Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

प्रधानमन्त्रीले निःशुल्क वितरण गरेको विद्यालयमै किताब छैन् !

बुधबार, १५ बैशाख २०७३

विष्णु विवेक / सरकारले ६ लाख बढी विद्यार्थीलाई विद्यालयमा ल्याउन शुरु गरेको भर्ना अभियान र निःशुल्क पाठ्यपुस्तक वितरणको कार्यक्रम नौटंकी मात्र भएको पुष्टि भएको छ ।  बैशाख १ देखि १५ गतेसम्म भर्ना अभियान र निःशुल्क पाठ्यपुस्तक वितरण अभियान चलाएको सरकारले केही किताब बोकेर प्रधानमन्त्री तथा शिक्षामन्त्री लगायतका नेतागणबाट  निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै नौटंकी मात्रै गरेको पुष्टि मंगलवार महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालय बालुवाटारमा देखिएको हो । 

विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै हातबाट ३८ जना विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण कार्यक्रम शुरु भयो । नमुनाका रुपमा केही विद्यार्थीलाई पुस्तक बाडेको भएपनि सेटमा सबै विषय उपलब्ध छैनन् । कक्षा ९ को लेखा र कक्षा १० को अतिरिक्त गणित विषय बाडिएका सेटमा अपुग छन् । 

शिक्षा मन्त्रालय र विभागले आफ्नो कार्यक्रम तामझामका साथ सफल भएको देखाउन प्रधानमन्त्रीलाई उपस्थित गराएर विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको भएपनि अन्ततः सोही विद्यालयमा पाठ्यपुस्तक नपुगेको फेला परेको हो ।

कक्षा १० का छात्र सागर थापाले अतिरिक्त गणित विषयको किताब पाउन सकेका छैनन् । ‘मैले अनिवार्य विषयहरु आज (बुधबार) मात्र पाएको छु तर अहिलेसम्म पनि अतिरिक्त गणित विषयको किताब पाएको छैन्’ उनले भने ‘सरले अबको एक दुई दिनमा आइपुग्छ भन्नु भएको छ ।’

कक्षा ९ को लेखा विषय पनि विद्यालयमा पुगेको छैन् । विद्यालयमा पठनपाठन शुरु भएको एकहप्ता वितिसक्दा पनि सबै विषयको पाठ्यपुस्तक नपुग्दा विद्यार्थीलाई समस्या भएको छ । 

विद्यालयमा उपलब्ध भएका पुस्तक पनि बुधबार मात्र बाडिएका छन् । मंगलबार कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि एकहप्ता अघिदेखि पुस्तकहरु वितरण नगरी थन्क्याएर राखिएको थियो ।

 

‘अरु किताबहरु पहिल्यै आएर पनि बाडिएको थिएन् । प्रधानमन्त्री आएपछि मात्रै बाड्ने कुरा भएको थियो’ विद्यालयका सहायक प्रधानाध्यापक राजन गौतमले भने ‘३८ जना विद्यार्थीलाई हिजो कार्यक्रममै बाड्यौँ । बाँकीलाई आज (बुधबार) बाड्दैछौँ ।’ उनले भने । 

राजधानी त्यो पनि प्रधानमन्त्री उपस्थित कार्यक्रममा देखाउन मात्रै सबै गरेजस्तो गर्ने कुनै काम प्रभावकारी नगर्ने सरकारी प्रवृत्तिको निरन्तरता भइरहेको छ । विद्यालयका प्रअ देवराज गुरुङले विद्यालयमा सबै विषयका पाठ्यपुस्तक पुगिनसकेको स्वीकारे । उनले अनिवार्य विषयहरु विद्यार्थीले बाड्ने काम भइरहेपनि अतिरिक्त केही विषय पाउन नसकेको बताए । 

‘केही विषय विद्यार्थीले अझै पाएका छैनन् । अनिवार्य विषयहरु बाँडी सकेका छौँ । अबको एकहप्ताभित्रै बाँकी किताबहरु पनि विद्यालयमा आइपुग्ने जानकारी जनक शिक्षाबाट पाएका छौँ ।’ उनले भने ।  

देशकै प्रमुख कार्यकारी प्रधानमन्त्री बस्ने निवासमै जोडिएको विद्यालयमा नै सबै विषयका पाठ्यपुस्तक नपुग्नु जस्तो हास्यास्पद अरु के होला ? सरकारले देशैभरका विद्यालयमा बैशाख १४ भित्र सबै पाठ्यपुस्तक पुर्याईसक्ने दाबी गरेको थियो । त्यतिमात्रै नभईकन विद्यालयमा पाठ्यपुस्तक पुर्याउने केन्द्रीय तथा जिल्लागत निकायका प्रमुख तथा प्रतिनीधि करिब दुई घण्टासम्म विद्यालयमा बसेका थिए ।

शिक्षा मन्त्रालयका सहसचिव, शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्याल, काठमाडौँका जिल्ला शिक्षा अधिकारी शंकर गौतम कार्यक्रम अवधिभरी सामुदायिक विद्यालयकै कुरा फलाकेर बसेपनि काममा कति गैरजिम्मेवार रहेछन् भन्ने गतिलो उदाहरण हो यो ।

नजिकै रहेको टंगाल उच्च माविमा पनि पाठ्यपुस्तक पुगेको छैन् । टंगाल उच्च माविमा पनि अतिरिक्त विषयहरु नपुगेका हुन् ।   विद्यालयका प्रअ राजेन्द्र अधिकारीसंगै एडुखबर संवाददाताले कक्षाकोठामै गएर बुझ्दा विद्यार्थीले सबै विषय नपाएको गुनासो गरे । 

एक हप्ताअघि देखि कक्षाकोठामा पठनपाठन शुरु भएपनि किताब नहुँदा पढ्न समस्या भइरहेको छात्रा मिरा तामाङ्ले भनिन् ।  ‘अहिलेसम्म हामीले ५ विषय मात्रै पाएका छौँ । अतिरिक्त विषय अर्थशास्त्र, गणित, लेखा लगायतका विषय पाउन सकेका छैनौँ ।’ उनले भनिन् ।

जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले विद्यालयमा पाठ्यपुस्तक पठाईसकेको र पुग्ने क्रममा रहेको दाबी गरे ।  ‘हामीले यताबाट सबै पाठ्यपुस्तक छापेर पठाइसकेका छौँ’ उनले भने ‘विक्रेताले पुर्याउने काम गरिरहेका छन् । सायद अबको एक दुई दिनमा पुग्छ होला ।’

पाठ्यपुस्तक छाप्नै ढिला गरेको बारे उनले बोल्न चाहेनन् । ‘हामीले सबै पाठ्यपुस्तक छापीसकेका छौँ । र पठाईसकेका पनि छौँ । यसबाहेक बढी कुरा नगरौँ ।’ उनले भने ।  आजसम्म भर्ना अभियान र निःशुल्क पाठ्यपुस्तक वितरणपछि भोलीदेखि घरदैलो अभियान शुरु हुदँैछ । तर विद्यालयमा पठनपाठन गराउने पाठ्यपुस्तक पुर्याउन नसक्ने सरकारको रवैया सरकारी बजेट धुत्न र काम गरेको नौटंकी गर्न मात्र अभ्यस्त छ । 

राजधानी उपत्यकामै पाठ्यपुस्तक पुर्याउन नसकेको सरकारले देशभरीका अन्य विद्यालयमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पाठ्यपुस्तक नपुग्ने यसअघि धेरै उदाहरण छन् । 

बिक्रेता र जनक शिक्षाको  लापरबाही  

महेन्द्र राष्ट्रिय माविका प्रअ राजन गौतम जनक शिक्षाले बाँकी रहेका किताब फिर्ता लिन नमान्ने र फिर्ता नहुने भएपछि विक्रेताले नै ठिक्क पुस्तक खरिद गर्नाले समस्या भएको बताउँछन् । 

‘जनक शिक्षाले खरिद गरेका किताबहरु फिर्ता लिदैन् तर नीजि प्रकाशकहरु फिर्ता लिन्छन् । नीजि विद्यालय पुस्तकको मुल्य पनि धेरै हुन्छ र विक्रेताले पनि धेरै कमिशन पाउँछन् । तर सरकारीमा जम्मा ७ प्रतिशत कमिशन विक्रेताले पाउँछन् । त्यसैले पनि जनक र विक्रेताबीचकै गडबड्डीले किताब नपुगेको हो ।’ उनले भने । 

विद्यालयमा कहिले चाहिने भन्दा बढी पुग्छन् भने कहिल्यै चाहिएकै पुस्तकहरु उपलब्ध हुदैनन् । विद्यालयले दिएको संख्या भन्दा अतिरिक्त पुस्तक नल्याउनाले पनि विद्यार्थी संख्या बढेमा पुस्तक अभाव लामो समयसम्म रहने गर्छ । जनकको यही एउटै कारणले पनि विक्रेताहरु आवश्यकता भन्दा बढी पुस्तक खरिद गर्नै नचाहने गरेको उनको बुझाई छ ।

टंगाल उच्च माविका प्रअ राजेन्द्र अधिकारी पनि विक्रेता र जनककै कमजोरीले कहिल्यै समयमा पूस्तक विद्यालयमा पुग्न नसकेको बताउँछन् । सरकारी कर्मचारीको ढिलासूस्ती र अनुगमनको अभावले पनि पाठ्यपुस्तकको अभाव नटरेको उनको भनाई छ ।

‘यो सिधासिधा जनकको लापरबाही हो । विक्रेताले पुर्याउन ढिला गरे भनेर दोष लाउँछ । तर आफै समयमा पुस्तक छाप्दैन् । कर्मचारीको ढिलासूस्ती र अनुगमन नभएर पनि यो समस्या आएको हो ।’ उनले भने ।

जनक शिक्षाका प्रमुख झा भने यो स्वीकार्न तयार छैनन् । उनले विक्तेताले एकिन संख्या ल्याएर पुस्तक खरिद गर्नुपर्ने जिकिर गर्छन् । पुस्तक विक्रेताको लापरबाही आफुले नलिने उनको अडड्ी छ । 

‘किताब पुर्याउने जिम्मा हाम्रो भएपनि बिक्रेतालाई हामीले भनेका हुन्छौँ । उनीहरु त्यो काम गर्दैनन् भने हामी के गर्न सक्छौँ र !’ उनले भने । सरकारी अनुगमन नभएकै कारण पनि यस्तो समस्या देशभरी छ । 

मन्त्री, प्रधानमन्त्री लगायत उच्च पदस्थ नेताहरु देश घुम्दै पुस्तक वितरण गर्ने अभियानमा सामेल भएपनि विद्यालयमा सबै विषयका पुस्तक नपुग्नाले विद्यार्थी सधै किताब नभएर पठनपाठनबाट बञ्चित हुदै आएका छन् । 

प्रकाशित मिति २०७३ बैशाख १५ गते । 

 

 

 

 

प्रतिक्रिया