Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

७१ जिल्लामा पाठ्यपुस्तक अभाव, २० लाख पुस्तक छाप्न बाँकी

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ बैशाख । विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भइसकेको छ । देशका ७१ जिल्लाका लाखौँ विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।  शैक्षिक सत्रको शुरुवातमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने दाबी गरेको सरकारले अझै २० लाख थान भन्दा बढी पाठ्यपुस्तक छाप्न सकेको छैन ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो निवास नजिकैको महेन्द्र माविमा वितरण गरेका कक्षा ९ र १० का अपुरो सेट वितरण गरेका थिए । उनले वितरण गरेको सेटमा समेत कक्षा ९ को लेखा, कक्षा १० ऐच्छिक गणित र कक्षा ६ को सामाजिक बिषयका पुस्तक थिएनन ।  देशभरका सबै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने भन्दै सरकारले वैशाख ५ देखि १५ गतेसम्म ुपाठ्यपुस्तक वितरण अभियानु नै चलाएको थियो । तर, बुधबार अभियान सकिँदासम्म देशका ७१ जिल्लाका लाखौँ विद्यार्थी पुस्तक पाउनबाट बञ्चित भएको तथ्यांक शिक्षा विभागबाट प्राप्त भएको छ ।विभाग स्रोतले नागरिकलाई उपलब्ध गराएको तथ्यांक अनुसार फागुनबाट शैक्षिक सत्र शुरु भएका चार हिमाली जिल्ला डोल्पा, मनाङ, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा पुस्तक पुगेको छैन । देशभरका जिल्ला शिक्षा कार्यालय तथा क्षेत्रिय शिक्षा निर्देशनालयले पठाएको तथ्यांक अनुसार कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तकमा भने कुनै जिल्लामा समस्या छैन ।

तर, ६ देखी १० सम्मका पुस्तकमा भने १० देखी ९० प्रतिशतसम्म समस्या देखिएको छ । कतिपय जिल्ला पुस्तकनै पुगेका छैनन भने कतिपय जिल्ला अपुरो सेट मात्र पुर्याइएको छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ देखी १० सम्म कुल १ एक करोड ७७ लाख ५३ हजार २ सय १८ थान पुस्तक आवश्यक पर्ने छ । तीमध्ये छाप्न बाँकी २० लाख थान पुस्तक कक्षा ६ र ७ कक्षाका हुन भने कक्षा ९ र १० का केही ऐच्छिक विषयहरु पनि छपाई सकिएर बाँइन्डिङ लगायतका कामको अन्तिम अवस्थामा पुगेका छन् । 

पुस्तकको समस्या सबैभन्दा बढी दुर्गम जिल्ला मुगुमा छ । पुस्तक वितरण अभियान सकिएको अन्तिम दिन बुधबार साँझसम्म मुगुमा एक थान पुस्तक पनि पुगेको छैन । यस वर्षको शैक्षिक सत्रमा त्यस जिल्लामा कुनै पनि कक्षाका पुस्तकहरु पुगेका छैनन । मुगुले विभागमा उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा गत वर्षको कक्षा १ देखी १० सम्मको १२ सय थान पुस्तक केही समय अघि मात्र आएको थियो । 

दुर्गम जिल्ला मुगु मात्र होइन पाठ्यपुस्तकको समस्या राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा पनि छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला शिक्षा अधिकारीले दिएको जानकारी अनुसार तीनवटै जिल्लामा कक्षा ६ देखी १० सम्मका पुरा सेट किताब छैनन । भक्तपुरका १ सय २८ विद्यालयमध्ये १ सय २२ वटामा पाठ्यपुस्तक पुगेको छ भने बाँकी ६ वटा विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक पुगेका भनिएका विद्यालयमा पनि कक्षा ६ देखी १० को ऐच्छिक विषयका पुस्तक धेरै विद्यालयमा पुग्न बाँकी छ । काठमाडौं र ललितपुरमा भने अनिवार्य विषयका केही र ऐच्छिक विषयका पुस्तक आउन बाँकी छ ।

विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न नसक्दा र छापिएका पुस्तकहरु गोदामबाट ढुवानी नगर्दा पाठ्यपुस्तक अभाव भएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल कुमार झाले कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तकमा कुनै समस्या नरहेको र अरु कक्षाका पाठ्यपुस्तक समेत छपाई सकिएको दाबी गरे । ुहामीले विद्यालयमा पाठ्यपुस्तक पठाईसकेका छौँ । केही जिल्लामा ढुवानीमा समस्या हुँदा पुग्ने क्रममा छु उनले भने ।

उनले छाप्न बाँकी रहेको २० लाख थान पुस्तकका विषयमा भने केही बोल्न चाहेनन् । तर, केन्द्रले बुधबार विभागलाई २० लाख थान पुस्तक ुफिनिसिङुका क्रममा रहेको जानकारी दिएको छ । केन्द्र स्रोतका अनुसार फिनिसिङका क्रममा रहेका भनिएका पुस्तक अझै छापामा धमाधम छापिदै छन् । जिल्ला शिक्षा कार्यालय रोल्पाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा अझै ४० प्रतिशत विद्यार्थीका लागि पुस्तक अभाव छ । जिल्लाका ५० प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् भने १० प्रतिशतलाई अझै वितरण गर्न बाँकी रहेको छ ।

दैलेख जिल्लामा अझै कक्षा ६ देखी १० का विद्यार्थीलाई पाठ्यपुस्तक नै गएको छैन । जिल्ला शिक्षा कार्यालयले आवश्यक पुस्तक बाटैमा रहेकाले बिहिबारसम्म आइपुग्ने संभावना रहेको जानकारी दिएको छ । अर्घाखाँची जिल्लाले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ मा चार हजार, कक्षा ७ मा ३५ सय, कक्षा ८ मा ३ हजार, कक्षा ९ मा २ हजार र कक्षा १० मा पनि २ हजार सेट पुस्तक अपुग छ । यस्तै अछाममा कक्षा ६ मा ११ सय, ७ मा ८ सय ५०, ८ मा ३ सय ९०, ९ मा ६ सय ४० र १० मा ७ सय ३० सेट पुस्तक अपुग छन् ।

रसुवाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा कक्षा ६ देखी १० सम्मका विद्यार्थीलाई अझै २० प्रतिशत पुस्तक अपुग छ । जिल्ला शिक्षा कार्यालय बाराका अनुसार जिल्लामा कक्षा ६ देखी १० सम्म ४ हजार सेट पुस्तक अपुग छन् भने कक्षा ९ को कुनै पनि पुस्तक आइपुगेको छैन । पर्सामा अझै ५० प्रतिशत पुस्तक पुग्न बाँकी छ । यसैगरी, अन्य जिल्लाहरुले कक्षा ६ देखी १० सम्मका ऐच्छिक र अनिवार्य विषयका नेपाली, सामाजिक, विज्ञान लगायतका पुस्तक अभाव रहेको तथ्यांक विभागमा पठाएका छन् ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया