Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

त्रिविका स्नातक स्नातकोत्तर पढ्न अयोग्य

विहीबार, २९ माघ २०७१

काठमाडौं २९ माघ / त्रिभुवन विश्वविद्यालयका स्नातकहरु आफ्नै विश्वविद्यालयको स्नातकोत्तर तह पढ्न अयोग्य भएका छन् । विश्वविद्यालय क्याम्पसमा लागू भएको सेमेष्टर प्रणालीमा पढ्न ईच्छुक भएर प्रबेश परीक्षा दिएका विद्यार्थी फेल भएपछि यो तथ्य पुष्टि भएको हो ।

सेमेष्टरका लागि विश्वविद्यालयले निर्धारण गरेको कोटा भन्दा ज्यादै न्यून विद्यार्थीले मात्रै फर्म भरेका थिए । तीनै मध्ये पनि औषतमा झण्डै आधा भन्दा धेरै विद्यार्थी स्नताकोत्तर पढ्न अयोग्य भएका छन् । ‘आवश्यक कोटा भन्दा धेरै संख्यामा प्रतिस्पर्धि भए मात्रै अंकका आधारमा पास फेल हुन्छ, तर हाम्रोमा आवश्यकता भन्दा कम प्रतिस्पर्धि हुँदा पनि पास अँक समेत ल्याउन सकेनन्’ त्रिविका एक कर्मचारीले भने, ‘यसले हाम्रा विद्यार्थीले के पढिरहेका छन् ? भन्ने प्रश्न उब्जाएको छ ।’

१५ गते सम्म फर्म भर्ने म्याद भनिएपनि प्रबेश परीक्षाका दिन २५ गते सम्म पनि विश्वविद्यालयले फर्म बुझ्ने काम जारी राखेको थियो । तै पनि कोटाका लागि आवश्यक विद्यार्थी संख्या पुगेको थिएन ।

मंगलबार प्रकाशित मानविकी संकायको परीक्षाफल अनुसार संकायमा रहेका २१ वटा विषयमा अधिकाँश विद्यार्थी उनुत्तिर्ण भएका छन् । अँग्रेजी विषयको ३ सय २० कोटाका लागि फर्म भरेका २ सय ४५ जना मध्ये जम्मा १ सय ४० जना मात्रै उत्तिर्ण भएका छन् । यस्तै समाज शास्त्र तथा मानव शास्त्रका लागि निर्धारण गरिएको २ सय कोटाका लागि १ सय ९ जनाको मात्रै आवेदन परेकोमा ८५ जना मात्रै उत्तिर्ण भएका छन् ।
सबै भन्दा कम विद्यार्थीको फर्म परेको मध्येको जनसंख्यामा पनि आवेदन परेका सबै विद्यार्थी पास भएका छैनन् । १ सय कोटाको जनसंख्यामा फर्म भर्ने ५ जना मध्ये ३ जना मात्रै उत्तिर्ण भएका छन् ।

१ सय कोटाको पत्रकारितामा ४५ , सय कोटाकै ललितकलामा ५७, ५० कोटाको पुस्तकालय विज्ञानमा १९, ५० कोटाको हिन्दिमा ६, ५० कोटाको भूगोलमा १२, १ सय कोटाको बौद्ध अध्ययनमा १८, ५० कोछाको संस्कृतिमा ३४, ५० कोटाको मनोविज्ञानमा २२, ५० कोटाकै भाषा विज्ञानमा ८ जना उत्तिर्ण भएका छन् ।

यसैगरी ५० कोटाको जेण्डर स्टडीमा ३३, १ सय कोटाको ग्रामिण विकासमा ३०, २ सय कोटाको नेपालीमा २३, १ सय कोटाको राजनीीत शास्त्रमा २८ जना विद्यार्थी मात्रै प्रबेश परीक्षा उत्तिर्ण भएका छन् ।

त्रिविले आफ्नै उत्पादनलाई नपत्याएर फेल गर्नु लाजमर्दो भएको त्रिविका विद्यार्थी नेता बताउँछन् । ‘एकातिर कोटा अनुसार विद्यार्थी संख्या पुगेको छैन, अर्कोतिर प्रबेश परीक्षामा फेल भएको भन्दै आफ्नै स्नातकलाई स्नातकोत्तर पढ्न बञ्चित गरिएको छ’ विद्यार्थी नेता पारसमणि घिमिरेले भने, ‘यसले समेष्टर प्रणालीका बारेमा पर्याप्त तयारी नपुगेको कुरालाई थप पुष्टि गरेको छ ।’

गएको ७ गते भएको विज्ञान संकायको प्रबेश परीक्षाको नतिजा अहिले सम्म सार्वजनिक भएको छैन । शिक्षा र ब्यवस्थापनको प्रबेश परीक्षा भने फागुन २ गते हुँदै छ ।

प्रतिक्रिया