Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

पद्मकन्या उमाविमा छात्रावासको शिलान्यास

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ वैशाख । भारतीय दूतावासको सहयोगमा डिल्लीबजारस्थित पद्मकन्या उच्च माविमा आगामी असारमहिनाभित्र ‘मङ्गलादेवी सिंह मेमोरियल महिला छात्रावास’ निर्माण हुने भएको छ । 

रु तीन करोड ७० लाखको लागतमा उच्च मावि परिसरभित्रै निर्माण गर्न लागिएको चारतलायुक्त ३९ कोठे सो छात्रावासको व्यवस्थापन काठमाडौँ जिल्ला विकास समितिले गर्ने भएको छ । 

छात्रावासमा विभिन्न जिल्लाका आदिवासी, दलित, मुस्लिम तथा पिछडिएका क्षेत्रका बालिकालाई राखिने विद्यालयको लक्ष्य छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक प्राविधिक विषयको अध्यापन गराउने सरकारी लक्ष्यबमोजिम उक्त विद्यालयमा यसै वर्षदेखि कक्षा ९ देखि सिभिल इन्जिनियरिङ विषयको पढाइसमेत हुने भएको छ । 

महिला नेत्री मङ्लादेवी सिंह, साहना प्रधानलगायतले महिलाका लागि विद्यालय खोल्न दबाब दिएपछि तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले उपलब्ध गराएको १३ रोपनी जमिनमा २००४ सालमा सो विद्यालय निर्माण गरिएको थियो । 

सो छात्रावासको पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत रणजीत रायले बुधबार संयुक्त रुपमा शिलान्यास गरेको हो ।  पूर्वउपप्रधानमन्त्री सिंहले सुविधासम्पन्न काठमाडाँैमा पनि छात्रावासको अभावमा दलित, आदिवासी जनजाति तथा पिछडिएका वर्गका महिलाले उचित शिक्षा पाउन नसकिरहेको अवस्थामा छात्रावासको निर्माणले केही हदसम्म समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भारतीय राजदूत रायले शिक्षाको विकासले नै देशको विकास हुने बताए ।  स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले निर्माण हुन लागेको सो छात्रावासको सम्पूर्ण जिम्मा जिविसले लिने बताए । 

रासस 

 

प्रतिक्रिया