Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

नेविसङ्घद्वारा विद्यालय भवन हस्तान्तरण

शुक्रबार, १७ बैशाख २०७३

काठमाडौँ, १७ वैशाख । नेपाल विद्यार्थी सङ्घको सक्रियतामा निर्माण भएको विद्यालय भवन हस्तान्तरण गरिएको छ । गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको कीर्तिपुर माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक चारकोठे भवन निर्माण गरी विद्यालयलाई बिहीबार हस्तान्तरण गरिएको हो । 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णको वास्तुकलामा निर्माण भएको सो भवनलाई नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले हस्तान्तरण गरेको हो । नेता सिंहले भूकम्प गएको एक वर्ष वितिसक्दा पनि सरकारले काम गर्न नसक्नु दुःखद कुरा भएको उल्लेख गरे । 

उनले भने – “भूकम्प र नाकाबन्दीले जनता गाँस, बास र कपासको समस्यामा छन् । यसलाई सरकारले चाँडो पूरा गर्नुपर्छ ।”  उनले संविधान कार्यान्वयन र पुनःनिर्माणमा नेपाली काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्ने पनि स्पष्ट पारे ।

नेविसङ्घका पूर्व अध्यक्ष गोविन्द भट्टराईले नेविसङ्घले भूकम्पपछि पुनःनिर्माणमा खेलेको भूमिकाको सराहना गरे ।  नेविसङ्घका अध्यक्ष कर्णले नेविसङ्घलाई अब शैक्षिक मुद्दामा केन्द्रित गरेर अगाडि लैजाने बताए । 

भवन दुई लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

रासस 

 

प्रतिक्रिया