । 

उमेरले १३ बर्षका श्याम टंगालमै रहेको एक घरमा काम गर्दै पढिरहेका छन् । उनलाई भोली गएर ठूलो फुटबलर बन्ने सपना छ ।  फूटबल बारे धेरै कुरा थाहा नपाएपनि उनको फुटबलप्रतिको मोहले उनका साथीहरु नै उनलाई ‘फुटबल खेलाडी’ भनेर बोलाउँछन् । 

बल छक्याएर गोल हान्न सिपालु उनी पढेर भोली गएर देशका लागी खेल्ने चाहना रहेको बताउँछन् ।  ‘मलाई फुटबलप्रति निकै ठूलो रुचि छ । जतिबेला पनि फुटबल खेल्न मात्रै मन लाग्छ ।’ उनले भने ‘मैले फुटबल बढी खेल्न थालेपछि साथीहरु पनि फुटबल खेलाडी भनेर बेलाउँछन् ।’

उनको फुटबलप्रतिको मोहबारे श्यामकै साथी संरचनालाई पनि थाहा छ । स्कुलमा कक्षाकोठाबाट निस्कनेवित्तिकै उनी फुटबलमा झुम्मिहाल्छन् ।   ‘जतिबेला पनि फुटबल मात्रै खेल्छ । फुटबल खेल्दा यसरी बल छक्याएर गोल हान्छ की, हामी पनि हेर्दै दंग पर्छौँ । भोली यो ठुलै फुटबल खेलाडी बन्छ जस्तो लाग्छ ।’ संरचनाले भनिन् । 

फरक फरक उद्धेश्य बोेकेका यी तिनैजनालाई पढ्नुपर्छ भन्ने राम्रोसंग थाहा छ । नपढेसम्म धेरै गर्न सकिदैन भन्ने ज्ञान भएका उनीहरु जस्तो सुकै दुःख सहेर पनि स्नातकसम्म पढ्ने धोको राख्छन् । 

‘जति दुःख भएपनि हामी तिनैजना पढ्ने सोच राखेका छौँ । धेरै नभएपनि ब्याच्लर सम्म पढेर आफुले सोचेको काम गर्ने योजना बनाएका छौँ ।’ तीनैजनाले पालैपालो भने ।  उनीहरु कहिलेकाहीँ आ–आफ्ना दुःखका कुरा पनि बाड्छन् । ‘कहिलेकाहँी घरमा भोगेका समस्याहरु एक अर्कालाई बाड्छौँ । ‘कहिले उसले मलाई म उसलाई आफ्ना कुरा भन्ने गर्छौँ । यसरी साथीलाई सुनाउँदा दुःख पाउने म मात्रै होइन रहेछु भन्ने लाग्छ ।’ अनिताले भनिन् । 

घरमा काम गर्दा भएका दुःख सुख साट्दै पढाईलाई अगाडी बढाइरहेका उनीहरुको आखाँमा पनि सपना स्पष्ट देखिन्छ । सधै शान्त रहेर पढ्ने उनीहरु अध्ययनमा बढी रुचि राख्ने गरेका विद्यालयमा प्रधानाध्यापक राजेन्द्र अधिकारी बताउँछन् ।  ‘यी तिनजना मिल्ने साथी पनि हुन् । सधै शान्त देखिरहेको हुन्छु । पढेर ठूलो बन्ने सपना पनि यिनले राखेका छन् ।’ उनले भने । 

प्रधानाध्यापक अधिकारीका अनुसार विद्यालयमा धेरैजसो विद्यार्थीहरु बाहिर जिल्लाबाट आएर अरुकै घरमा काम गर्दै पढ्नेहरु छन् ।  ‘९५ प्रतिशत विद्यार्थी यस्तै अरुकै घरमा काम गर्दै पढिरहेका छन् । तर पढाईमा साह्रँै मेहेनती छन्’ उनले भने ‘टंगालमा धेरैजसो बालबालिका बालश्रम गर्न बाध्य भएपनि पढाईबाट बञ्चित कसैले गरेको छैन् । हामीले पनि यसका लागी आवश्यक सहयोग गर्दै आएका छौँ ।’ 

काठमाडौँमा काम गर्दै पढ्ने यस्ता बालबालिका धेरै छन् । राष्ट्रिय बाल कल्याण समितीका निर्देशक तारक धितालका अनुसार देशभर ६ लाख बालबालिका बालश्रमको उच्च जोखिममा छन् भने १६ लाख बालश्रम गर्न बाध्य छन् । 

प्रकाशित मिति २०७३ बैशाख १७ गते । 

 

 

 

 

 

प्रतिक्रिया